बैंकिङ खबर । अनलाइन सेयर कारोबार सुरु भएको एक महिना बित्यो । केही लगानीकर्ताले अनलाइन सेयर कारोबार थाले पनि धेरै लगानीकर्तामा अझै अनविज्ञता छ ।
नेप्सेले आइतबारदेखि लगानीकर्तालाई युजरनेम र पासवर्ड प्रदान गर्न थालेको छ। अनलाइनबाट सेयर कारोबार गर्नका लागि लगानीकर्ताले सबैभन्दा पहिले आफ्नो ब्रोकर कम्पनीमा गई ‘केवाइसी अपडेट’ गराउनुपर्नेछ । त्यस्तै एक सम्झौता पत्रमा हस्ताक्षर गर्नुपर्नेछ। आफूले कारोबार गर्दा हुन सक्ने त्रुटी र त्यसको परिणामको जिम्मा आफै लिन तयार छु भन्ने आशयको सम्झौता पत्र छ।
त्यसपछि ब्रोकर कम्पनीले केवाइसी रुजु गरी टिएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम)मा समाविष्ट गर्नेछन् । लगानीकर्ताले ब्रोकर कम्पनीबाट ‘ट्रेडिङ यूआरएल एड्रेस’ प्राप्त गर्छन्।
अब उक्त यूआरएल खोलेर ‘फरगेट पासवर्ड’मा क्लिक गर्नुहोस् र उक्त विन्डोमा आफ्नो युजरनेम र इमेल भर्नुहोस् । त्यसपछि इमेलमा पासवर्ड परिवर्तन गर्ने लिंक उपलव्ध हुनेछ । इमेलमा प्राप्त लिंकमा गई पासवर्ड परिवर्तन गर्नुहोस् ।
अब ट्रेडिङ यूआरएलमा गई आफ्नो यूजरनेम र नयाँ पासवर्ड प्रयोग गरी टिएमएस ‘समिट’ गरी सिस्टम लगिन गर्नुहोस् । लगीनका क्रममा ओटिपी (वन टाइम पासवर्ड) लगानीकर्ताले इमेलमा प्राप्त गर्न सक्नेछन् । सो ‘ओटिपी’ स्कृनमा राखी लगिन गर्नुपर्नेछ ।
अब अर्डर पोष्ट गर्ने पेज खुल्नेछ । अर्डर पोष्ट गर्नका लागि बायाँ साइडमा रहेको अर्डर म्यानेजमेन्टमा गई नर्मल अर्डरमा क्लिक गर्नुहोस् । त्यसपछि अर्डर इन्ट्रीको स्कृन खुल्नेछ । सेयर खरिद गर्नेले ‘बाइ’ बेच्नेले ‘सेल’ छान्नुहोस् ।
सेयरको प्रकारमा ‘इक्वीटी’ छान्नुहोस् । अब कम्पनी छनौट गर्नुहोस् । उक्त कम्पनीको प्रविष्टित आदेशहरु पनि हेर्न सकिन्छ । त्यही आदेश पेजमा सेयर संख्या र चाहेको मूल्य राख्नुहोस् र ‘प्लेस अर्डर’ क्लिक गर्नुहोस् । सो क्लिकपछि यदी ‘एमई नट लग’ भन्ने सन्देश आएमा ब्रोकरलाई नै सम्पर्क गर्नुहोस् र आफ्नो डिएनए लगिन गर्न भन्नुहोस् ।
अन्यथा अर्डर प्लेस भएको सन्देश स्कृनमा आउनेछ । अर्डर दिइसकेपछि आफैले त्यही स्कृनमा हेर्न सकिनेछ । अर्डर म्याच भएमा कारोबार सम्पन्न हुनेछ भन्ने अन्यथा त्यो दिनको अन्त्यमा स्वतः रद्द हुनेछ ।
बीचमा अर्डर परिवर्तन वा रद्द गर्नुपरेमाा अर्डर म्यानेजमेन्टमा गई अर्डर बुकमा जानुहोस् र ओपन अर्डरमा क्लिक गर्नुहोस् । आफ्नो अर्डरको ‘मोडिफाइ’ संकेतमा क्लिक गरी किनबेच गर्न चाहेको संख्या वा मूल्य परिवर्तन गरी प्लेस अर्डरमा क्लिक गर्नुहोस् वा रद्द गर्न चाहेको खण्डमा क्यान्सिल संकेतमा क्लिक गरी रद्द गर्नुहोस् ।