December 19th, 2018

व्याजदर नबढाएका बैंकहरुलाई निक्षेप जोगाउनै मुश्किल

बैंकिङ खबर । व्याजदर नबढाएका बैंकहरुलाई भएको निक्षेप जोगाउन मुश्किल पर्न थालेको छ। 'व्याज बढाउँ भने राष्ट्र बैंकले पटक पटक नबढाउन दवाव दिइरहेको छ, नबढाउँ भने निक्षेप नै गुम्ने खतरा देखिएको छ', एक बैंकका प्रमुख कार्यकारी अधिकृतले नाम नलेख्न भन्दै गुनासो गरे। 

पछिल्ला दिनमा मुद्दती खाता परिपक्व भएका व्यक्तिले पैसा सारेको उनले बताए। 'केही व्यक्तिको मुद्दती खाता मंसिर मसान्तमै परिपक्व भयो, उनीहरुले साढे १० प्रतिशत व्याजमा पनि पैसा राख्न चाहेनन्' ति प्रमुख कार्यकारीले भने।  

कुमारी र सेन्चुरी कमर्सियल बैंकले व्यक्तिगत मुद्दतीमा १३ प्रतिशत व्याज दिएपछि हिमालयन र नविल बैंकले पनि निक्षेप सुरक्षित गर्नका लागि हालै १३ प्रतिशत नै दिने घोषणा गरे। 

ठूला बैंकहरुले नै १३ प्रतिशत दिन थालेपछि व्याजदर नबढाएका बैंकहरुमा परिपक्व बनेको व्यक्तिगत मुद्दतीको रकम सर्ने गरेको बैंकरको गुनासो छ। 

त्यति मात्रै नभई बचत खातामा धेरै पैसा भएकाले समेत त्यतैतिर लगेर मुद्दतीमा राख्ने गरेको बैंकर बताउँछन्। पछिल्ला वर्षहरुमा बैंकहरुमा तरलताको समस्या देखिँदै आएको छ। जसले गर्दा कुनै बैंकले व्याज बढाउँदा त्यस्ता समाचार महत्वपूर्ण बन्ने गरेका छन्। व्याजदरको विषयमा मिडियाबाजी धेरै हुँदा पनि यसको असर बढेको ति बैंकरको आरोप छ। 

'एकातिर ऋण लिन आउनेलाई प्रयाप्त पैसा नहुँदा दिन नसक्ने बाध्यता छ भने अर्कोतिर निक्षेप बढ्न नसकेपछि व्यवसाय विस्तार गर्नै चुनौति थपिएको छ' उनले भने।  

पुँजी ८ अर्ब पुर्याइसकेपछि व्यवसाय विस्तार गर्न समेत कतिपय बैंकहरुलाई सेयरधनीको दवाव पर्ने गरेको बैंकरको गुनासो छ। यस्तै अवस्था रहेमा १३ प्रतिशतको अफर ल्याउन धेरै बैंकहरु तयारी अवस्थामा छन्। निक्षेप जोगाउन पनि यो अफर जरुरी देखिएको उनीहरु बताउँछन्। 

अर्थमन्त्री डा. युवराज खतिवडाले गठन गरेको मुद्रा तथा पुँजी बजार समस्या समाधान समितिले प्रतिवेदन बुझाइसकेपछि सो प्रतिवेदनका आधारमा व्याजदरको निर्णय गर्ने तयारी यी बैंकहरुको छ। 

कर्जामा जाने व्याजदरमा हस्तक्षेप गर्नेगरी प्रतिवेदन आउने चर्चा चुलिएकाले पनि अहिले व्याजदर बढाउन नसकिएको उनीहरु बताउँछन्। 'प्रतिवेदन बुझाइसकेपछि सरकारले लिने नीतिका आधारमा हामी व्याजदरको निर्णय गर्छौँ' उनले भने। 

यसअघि मंगलबार मात्रै राष्ट्र बैंकले केही बैंकरलाई बोलाई प्रतिवेदन नआउँदासम्म व्याजदर परिवर्तनका लागि पर्खिन आग्रह गरेको थियो।

यो पनि पढ्नुहोस् 
१३ प्रतिशत व्याजदरको होडबाजीपछि राष्ट्र बैंकले भन्यो ‘पर्ख’