बैंकिङ खबर । अन्तरराष्ट्रिय मुद्रा कोष आइएमएफले अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकलाई कर्जा विस्तारको लागि बैंकहरुलाई प्रोत्साहन नगर्न आग्रह गरेको छ । अर्थमन्त्रालयले मुद्रा बजार तथा पुँजी बजारको समस्या समाधान गर्न गठन गरेको समितिले छलफल गरी रहेको विषयतर्फ संकेत गर्दै सिसिडिमा लचकता अपनाउनुन राम्रो नभएको बताएको छ । अर्थ मन्त्रालयलले गठन गरेको समितिलाई बैंकर्स संघले सिसिडि रेसियोको सिमा बढाउन सुझाब दिएको छ भने अन्य विभिन्न विज्ञहरुले पनि बैंकसँग भएको तरलतालाई सुरक्षित क्षेत्र हेरेर लगानी गर्दा राम्रो हुने बताईरहेका छन् । यसै विचमा आइएमएफले भने सिसिडि रेसियोलाई नचलाउन भनेको छ ।
नेपालमा बैंहरुले यति ठुलो मात्रमा कर्जा विस्तार गर्दा पनि खराब कर्जा नबढेका प्रति आईएमएफले आश्चार्य प्रकट गरेको छ । तर पुर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्री भने यसलाई नेपालको बैंकहरुमा आईएमएफको देखेको संकटको पुर्व संकेतको रुपमा लिन्छन् । उनी सिसिडी रेसियो बढाउन नहुने बताउँछन् । बैंकहरुले लगानी गरेर बाँकी राखेका २० प्रतिशत पुँजी बैंकहरुसँग नै रहँदैन । उक्त २० प्रतिशत रकमबाट अन्य विभिन्न सरकारी ऋणपत्रहरु पनि खरीद गर्ने हुनाले बैंकहरुसँग २० प्रतिशत रकम नै तरतको रुपमा नरहने क्षेत्री बताउँछन् ।
नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा छोटो समयमा नै निक्षेपमा घटबढ हुने भएकाले सिसिडी रेसियोलाई ८० प्रतिशतबाट माथि लैजाँदा निक्षेपकर्ताले माग्दा बैंकहरुले पैसा दिन नसक्ने अवस्थामा पुग्ने हुन्छ । यसरी बैंकरुसँग तरलताको अभाव भएमा राष्ट्र बैंकलाई गुहार्ने र राष्ट्र बैंकसँग पनि तरलता नभएमा आइएमएफ नै गुहानुपर्ने अवस्था नेपालमा सिर्जना हुन लागेकोले आइएमएफले समयमा नै सचेत गराएको पुर्ब गर्भनर क्षेत्री बताउँछन् । नेपालको बैंकहरु सुरक्षित क्षेत्रतर्फ आगाडी नबढेकोले आइएमएफ पनि नेपाललाई सहयोग गर्नको लागि तयार नहुने अवस्था आउन सक्ने उनको भनाई छ ।
आईएमएफले त बैंकहरुको खराब कर्जा नबढ्दा खुसि हुनुपर्ने ठाउँमा आश्चार्य प्रकट गर्नुको कारण के हुन सक्छ भन्ने बैंकिङ खबरको अर्को प्रश्नमा क्षेत्रीले यसमा सत्यता र कारण दुबै रहेको बताए । नेपालका बैंकहरुले पछिल्लो बर्षहरुमा लगातार रुपमा २० प्रतिशतभन्दा बढीले कर्जा विस्तार गरिरहेका छन् । यस्तो अवस्थामा खराब कर्जा नबढ्ने भन्ने कुरा नै हुँदैन । यति ठुलो अंकले कर्जामा बृद्धि गर्दा खराब कर्जा नबढ्नुको पछाडी बैंकहरुको ठुलो रहस्य रहेकोप्रति आईएमएफले आशंका गरेको हुनसक्ने क्षेत्रीको विश्वास छ । तर बैंकहरुले खराब कर्जा कम देखाउनको लागि बैकल्पिक बाटो अथवा चोर बाटो प्रयोग गरिरहेका पुर्वगर्भनर क्षेत्री बताउँछन् । उनका अनुसार बैंकहरुले खराब कर्जा कम देखाउनको लागि कर्जा तथा ब्याज तिर्न नसकेका ऋणीहरुसँग कर्जा तथा ब्याज जोडेर पुनःकर्जा नविकरण गर्ने गरेका छन् । यस्तो अवस्थामा ऋणीहरुले बढ्दो ब्याजमा हामी कर्जा अब नविकरण गर्न सक्दैनौँ भन्न थाले भने नेपालका बैंकहरु खराब कर्जा बढेर रेड जोनमा पुग्ने सक्ने खतरा रहेको क्षेत्रीको भनाई छ ।
त्यसैले आईएमएफले सरकारलाई उच्च आर्थिक बद्धिको लोभमा कर्जा विस्तारमा उत्साहित नगर्न सुझाव दिएको छ । यद्यपि आईएमएफले चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर यसअघि प्रक्षेपण गरेकोभन्दा बढाएर ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।