October 14th, 2018

दशैंको दक्षिणा : बालबालिकालाई बैंक खाता खोल्न प्रेरित गर्नुहोस्

बैंकिङ खबर । नेपालीहरुको महान् चार्ड दशैँ नजिकिँदै गर्दा अविभावकहरु खर्च बढ्ने पीरमा छन् भने बालबालिकाहरु दक्षिणा पाइने खुसीमा रमाईरहेका छन् । वित्तीय साक्षरताको अभावमा मानिसहरु धेरै खर्च गर्ने र बचतमा ध्यान नदिने प्रवृत्ति अपनाइरहेका छन् । बचतको महत्व नबुझ्दा मानिसहरुले आफ्नो जीवनस्तर उकास्न सकिरहेका छैनन् ।

वित्तीय साक्षरता भन्नु पैसाले कसरी, कति र के काम गर्छ भनी बुझ्न सक्ने हुनु हो । वित्तीय साक्षरताको अभावमा व्यक्तिले परिवार व्यवस्थापन तथा व्यवसाय सञ्चालन गर्ने क्रममा कमजोर निर्णय गर्न सक्छ, जसले परिवारको वित्तीय सबलतामा प्रभाव पार्न सक्छ । परिवारको वित्तीय सबलतामा नकारात्मक प्रभाव पर्नु भनेको कुनै–कुनै तरिकाले राष्ट्रलाई नै असर पर्दै जानु हो ।

बचत गर्ने बानीको विकास बाल्यकालदेखि नै गराउन सक्यो भने यो समस्यामा कमीआउन सक्ने विज्ञहरु बताउँछन् । स्कुल लेभलका पाठ्यक्रममा नै समावेश गरेर बालिबालिकालाई आम्दानी, बचत, लगानी लगायतका विषयमा जानकारी दिनुपर्ने आवश्यकता महशूस गरिएको छ । त्यसअघि, बालबालिकाका अभिभावकले नै आफ्ना सन्तानलाई बचत गर्ने बानी बसाल्न सक्यो भने भविष्यमा धेरै सहज हुन सक्छ । 

चाडपर्वको समयमा विशेषगरी दशैँतिहारको बेलामा बालबालिकाले दक्षिणाले रुपमा आम्दानी गर्दछन् । बालबालिकालाई दिएको भनेर त्यो पैसाको हिसाब कसैले गर्दैन र उसले त्यो पैसा खाने, साथीभाईहरुसँग घुम्ने लगायतका फजुल खर्चमा सकाउँछ । तर, त्यही पैसा अभिभावकले बैंकमा खाता खोलेर बचत गरिदिने गर्यो भने भोली सोही बालबालिकाको पढाई अथवा अन्य ठूलो कामका लागि प्रयोग गर्न सकिन्छ ।

बैंकमा बचत गरेर राखेको पैसा सुरक्षित हुनुका साथै व्याज पनि पाइन्छ । बैंकहरुले बालबालिकालाई नै लक्षित गरेर विभिन्न किसिमका बचत खाताहरु संचालनमा ल्याएका हुन्छन् । कतिपय बैंकमा निःशूल्क रुपमा नै खाता खोल्न पाइने सुविधा छ । बैंकहरुले दिएको यस्तो सुविधा प्रयोग गर्न सके बालबालिको भविष्य सुरक्षित हुन सक्छ । 

बचत गर्ने बानी बसाल्नु भनेको सफलताको खुड्किलो हो । सानैदेखि आफूसँग भएको रकमबाट थोरै भएपनि बचाउन जानेको बालकले ठूलो भएर कुनै पनि व्यवसायको उचित व्यवस्थापन गर्न सक्छ । बचत भनेर आफूसँग भएको सबै रकम बैंकमा लगेर राख्ने र अहिले खर्च नगर्ने भन्ने  होइन । आवश्यकता भएका कुराहरुमा खर्च गरेर पनि आफूसँग छ भने अलि बढी नै खर्च गर्न मन लाग्छ । छँदै छ किन्दिम न त भनेर आवश्यक नभएका कुराहरुमा खर्च गर्ने बानीलाई मात्रै नियन्त्रण गर्न सिक्नुपर्ने  हो । 

त्यसैले, बालबालिकाले दशैँमा घर, मामाघर तथा आफन्तबाट दक्षिणा पाएको पैसाको केही अंश उसलाई खर्च गर्न दिएर बाँकी रकम बचत गर्न सिकाउनुपर्छ । उसलाई बैंकमा लगेर खाता खोलिदिने र उसँग भएको पैसा समयसमयमा उक्त खातामा बचत गरिदिनुपर्छ । यसरी बैंकमा पैसा राख्दाको फाइदा उक्त बालकलाई बुझाउुपर्छ । फजेल खर्च कटाएर केही रकम बचाउन सिकाउनुपर्छ । यसरी बच्चा बेलादेखि नै बचत गर्न सिकेको व्यक्ति जीवनमा सफल र सुखी रहन सक्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]