भरतराज ढकाल एक यस्ता व्यक्तित्व हुन्, जसले ग्रामीण बैंकिङको अवधारणा सुरु मात्रै गरेनन्, त्यसलाई व्यवहारमा पनि उतारेरै छाडे । ग्रामीण तथा दुर्गम भेगमा बैंकिङको आवश्यकतालाई ध्यानमा राखेर मुक्तिनाथ विकास बैंकको स्थापना गरेका ढकालले आफ्नो करिअरभरि नै ग्रामीण बैंकिङलाई प्रवद्र्धन र प्रोत्साहन गरिरहे । अहिले उनी मुक्तिनाथ विकास बैंकबाट अवकाश लिएर बसेका छन् । तर पनि उनले ग्रामीण बैंकिङलाई प्रवद्र्धन गर्न छोडेका छैनन् । ग्रामीण बैंकिङलाई नाफामुखी बनाउनका लागि नेपालमा कृषि क्षेत्रलाई आधुनिकरण र व्यवसायीकरण गर्नुपर्ने उनको धारणा छ । यसैबीच, ग्रामीण बैंकिङकै विषयमा केन्द्रीत रहेर उनै ढकालसँग बैंकिङ खबर डट कमका लागि सहकर्मी विजय पराजुलीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :
माईक्रो लेभलमा बैंकिङ पहुँचको अवस्था कस्तो छ ?
आजभन्दा २।४ वर्षअघि ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्नका लागि भौतिक पुर्वधार, सुरक्षा र नेटवर्कहरु थिएनन् । अहिले पनि ती कठिनाईहरु त झेल्नुपरेको छ । तर, पनि पहिलाको भन्दा केही सहज भएकाले वित्तीय पहुँच गाउँसम्म पुगेको छ । ग्रामीण भेगका मानिसहरुलाई बैंकिङ सुविधा आवश्यक ठानेर नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई गाउँसम्म पुग्नुपर्छ भन्ने निर्देशन दिएको कारण आज बैंक तथा वित्तीय संस्थाहरु गाउँ गाउँमा पुगेर ग्रामीण क्षेत्रका मानिसहरुलाइ सेवा तथा सुविधा दिँदै आएका छन् ।
तर, गाउँ गाउँमा बैंकहरुले शाखा खोल्दैमा अथवा गाउका २।४ जनाले खाता खोल्दैमा वित्तीय पहुँच पुगेको छ भन्न मिल्दैन । वित्तीय पहुँच विस्तार हुनका लागि गाउँका मानिसहरुमा बैंक सम्बन्धी राम्रो ज्ञान हुनपर्छ । जस्तै, यदि कुनै पनि मानिसले बैंकबाट कर्जाको माग गर्दा आफूले गर्ने काम, व्यवसायबाट हुने फाइदा लगायतका विषयमा बैंक समक्ष सहज रुपमा व्यक्त गरी उसले त्यस बैंकबाट सजिलै कर्जा प्राप्त गर्यो भने त्यहाँका मानिसहरुमा वित्तीय पहुँच रहेछ भन्ने कुरा थाहा हुन्छ ।
ग्रामीण भेगमा वित्तीय पहुँचको विस्तार कसरी गर्न सकिन्छ त ?
बैंकको शाखा विस्तार गर्नलाई धेरै लागत (कार्यलय स्थापना, कर्मचारी, सुरक्षा र अन्य विविध खर्च) लाग्छ । तर, त्यो अनुपातमा फाइदा हुँदैन । त्यसकारण त्यस्ता ग्रामीण भेगहरुमा शाखा विस्तार गर्न गाह्रो हुन्छ । तर, बैंकहरु गाउँमा पुर्याउन धेरै लागत लाग्छ भनेर बैंक तथा वित्तीय संस्थाहरु गाउँमा स्थापना नगर्ने भन्ने हैन । जुन बैंक तथा वित्तीय संस्थाहरुलाई गाउँमा जाँदा सहज हुन्छ त्यस्तो वित्तीय संस्थाहरुलाई गाउँमा लैजानुपर्छ । यसो गर्दा खर्च कम हुनुका साथै सहजता पनि हुन्छ ।
ग्रामीण भेगमा स्थापना गर्न सजिलो वित्तीय संस्था भनेको सहकारी हो । सहकारी संस्था दुर्गम भेगमा स्थापना गर्नु आवश्यक हुन्छ । गाउँ गाउँमा सहकारी संस्थाहरु स्थापना गरी सहकारीहरुलाई नै बैंकिङ मोडलमा लैजानुपर्छ । सहकारीहरुलाई स्थानीय सरकार र सबै मिलेर गाउँ गाउँसम्म सहज रुपमा पुर्याउन सक्ने भएको कारणले गर्दा गाउँ वित्तीय पहुँच सजिलै पुग्न सक्छ । बैंकहरु भन्दा पनि सहकारीहरु लाई विकास गर्नु जरुरी छ ।
ग्रामीण क्षेत्रका सहकारीहरुलाई वित्तीय व्यवस्थापन गर्न र अगाडी बढाउनको लागि सबै क्षेत्रट सहयोग उपलब्ध गराउनुपर्छ । बैंकहरु आफैँले ठुलो ठुलो कर्जा प्रवाह गर्नुभन्दा पनि त्यो पैसा कर्जाको रुपमा सहकारी र लघुवित्तलाई दिनुपर्छ । यस विषयमा सरकार र राष्ट्र बैंकले जोड दिनुपर्छ ।
मुक्तिनाथ विकास बैंकको सुरुवात गामीण क्षेत्रबाट सुरु गर्नु भएको थियो । यो कार्य अहिले कत्तिको प्रभावकारी भएको छ ?
