December 11th, 2018

सरकारको ‘फिलोसोफी’ : लगानीयोग्य पुँजी अभावको मूख्य कारण

डा. गोपाल भट्ट । बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव भएका कारण बैंकहरुले व्याजदर बृद्धि गरेका छन् । बैंकहरुमा पुँजीको अभाव भइरहँदा सर्वसाधारणबाट कर्जाको माग बृद्धि भइरहेको थियो भने अर्कोतर्फ बैंकहरुले   कार्टेलिङ गरिरहेका थिए । जब बैंकहरुले अब ब्याजदरमा कार्टेलिङ नगरी माग अनुसार चल्ने भन्नासाथ व्याजदर बढेको हो । सर्वसाधरणहरुलाई त धेरै व्याज नै चाहिएको हुन्छ । व्याजदर बृद्धिबाट बचतकर्ताहरुलाई राहत मिल्छ भने कर्जा महङ्गो हुन्छ । कर्जा महङ्गो भएपछि लगानी गर्ने व्यापारीहरुको लागि दुरुत्साहन हुन जान्छ । 

मानीसहरुले सस्तो पुँजीबजारको खोजी पनि गर्ने गर्दछन् । तर, नेपालको  पुँजी बजार समस्याग्रस्त रहेको अवस्थामा लगानीकर्ताहरुको लागि सस्तो पुँजी बजार छैन । कष्ट अफ फण्ड एक क्षेत्रमा महङगो भयो भने अर्को क्षेत्रमा सस्तो छ की भनेर जाने गरिन्छ । तर, हाम्रो जस्तो देशमा त्यो अवस्था पनि छैन । नेपालमा  बैंकिङ लगानीले मात्र एकोहोरो होल्ड गरेको छ । त्यसको विकल्पमा पुँजी बजार छैन । व्याजदर बढेपछि  महङगी बढाउने, अर्थतन्त्रमा ह्याम्पर हुने जस्ता समस्या सिर्जना हुने गर्दछ । यसले गर्दा सरकारको ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य हासिल गर्न झनै कठिन हुन्छ ।

अहिले बैंकिङमा देखिएको समस्या अल्पाकलिन हो कि दिर्घकालिन हो भनेर हेर्नुपर्ने हुन्छ । नीतिगत कमजोरीका कारण नेपालमा फण्डको अभावको समस्या देखिएको हो । नियामक निकायले त्यो विषयमा ध्यान दिनुपर्ने हो । तर, नियमक निकाय मौन छ । नियामक निकायले सतही कुराबाट मात्र हेर्ने गरेको छ, चाहे राष्ट्र बैंक होस् वा अर्थमन्त्रालय ।

बजार आफ्नो नियम अनुसार चल्छ । बजारलाई आर्टिफिसियल क्याप लगाइएको थियो । तर, बजारलाई फण्डको खाँचो पर्ने भएकाले क्याप रहन सकेन । यो अवस्था लामो समयसम्म रहने हो भने अर्थतन्त्रमा ठुलो असर पर्छ । 

पुँजी अभावको दिर्घकालीन समाधान  
नेपालमा प्रयाप्त पुँजी नभएका कारण विभिन्न विकासका योजनाहरुलाई थन्काएर राख्नु परेको छ । यसको समाधानको लागि अन्तरराष्ट्रिय पुँजी भित्राउने वाताबरण नेपालमा हुनुपर्छ । विदेशी पुँजी नेपालमा भित्राउनको लागि पनि चुनौती छ । कमजोर राजीतिक अवस्था, कमजोर न्याय प्रणाली, भ्रष्टाचार लगायतका कारण विदेशी पुँजी निरुत्साहित भएका छन् ।  निजी क्षेत्रले नाफा मात्र कमाउछ भन्ने अर्थमन्त्रालय र राष्ट्र बैंकको साँघुरो दृष्टिकोण र नेपाल सरकारको कमजोर सुशासनले गर्दा विदेशी लगानी भित्रिने वातावरण नेपालमा छैन । सरकारको ध्यान सरी व्यवस्थित गर्ने, जनताहरुलाई कसरी लगानीयोग्य पुँजी जुटाउने भन्नेतर्फ नभई कर असुली गर्ने तर्फ मात्र रहेको छ । 

जबसम्म सरकारको मानसिकता परीवर्तन हुँदैन, निजी क्षेत्रप्रतिको दृष्टिकोण परीवर्तन हुँदैन, तबसम्म समस्या समाधान हुँदैन । लगानी गर्ने नै मुनाफा आर्जनका लागि हो । मुनाफा कमायो भन्दैमा कमाएजति सबै सरकारलाई बुझाउनुपर्छ भन्ने सकारको मनोविज्ञानले विदेशी लागानी आकर्षित गर्न सक्दैन । विदेशी लगानी नआएसम्म पुँजी अभावको समाधान हुँदैन । नेपाल पाइला पाइलामा भ्रष्टाचारले ग्रस्त छ । लगानी ल्याउँदादेखि मुनाफा लैजाँदासम्म अबरोध नै मात्र छ । त्यसैले विदेशी लगानी नेपाल ल्याउने सम्भावना छैन ।

नेपाली बैंकहरुले विदेशी पुँजी ल्याउन सकेका छैनन् । विदेशी दाताहरुले नेपालको बैंकको रेटिङको आधारमा पुँजी दिने हो । नेपालको फिलोसोफी कमजोर भएको कारण नै विदेशी पुँजीलाई नेपालमा भित्राउन गाह्रो भएको हो । नेपालमा कुनै पनि बैंकहरुको रेटिङ भएको छैन । विदेशीहरुले नेपालमा पुँजी दिनका लागि देशको अवस्था लगायत सबै कुराहरुलाई आधार मानेर दिन्छन् । त्यसकारण नेपाली बैंकहरुले विदेशी पुँजी ल्याउन सम्भव छैन । (सेयर बजार विज्ञ भट्टसँग बैंकिङ खबरले गरेको कुराकानीमा आधारित)