दिउसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलद्धारा संसदमा पेश गरिने बजेटमा सामाजिक सुरक्षा भत्ता दोब्बर पार्ने, किसानलाई पेन्सन दिने, प्रमाणपत्र धितो राखेर कर्जा दिने जस्ता पपुलिष्ट कार्यक्रम समेटेर बजेट तयार भएको दाबी अर्थमन्त्रालयलको छ । आगामी वर्षको बजेट १० खर्ब ५० अर्बको हाराहारीमा हुनेछ । बजेटमा राजस्व ५ खर्ब ७० अर्ब, वैदेशिक ऋण तथा अनुदान २ खर्ब ९२ अर्ब, आन्तरिक ऋण ९० अर्ब र बजेट बचत करिव एक खर्ब रुपैयाँ हुने आधारमा बजेटको आकार १० खर्ब ५० अर्ब नजिक हुनेछ। अघिल्लो वर्ष ४ खर्ब ७५ अर्ब राजस्वको अनुमान गरिएको थियो। यसको २० प्रतिशत वृद्धिदरको आधारमा राजस्वको आकार ५ खर्ब ७० अर्ब हुनेछ । चालु आर्थिक वर्षमा ८८ अर्ब आन्तरिक ऋणको लक्ष्य राखिएको थियो ।
वृद्ध भत्ता एक हजारबाट दोब्बर बनाएर दुई हजार बनाइएको छ । आफ्नो गाउँ आफै बनाउँ कार्यक्रमलाई उद्ममशीलतासँग जोडेर ल्याउने तयारी भएको छ । शैक्षिक प्रमाणपत्रका आधारमा युवारयुवतीलाई कर्जा प्रदान गर्ने, किसानलाई पेन्सन दिने लगायतका आकर्षक कार्यक्रम बजेटमा राखिएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार निजामती कर्मचारीको तलब १३ देखि २३ प्रतिशतसम्म बढ्नेछ । त्यस्तै, सबै नेपालीलाई बैंक खाता खोल्न सरकारले सघाउने र स्वास्थ्य बीमामा विषेश कार्यक्रम घोषणा हुनेछ ।
आन्तरिक स्रोतबाट निर्माण गरिने फाष्ट ट्रयाकको लागि पाँच अर्बको हाराहारीमा बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा रेलका लागि समेत उल्लेख्य रकम विनियोजन गरिएको छ । राजस्वको दरमा परिवर्तन नगरिएपनि बजेटले आयकरको सीमा बढाएको छ । त्यस्तै, गाडीको भन्सार दर यथावत राखिएको छ । केही कच्चा पर्दाथको भन्सार दरमा परिवर्तन गरिएको छ । प्लास्टिकजन्य कच्चा पर्दाथमा भन्सारदर घटाइएको छ ।