यो विकास बैंक ग्रामीण क्षेत्रबाट नै स्थापना भएको हो । अरु वित्तीय संस्थाहरु भन्दा मुक्तिनाथ विकास बैंकले बढि ग्रामीण क्षेत्रलाई नै मध्यनजर गरेर शाखा विस्तार गर्दै आएको छ । यो विकास बैंकले ग्रामीण क्षेत्रलाई बढि फोकस गरेको छ । अन्य बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय पहुँच नपुगेको स्थानमा मुक्तिनाथ पुगेको छ । त्यसैले, सेयरको वृद्धि, निक्षेप तथा कर्जाको अवस्था लगायतलाई हेर्ने हो भने अन्य बैंक तथा वित्तीय संस्थाहरुको भन्दा मुक्तिनाथ विकास बैंकको राम्रो छ । ग्रामीण भेगका मानिसहरुले कुनै पनि साहू महाजनसँग ऋण लिनुपर्ने अवस्था छैन । असल नियतबाट काम गर्न खोज्नेहरुलाई मुक्तिनाथ विकास बैंकले कर्जा दिन्छ । यसकारण, यस बैंकलाई सबै सर्वसाधरणहरुले रुचाएका छन् । अहिले हाम्रो ग्राहक संख्या ६ लाख पुगेको छ । हाम्रो बैंकको नाफा पनि अरु विकास बैंकहरुको भन्दा राम्रो छ ।
नेपालको सन्दर्भमा ग्रामीण बैंकिङको मोडलका फाइदा केके छन् ?
ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको स्थापना गर्ने कार्य नै सुरुमा कठिन छ । तर, वास्तवमा बैंक तथा वित्तीय संस्थाहरु सहर केन्द्रीत भन्दा पनि गाउँ केन्द्रीत भए भने एकदम फाईदा छ । फाईदा भनेको त्यतिकै हुँदैन । यसको लागि मेहनतको पनि उत्तिकै आवश्यकता छ । दिनप्रतिदिन ग्रामीण भेगका युवाहरु विदेश पलायन भइरहँदा ग्रामीण भेगमा बैंकहरु काम गर्ने वातावरण सहज छैन । नेपालमा कृषि उत्पादन क्षमता बढि छ । विदेश गएका युवाहरु नेपालमा आएर कृषिसँग सम्बन्धित आयआर्जनका कामहरु गरी नेपालमै उद्यमशिलताको विकास गर्ने सक्यो भने ग्रामीण बैंकिङ धेरै राम्रो हुन्छ ।
ग्रामीण बैंकिङलाई नाफामुखी बनाउनका लागि नेपालमा कृषि क्षेत्रलाई आधुनिकरण र व्यवसायीकरण गर्नुपर्छ । यसका लागि छुट्टै संस्थाहरुको स्थापना गर्नुपर्छ । नेपालको कृषि क्षेत्र नाफामुखी छ भनेर सबै युवाहरुलाई चेतना फैलाउन सक्नुपर्छ । कुषिबाट उत्पादित वस्तु तथा सेवाहरुलाई बजारसम्म पुर्याउनका लागि एउटा प्रवद्र्धन संस्थाको स्थापना गर्नुपर्छ । ग्रामीण क्षेत्रमा यी सुविधाहरु भयो भने ग्रामीण बैंकिङको अवस्था राम्रो हुँदै जान्छ ।
मुक्तिनाथ विकास बैंक स्थापनाकालमा कस्ता कस्ता खालका चुनौतिहरुलाई सामना गर्नु परेको थियो ?
