December 12th, 2018

एटिएमले कसरी काम गर्छ ? 

बैंकिङ खबर । एटिएमको पुरा रुप 'अटोमेटेड टेलर मेसिन' हो । चाहेका बेला खररर्र पैसा झिक्नका लागि विभिन्न ठाउँमा यस्ता मेसिन जडान गरिएका छन् ।

 नेपाल राष्ट्र बैंकका अनुसार भदौसम्म देशभर २ हजार ७९१ एटिएम छन् । सबै वाणिज्य बैंकका २ हजार ५५२, विकास बैंकका २०९ र फाइनान्स कम्पनीका ३० एटिएम संचालनमा छन् । तथ्यांकअनुसार ५५ लाख ६५ हजार डेविट तथा क्रेडिट कार्ड जारी भएको छ । 

भिसा, मास्टर, एससिटी तथा  युनियन पे कार्ड नेपालमा बढी प्रचलनमा छन् । एउटा कार्डबाट एक पटकमा अधिकतम २५ हजार रुपैयाँसम्म र दिनमा १ लाख रुपैयाँसम्म मात्रै झिक्न पाइने व्यवस्था छ । तर धेरैजसो बैंकले एक पटकमा १५ हजारसम्म रकम झिक्न पाउनेगरी सीमा कायम गरेका छन् । 

बैंकहरुले कार्डको सुरक्षा तथा कलरका सम्वन्धमा कार्ड कम्पनीसँग सम्झौता गरी कार्ड छपाई गर्छन् ।  केवाइसी विवरण, खाता नम्वर लगायतका विवरण बैंकले नै कार्डमा भर्ने हो । कार्डमा विवरण भरेपछि स्वीचसँग आवद्ध गराई ४ नम्वरको पिन कोड दिन्छन् । कतिपय बैंकले आफ्नै त केहीले अरुको स्वीच प्रयोग गरेका हुन्छन् ।

एटिएमले कसरी काम गर्छ त ?

एटिएमले कसरी काम गर्छ भन्ने जिज्ञासा धेरैमा हुन सक्छ ।  एटिएममा कार्ड घुसाएर ४ अंकको पिन नम्वर थिचेपछि कार्ड रिडर डिभाइसले सम्बद्ध बैंकको सम्बद्ध खातासँग कार्डलाई कनेक्सन गरिदिन्छ । अर्थात खाता र कार्डबीच स्वीच कनेक्सन हुन्छ । 

जब कार्ड स्वीप गराइन्छ त्यसपछि खाताको सम्पूर्ण जानकारी क्याप्चर हुन्छ । खाताको विवरण क्याप्चर भइसकेपछि मेसिनले आवश्यक कुरा सोध्छ, जस्तो फास्ट क्यास, क्यास विथड्र, ब्यालेन्स इन्क्वायरी, पासवर्ड चेन्ज आदि । खाता क्याप्चर भइसकेकाले अब ब्यालेन्स इन्क्वायरी थिच्दा खाताको रकम देखाइदिन्छ।

मौज्दातभन्दा बढी रकम झिक्न खोजे अस्वीकार हुन्छ । निश्चित रकम झिकेपछि खाताबाट पनि रकम कटौती हुन्छ।

स्पिकर, डिस्प्ले स्कृन, रिसिप्ट प्रिन्टर र क्यास डिस्पन्सर एटिएमका आउटपुट डिभाइस हुन्। प्रोसेसिङका क्रममा स्पिकरले आवाज प्रदान गर्छ । डिस्प्लेले स्कृनमा आवश्यक सूचनाहरु हेरेर भनेअनुरुप बटन थिच्न सघाउ पुग्छ ।   

रिसिप्ट प्रिन्टरले सानो पेपर प्रिन्ट गरेर दिन्छ जुन पेपरमा झिकिएको रकम वा मौज्दात सम्वन्धमा जानकारी हुन्छ ।  त्यस्तै क्यास डिस्पन्सरले मागेजति क्यास छोड्ने काम गर्छ । 

एटिएममा कसरी राखिन्छ पैसा ?


बैंकहरुले नै आफ्ना एटिएममा पैसा राख्ने हो । बैंकहरुले बेला बेलामा मेसिनमा पैसा थपिरहेका हुन्छन् । एटिएम रित्तिएको अवस्थामा पैसा झर्दैन वा एटिएमले काम नगरेको संकेत देखिन्छ । 

कुन एटिएमको लागि कति पैसा चाहिन्छ भन्ने हिसाव गरेर अनुमति पाएका दक्ष व्यक्ति नै पैसा लिएर एटिएम पुग्छन् । एटिएमको बाकसमा साँचो लगाइएको हुन्छ । साँचो खोलिसकेपछि मेसिन भित्रबाट पैसा राख्ने बाकस निकालिन्छ ।

त्यसपश्चात एउटा स्प्रिङमा पैसालाई मिलाएर राखिन्छ। स्प्रिङमा राख्नु अघि प्रत्येक नोट सिधा छ कि छैन जाँच पनि गरिन्छ । त्यसपश्चात बाकसको साँचो लगाइन्छ ।  बाकसलाई मेसिनमा राख्दा उल्टो घुमाएर राखिन्छ । सबै साँचो बन्द गरिसकेपछि स्क्रिनबाटै पैसाको सेटिङ मिलाइन्छ । सबै सेटिङ मिलाईसकेपछि एटिएमबाट पैसा निकाल्न सकिन्छ।

एटिएमको इतिहास
 

लण्डनदेखि सन् १९६७ बाट एटिएमको प्रयोग हुन थालेको हो । एटिएमको प्रयोग हुन थालेको करिब ५१ वर्ष भयो । ब्रिटिस जोन सेफर्ड बारोनलाई एटिएम आविश्कारको श्रेय जाने गर्छ ।

पिन नं.को प्रचलन १९७० बाट सुरु भएको हो । १९९२ देखि रिसिप्ट प्रिन्टर, अडियो जस्ता आउटपुट डिभाइस जोडेर एटिएमलाई आधुनिक बनाइएको हो। 

नेपालमा सबैभन्दा पहिले  हिमालय बैंकले एटिएम भित्र्याएको हो । आफैले निर्माण गरेको सफ्टवेयरमा हिमालय बैंकले २०५६ सालदेखि एटिएम सेवा उपलब्ध गराएको हो ।