चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा उपभोक्ता मुद्रास्फीति ९.७ प्रतिशतमा झरेको छ । क्रमिक रुपमा सुधारोन्मुख रहेको उपभोक्ता मुद्रास्फीति २०७२ पुस महिनाको उच्च विन्दु १२.१ प्रतिशतबाट २०७२ चैतमा ९.७ प्रतिशतमा झरेको हो । दक्षिणी सीमाका भन्सार नाकाहरुको अवरोध सहज हुँदै गएबाट इन्धन लगायत उपभोग्य वस्तुहरुको आपूर्ति सामान्यीकरण हुँदै गएकोले २०७२ पुसदेखि उपभोक्ता मुद्रास्फीति ओरालो लाग्न थालेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।
राष्ट्र बैँकका अनुसार, वार्षिक विन्दुगत आधारमा २०७२ चैतमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्क वृद्धिदर ९.३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क वृद्धिदर १० प्रतिशत रहेको छ । समीक्षा अवधिमा दलहन तथा गेडागुडीको मूल्य २६.८ प्रतिशत र मसलाको मूल्य १५.९ प्रतिशतले बढेको छ । त्यसैगरी, घ्यू तथा तेल र लत्ता कपडा तथा जुत्ताको मूल्यमा क्रमशः १५.५ प्रतिशत र १५.३ प्रतिशतले वृद्धि भएको छ ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा काठमाडौं उपत्यकामा उपभोक्ता मुद्रास्फीति ११.७ प्रतिशत, पहाडमा १० प्रतिशत, तराईमा ८.३ प्रतिशत र हिमालमा ८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मूल्य वृद्धिदर काठमाडौं उपत्यकामा ६.५ प्रतिशत, पहाडमा ७.४ प्रतिशत र तराईमा ६.८ प्रतिशत रहेको थियो ।
नेपाल र भारत बीचको उपभोक्ता मुद्रास्फीति अन्तर
२०७२ को चैत महिनामा भारतको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४ प्रतिशत रहेको थियो । जसको तुलनामा नेपालको मुद्रास्फीति निरन्तर उच्च रहँदै ९.७ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा यी दुई मुलुक बीचको उपभोक्ता मुद्रास्फीति अन्तर ४.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ६.९ प्रतिशत र ४.९ प्रतिशत रहेकोले दुई मुलुक बीचको उपभोक्ता मुद्रास्फीति अन्तर २ प्रतिशत रहेको थियो ।
२०७२ वैशाखमा गएको विनाशकारी भूकम्पको अन्तराल प्रभाव, तराईको आन्दोलन र दक्षिणका व्यापार नाकाहरुमा भएको अवरोधका कारण नेपाल र भारत बीच मुद्रास्फीति दरको अन्तरमा केही वृद्धि हुन गएको देखिएतापनि क्रमिक रुपमा सुधारोन्मुख अवस्थामा रहेको छ । थोक मुद्रास्फीति २०७२ को चैत महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति दर ५.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.३ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुहरुको मूल्य सूचकाङ्क ९.२ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरुको मूल्य सूचकाङ्क ६.२ प्रतिशतले वृद्धि भएको छ भने आयातीत वस्तुहरुको मूल्य सूचकाङ्क २.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरुको मूल्य सूचकाङ्क ९ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरुको मूल्य सूचकाङ्क ४.७ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुहरुको मूल्य सूचकाङ्क १.६ प्रतिशतले घटेको थियो ।