December 3rd, 2018

‘सामाजिक सुरक्षा कोष’ : बैंकिङ क्षेत्रका लागि चुनौतिपूर्ण

विजय पराजुली/बैंकिङ खबर । नेपालमा पछिल्लो समय लगानीयोग्य पुँजीको अभाव दिनानुदिन बढ्दै गईरहेको छ । अघिल्ला दुई आर्थिक बर्षमा मंसिर पछाडी मात्र देखीएको लगानीयोग्य पुँजीको समस्या चालु आर्थिक बर्षमा भदौको अन्तिम साताबाट नै सतहमा आएको छ । यस समस्या तत्काल नै समाधान हुने संकेत देखिँदैन । विभिन्न औपचारिक कार्यक्रममा नै सरकारले कुनै नयाँ विकल्प नसोचेमा यो समस्या चार पाँच बर्षसम्म पनि समाधान हुने संकेत नरहेको बैंकर्स संघका पदाधिकारी बताउँछन् । 

नेपालमा पछिल्लो २।३ बर्षमा अर्थतन्त्रको आकार विस्तार भएको छ । अर्थतन्त्रको आकार विस्तारसँगै पुर्वाधार निमार्णको लागि कर्जाको पनि माग बढेको छ । तर, कर्जाको मागको तुलनामा निक्षेप बढ्न्न सकेको छैन । जसकारण तरलता अभाव सृजना भएको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गाना बताउँछन् । 

सीसीडी रेसियोमा लचकता माग
कतिपय बैंकर्सहरु नेपाल राष्ट्र बैंकले सीसीडी रेसियोमा केहि लचकता अपनाए ऋण लगानीमा केहि सहज हुने धारणा राख्छन् । बैंकर्सको उक्त भनाईतर्फ संकेत गर्र्दै गत साता नेपाल वित्तीय संस्था कर्मचारी संघले आयोजना गरेको एक कार्यक्रममा लगानी गर्ने बेलामा जथाभावी लगानी गर्ने, नेपाल राष्ट्र बैंकले आर्थिक बर्षको सुरुमानै लगानीको खाका पेश गर्न लगाउँदा आलटाल गर्ने तथा पेश गर्नेले पनि लगानीको खाका अनुसार लगानी नगर्ने अनि सरकार र राष्ट्र बैंकले पुँजी अभाव समस्याको समाधान गर्न सकेन भन्ने भन्दै बैंकर्सलाई झपारेका गभर्नरले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा भने सीसीडी रेसियोमा केही सहजता बनाईदिए । 

सीसीडी रेसियोमा सहुलियत दीर्घकालीन समाधान हैन : नरबहादुर थापा
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नर बहादुर थापा भने सीसीडी रेसियोमा सहुलियत नै लगानीयोग्य पुँजीको दीर्घकालिन समाधान नरहेको बताउँछन् । नेपालमा पुर्वाधार तथा उत्पादन क्षेत्रमा लगानीको माग अत्याधिक रहेकोले ८० प्रतिशत लगानी भईसकेको र शतप्रतिशत नै लागानी गर्न नमिल्ने भएकाले २।४ प्रतिशतको सहुलियतले १।२ महिनाको लागि मात्र समाधान हुने उनको तर्क छ । 

स्याडो बैंकिङको प्रभाव
नेपालको वित्तीय क्षेत्रमा अस्थिरता आउनुमा स्याडो बैंकिङको पनि महत्वपर्ण भुमिका रहेको थापा बताउँछन् । नेपालमा स्याडो बैकिङको रुपमा सहकारी संस्थाहरु, नागारीक लगानी कोष, कर्मचारी संचय कोष, बीमा कम्पनीहरु लगायत रहेका छन् । अब झनै ठुलो कोषको रुपमा सामाजिक सुरक्षा कोष आएको छ । उक्त स्याडो बैकिङमा जम्मा भएको पुँजी उपयूक्त क्षेत्रमा लगानी हुन नसकेमा बैकिङ क्षेत्रमा झनै समस्या आउने थापा बताउँछन् । 

विदेशी ऋण परिचालन उत्तम विकल्प
पुँजी अभावको दीर्घकालिन समाधान भनेको विदेशी सहयोग तथा ऋण नै रहेको थापाको तर्क छ । विदेशी दाताले दिने सहयोग बैंकबाट परिचालन गर्न सके लगानीयोग्य पुँजीको समस्यामा राहत मिल्ने उनी बताउँछन् । विदेशबाट ऋण लाउने विषयलाई बैंकहरुले ध्यानमा राख्नुपर्ने उनको भनाइ छ । 

विदेशी ऋण ल्याउन सहज छैन : ज्ञानेन्द्र ढुंगाना
नेपाल राष्ट्र बैंकले उक्त समस्या समाधानको लागी भन्दै चालु आर्थिक बर्षको मौद्रिक नितिमा वाणिज्य बैकले आफ्नो पुँजीको ५० प्रतिशत सम्म विदेशबाट ऋण ल्याउन पाउने ब्यवस्था गरिदिएको छ भने कार्यान्वयनको लागि निर्देशिका पनि जारी गरिसकेको छ । तर नेपाली बैंकलाई  विदेशबाट ऋण ल्याउन सोचे जति सहज नहुने नेपाल बैकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गाना बताउँछन् । नेपालमा पोलिसीको निर्माण भएपनि बाहिरी स्रोत साधन जुटाउन सहज नभएको उनको भनाई छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रेडिट रेटिङ नहुनु नै विदेशी स्रोत जुटाउन सबैभन्दा ठुलो चुनौति रहेका उनको तर्क छ । 

नेपालमा विदेशी विजनेश ग्रुप तथा बैंकहरु प्रोमोटर रहेका केहि बैंकहरुलाई प्रोमोटरहरुको पहलमा ऋण ल्याउन सकिने सम्भावना रहेको छ । नेलरल्याण्डको एफएमओको पनि प्रमाटोर सेयर रहेको एनएमबी बैंकले एक अर्ब ५० करोड ऋण ल्याएर यो कुरा प्रमाणित पनि गर्यो । तर, स्वदेशीको मात्र लगानी भएको बैंकलाई विदेशबाट ऋण ल्याउन तत्कालको लागि असम्भव प्रायः नै देखिन्छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा पनि उक्त कुरामा सहमति जनाउँछन् । अहिले तत्कालको लागि विदेशी ऋण ल्याउन सक्ने बैंकले प्रयास गर्नुपर्ने उल्लेख गर्दै उनी चाँडै नै सरकार र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि क्रेडिट रेटिङको पहल गर्नुपर्ने धारणा राख्छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]