May 25th, 2016

सेवा क्षेत्रतिर सर्दै विदेशी लगानीकर्ताको आकर्षण : यस्ता छन् ५ कारणहरु

investmentरुपा कोइराला – पछिल्लो तीन वर्षयता लगानी, रोजगारी र उद्योग संख्याका आधारमा सेवा क्षेत्रमा नेपालमा भित्रने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) उत्पादनमूलक क्षेत्रभन्दा बढ्दो क्रममा छ । नेपालमा उर्जापछि सबैभन्दा बढी विदेशी लगानी भित्रिने क्षेत्रमा सेवा क्षेत्र परेको छ । सरकारले कृषि तथा वन्यजन्तु, निर्माण, ऊर्जा, उत्पादनमूलक, खनिज, सेवा र पर्यटन गरी सात विधामा वैदेशिक लगानीको तथ्यांक राख्ने गरेको छ । जसअनुसार, टे«निङ इन्स्टिच्युट, भाषा केन्द्र, सफ्टवेयर एन्ड हार्डवेयर, कन्सल्टेन्सी, पर्यटन तथा इन्भेस्टमेन्ट कम्पनीहरूमा वैदेशिक लगानी बढेको देखिएको छ । सेवा क्षेत्रमा विदेशी लगानी बढ्नुका कारणहरु :

तुलनात्मक रुपमा कम समस्या
उत्पादनमूलक क्षेत्रमाभन्दा कम समस्या हुने भएकाले सेवा क्षेत्रमा वैदेशिक लगानी बढेको हो । लगानीकर्ताहरुले आफ्नो लगानीको सुरक्षा हरहालमा चाहन्छन् । त्यसैले उनीहरु कम समस्या भएको क्षेत्रमा नै लगानी गर्न उत्साहित देखिन्छन् । 
 
थोरै लगानीमा व्यवसाय गर्न सकिने
उत्पादनमूलक उद्योगमा लगानी बढी र प्रतिफल ढिलो हुन्छ । तर, सेवा क्षेत्रमा कम लगानीमा नै प्रभावकारी योजना सुरु गर्न सकिन्छ । सेवा क्षेत्र र यस अन्तर्गको पर्यटन क्षेत्रमा कम पैसा लगानीबाट नै उल्लेख्य काम गर्न सकिन्छ भन्ने सन्देश प्रवाह भइरहेको छ । यसले पनि सेवा क्षेत्रमा लगानीकर्ताको आकर्षण बढाइरहेको देखिएको छ । 

राजनीतिक प्रभाव कम पर्ने
मुलुकमा राजनीतिक अन्यौलता बढ्दै जाँदा लगानीकर्ता निरुत्साहित हुँदै जाने हुन्छ । यसमा पनि राजनीतिक प्रभाव हावी हुने क्षेत्रमा लगानी गर्न ठूला लगानीकर्ताहरु रुचाउँदैनन् । त्यसैले राजनीतिक प्रभाव कम अर्थात् शून्यजस्तै हुने क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण स्वतः बढ्दै गएको हो । 

थोरै जनशक्तिमै काम गर्न सकिने
थोरै जनशक्तिमै काम गर्न सकिने हुँदा सेवा क्षेत्रमा लागत कम लाग्ने हुन्छ । जसकारण लगानीकर्ताहरुको आकर्षण सेवा क्षेत्रमा गइरहेको पाइएको छ । 

छिटो लाभ प्राप्त हुने
सेवा क्षेत्रको लगानीको प्रभाव छिटो र प्रभावकारी हुन्छ । कुनै पनि लगानीकर्ताले राम्रो प्रतिफलकै लागि गरेको हुन्छ । सोही अनुसारको लगानीको क्षेत्रको खोजीमा एउटा लगानीकर्ता रहन्छ । 

विदेशी लगानी नीतिले के भन्छ ?
यता नेपालको वैदेशिक लगानीसम्बन्धि पछिल्लो नीतिले जलविद्युत, यातायात पूर्वाधार, कृषिजन्य खाद्य पदार्थ तथा जडीबुटी प्रशोधन, पर्यटन र खानीजन्य तथा उत्पादनमूलक उद्योगलाई विदेशी लगानीको प्राथमिक क्षेत्रको रुपमा वर्गीकरण गरेको छ । ठूलो लगानी आवश्यक पर्ने र रोजगारी प्रवर्द्धन, आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धन गर्ने उत्पादनमूलक क्षेत्रमा विदेशी लगानी भित्र्याउने सरकारको लक्ष्य छ । नीतिले विदेशी लगानी गर्न नपाइने क्षेत्र पनि तोकेको छ । नीति अनुसार लघुउद्यम र परम्परागत घरेलु उद्योग, हातहतियार, खरखजाना, गोलीगट्ठा, बारुद तथा विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योगमा विदेशी लगानी निषेध गरिएको छ । त्यस्तै, मुद्रा तथा सिक्का व्यवसाय, सुरक्षण मुद्रण, घर–जग्गा किनबेच व्यवसाय, स्थिर पुँजी ५० करोडभन्दा कम लगानीको बहुब्रान्ड खुद्रा व्यापारमा विदेशीलाई लगानी गर्न दिइने छैन । त्यस्तै, पर्यटन गाइड, ट्रेकिङ तथा माउन्टेरियरिङ गाइड, भरिया, भान्छे उपलब्ध गराउने पर्यटन उद्योग लगायतमा पनि विदेशी लगानी वर्जित गरिएको छ । कुखुरा, माछा, मौरीपालन र कृषिका प्राथमिक उत्पादन क्षेत्र, बिकीरणजन्य पदार्थका उद्योग, आमसञ्चारका प्रसारण माध्यममा पनि विदेशी लगानी निषेध गरिएको छ ।

उद्योग विभागका अनुसार ०७२ वैशाखदेखि चैत मसान्तसम्ममा सेवा क्षेत्रमा १ सय ३३, पर्यटनमा १ सय ३, उत्पादनमूलकमा ५७, कृषि तथा वन्यजन्तुमा २८ र निर्माणमा एउटा मात्रै परियोजना दर्ता भएका छन् । यो अवधिमा ३ सय २५ परियोजनाका लागि १५ अर्ब ७५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ । मझौला तथा ठूला उद्योगमा आउने यो लगानीबाट करिब ९ हजार १ सय ५९ जनाले रोजगारी पाउने छन् लगानी आधारमा सबैभन्दा धेरै सेवा क्षेत्रमा ५ अर्ब २० करोड, उत्पादनमूलकमा ४ अर्ब ४५ करोड, उर्जामा ४ अर्ब ६ करोड रुपैयाँ र पर्यटनमा १ अर्ब ६० करोड रुपैयाँको प्रतिवद्धता आएको छ ।