किन पुर्याउन सकेनन् बीमा कम्पनीले चुक्ता पुँजी
गत आर्थिक बर्षदेखि अनिवार्य रुपमा एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण परीक्षण गराउनुपर्ने ब्यवस्था गरेपछि बीमा कम्पनीहरुले साधारणसभा बोलाउन सकेका छैनन् । साधारणसभा बोलाउन नसकेका कारण क्यापिटल प्लान अनुसार पुँजी बृद्धि गर्न नसकेका हुन् । अधिकांश बीमा कम्पनी बोनस सेयरबाट पुँजी पुर्याउँदै छन् भने केहि कम्पनीको पुँजी बोनस सेयर मार्फत पुर्याउन नसक्ने अवस्थामा छन् । बीमा कम्पनीहरुले साधारणसभा गर्न नपाएका कारण बोनस तथा हकप्रद सेयर प्रस्ताव गर्न सकेका छैनन् । त्यस्तै विदेशी बीमा कम्पनीको शाखाहरुले भने पुँजी बढाउन नसक्ने भन्दै हालसम्म पनि क्यापिटल प्लान पेश गरेका छैनन् ।
पाँच वटा बीमा कम्पनीले पुर्याए पुँजी
असोज मसान्तसम्म पाँच वटा बीमा कम्पनीले मात्र पुँजी पुर्याउन सफल भएका छन् । जिवन बीमातर्फ नेपाल लाइफ इन्योरेन्सले मात्र पुँजी पुर्याउन सफल भएको छ । त्यस्तै जनरल इन्स्योरेन्सतर्फ भने चार वटा कम्पनीले पुँजी पुर्याउन सफल भएका छन् । जनरलतर्फ पुँजी पुर्याउन सफल बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र नेको इन्स्योरेन्स रहेका छन् । त्यस्तै नयाँ संचालनमा आएका १२ वटा बीमा कम्पनीको हकमा भने पुँजी बृद्धि योजना लागु हुने छैन । सम्पुर्ण बीमा कम्पनीले संस्थागत पुँजी जम्मा गरीसकेका छन् । अब साधारण सेयर जारी गरेपछि सबैको पुँजी समितिले निर्धारण गरेबमोजिम पुग्ने छ ।
जिवन बीमा कम्पनीमा कुनको चुक्ता पुजी कति
जिवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै चुक्ता पुँजी नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । नेपाल लाइफको चुक्ता पुँजी चार अर्ब ३९ करोड ६९ लाख रहेको छ । त्यस्तै नेशनल लाइफको एक अर्ब ६५ करोड ६० लाख, सुर्या लाइफको एक अर्ब १३ करोड १९ लाख, प्राइम लाइफको एक अर्ब ७८ करोड ४८ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको एक अर्ब ३३ करोड ४६ लाख, एशियन लाइफ एक अर्ब २५ करोड ६७ लाख गुराँश लाइफको ५९ करोड ४० लाख र राष्ट्रिय बीमा संस्थानको १८ करोड १० लाख रहेको छ । नौ वटा पुराना जिवन बीमा कम्पनीहरुमध्ये सात वटाले पुँजी बृद्धि योजना बीमा समितिलाई प्रस्तुत गरेका छन् । दुई वटा कम्पनीमा मेट लाइफ नेपालले पुँजी बृद्धि गर्न नसक्ने भन्दै बीमा समितिमा पत्राचार गरिसकेको छ भने सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थान सरकारको मुख ताकेर बसिरहेको छ ।
निर्जिवन बीमा कम्पनीहरुको पुँजी
निर्जिवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै चुक्ता पुँजी नेको इन्स्योरेन्सको रहेको छ । नेको इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब १७ करोड ६२ लाख रहेको छ । अन्य बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्सको एक अर्ब पाँच करोड ७३ लाख, हिमालयन जनरल इन्स्योरेन्सको एक अर्ब दुई करोड ७२ लाख, प्रभु इन्स्योरेन्सको एक अर्ब ५२ लाख, नेपाल इन्स्योरेन्सको ६१ करोड ७६ लाख, यूनाइटेड इन्स्योरेन्सको ३० करोड २४ लाख, प्रिमियर इन्स्योरेन्सको ५८ करोड ४० लाख, एभरेष्ट इन्स्योरेन्सको २० करोड ८५ लाख, सगरमाथा इन्स्योरेन्सको ५३ करोड ८२ लाख, आइएमइ जनरल इन्स्योरेन्सको ५४ करोड, पु्रडेन्सियल इन्स्योरेन्सको ६४ करोड १५ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सको ८८ करोड, एनएजी इन्स्योरेन्सको ६४ करोड चार लाख, सिद्धार्थ इन्स्योरेन्सको ८६ करोड २१ लाख र राष्ट्रिय बीमा कम्पनीको २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
पुँजी बृद्धि नगर्ने कम्पनीलाई कारवाहि गरिने
थपिएको समयमा पनि पुँजी पुर्याउन आलटाल गरेर पुँजी बृद्धि गर्न अटेर गर्ने बिदेशी बीमा कम्पनीहरुलाई बीमा समितिले लाभांश लैजान नदिन तयारी गरीरहेका बीमा समितिका एक कर्मचारीले बैकिङ खबरलाई जानकारी दिए । त्यस्तै स्वदेशी नै बीमा कम्पनीहरुलाई पनि पुँजी बृद्धि नगरी अन्य नयाँ योजनामा काम गर्न नदिने बीमा समितिले जनाएको छ ।