December 18th, 2018

अर्थमन्त्रीद्धारा गठित समितिप्रति किन विश्वस्त छैनन् बैंकर्स ?

बैंकिङ खबर । बैंकर्स संघले ब्याजदको विषयमा गरेको भद्र सहमति खारेज गरेपछि हालसम्म १३ वटा बैंकहरुले ब्याजदर बृद्धि गरिसकेका छन् । बैंकर्स संघको निर्णय लगतै जनता बैंकबाट सुरु भएको ब्याजदर प्रतिस्पर्धामा  १३ वटा बैंकहरु उत्रिसकेका छन् । जनता बैंकले १२ प्रतिशतको योजना ल्याएपछि माछापुच्छ्रे बैंकले १२.५ प्रतिशतको योजना ल्याएको थियो भने त्यसलाई उछिन्दै कुमारी बैंकले १३ प्रतिशतको ब्याज प्रकाशन गरेको थियो । यसरी जनता बैंकबाट सुरु भएको ब्याजदरको पतिस्पर्धामा ठुला र मजबुत भनिएका बैंकहरु पनि लागेका छन् । सोमबार मात्रै हिमालयन बैंकले ब्यक्तिगत मुद्धति निक्षेमा १३ प्रतिशत ब्याज दिने सुचना प्रकाशन गरको थियो भने त्यसको भोलिपल्टै नेपालकै ठुलो र मजबुत मध्येको एक नबिल बैंकले ब्यक्तिगत मुद्धति निक्षेपमा १३ प्रतिशत ब्याज दिने सुचना निकाल्यो ।

यसरी सबल र मजबुत भनेका बैंकहरु नै व्याजको प्रतिस्पर्धामा उत्रिन थालेपछि केहि बैंकले लगानीमा संयमता नअपनाउँदा ती बैंकहरुमा लगानीयोग्य पुँजी अभाव सिर्जना भएको भन्नेहरुको मुखमा बुझो लाग्ने अवस्था सिर्जना भएको छ भने अर्कोतर्फ अर्थमन्त्रालयले मुद्रा बजार र पुँजी बजारको समस्या समाधानको लागि गठन गरेको समितिले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिइसकेर त्यसलाई बुझाउने तयारी गरीरहेका समयमा यसरी ठुला बैंकहरुले नै ब्याजदरमा बृद्धि गर्दा उक्त समितिले समस्याको समाधान गर्नेमा बैंकहरु विश्वस्त हुन नसकेको हो कि भन्ने आशंका पैदा गरेको छ ।

केहि ठुला बैंकहरु भने आफ्नो बैंकमा रहेको निक्षेप अन्य बैंकमा जाने डरको कारणले गर्दा व्यक्तिगत निक्षेपको ब्याजदर बढाउन बाध्य भएको बताउँछन् । अहिले बैंकहरुको व्याजदर साढे १३ प्रतिशतसम्म पुगेको छ । व्याजदर योभन्दा बढ्ने सम्भावना भने नरहेको सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम बताउँछन् । ‘ब्याजदरको अधिकतम सीमामा मुद्धति निक्षेपको ब्याजदर पुगिसकको छ,’ उनले भने, ‘अब यो भन्दा माथि जान सकिने सम्भावना छैन ।’ 

अघिल्ला बर्षहरुमा ब्याजदरको खरो प्रतिस्पर्धामा उत्रीने एनआईसि एशिया बैंक अहिले ब्याकअप रहेको भन्दै व्याजदर बढाउन अघि सरेको छैन । यद्यपि, विगतका बर्षहरुमा अन्य बैंकहरुले ब्याजदरमा प्रतिस्पर्धा गर्दा पनि त्यसको बेवास्ता गर्ने पुराना र अबल भनिएका नबिल बैंक र हिमालयन बैंक यसरी ब्याजदरमा प्रतिस्पर्धा गर्दा लगानीयोग्य पुँजीको चरम संकट नै आएको होकि भन्ने तर्फ सबैको ध्यान जान जरुरी छ ।