सुरुमा मुक्तिनाथ विकास बैंक स्थापना गर्दा भौतिक पुर्वाधारको अवस्था एकदम कमजोर थियो । कतिपय ठाउँहरुमा बस जाने अवस्था थिएन । त्यस्तो अवस्थामा हामी हिडेर जानेको गथ्र्यौँ । इनटरनेट, बिजुली बत्तिहरुको सुविधा थिएन । इन्भटरबाट हामीले बैंकिङ सेवा विस्तार गर्यौँ । सुरक्षका लागि भन्ने हो भने त्यस्तो प्रहरी कार्यलयहरु केही थिएन । हामीले त्याहाँका सर्वसाधरणहरुको एउटा विश्वासको आधारमा दुर्गम भेगमा शाखा विस्तार गर्ने कार्यमा सफल भएका थियौ र अहिले पनि हामी ग्रामीण क्षेत्रमा नै शाखा विस्तार कार्यलाई फोकस गर्दै आएका छौँ ।
पछिल्लो समयमा आएर अरु वित्तीय संस्थाहरुले पनि ग्रामीण भेगमा शाखा विस्तार गर्ने कार्यलाई अघि सार्दै आएका छन् । तर, मुक्तिनाथ विकास बैंकले आफ्नो स्थापनाकालदेखि नै ग्रामीण क्षेलाई ध्यानमा राखेर शाखा विस्तार गरी सर्वसाधरणहरुलाई सेवा तथा सुविधाहरु दिँदै आएको छ । सरकार र नेपाल राष्ट्र बैंकले सोचेको भन्दा मुक्तिनाथ विकास बैंकको कार्य राम्रो हो ।
राष्ट्र बैंकले बैंकहरुको लगानीलाई उत्पादनमुलक क्षेत्रमा अनिवार्य गरेको छ । तर पनि जिडीपीमा उत्पादनमुलक क्षेत्रमा योगदान बढ्न नसक्नुको कारण के हो ?
जबसम्म नेपालको अर्थतन्त्रले सही गति लिन सक्दैन, तबसम्म नेपालको बैंकिङ क्षेत्रका विजनेशहरुले पनि राम्रो नाफा आर्जन गर्ने सक्दैनन् । बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गरेको पैसाको सही रुपमा उपयोग हुन सकेको छैन । कर्जाको दुरुपयोग भएको छ । राष्ट्र बैंकले आफ्नो लगानीको २५ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ भनेर तोकिदिएको भए पनि त्यसको सदुपयोग राम्रोसँग भएको छैन । नेपालको व्यापार घाटा पनि दिनप्रतिदिन बढ्दै गएको छ । यसको मुख्य कारण भनेको कर्जा दुरुपयोग हो । राज्य, बैंक तथा सर्वसाधरणहरु सबैले इमान्दारीपुर्वक काम गर्दै आए भने यो समस्या समधान हुन सक्छ ।
कमर्सियल बैंक तथा फाईनान्स कम्पनिहरुको एउटा निश्चित उद्देश्य छ । तर, विकास बैंकहरुको छुट्टै उद्देश्य भएन भन्ने कुरा सुनिएको छ । के भन्नु हुन्छ यो विषयमा ?
निजी क्षेत्रमा काम गर्नका लागि दक्ष जनशक्तिको अभावका कारण पनि विकास बैंकहरुको उद्देश्य नभएको हो । विकास बैंक र कमर्सियल बैंकलाई नेपाल राष्ट्र बैंकले काम गर्न दिएको निर्देशनमा खासै फरक छ जस्तो मलाई लाग्दैन । विकास बैंक र कमर्सियल बैंकले गर्ने काम यो पछिल्लो समयमा आएर एउटै पनि भएको छ । आधुनिक बैंकहरुले विदेशी बैंकहरुसँग प्रतिष्प्रर्धा गर्नुपर्ने हुन्छ । यसको लागि हामी विकास बैंकहरुसँग दक्ष जनशक्तिको अभाव छ । त्यसैले, विकास बैंकहरु उद्देश्य निर्माणमा कमर्सियल बैंकहरु भन्दा पछाडि परेका हुन् ।
अरु विकास बैंकहरुको कुनै उद्देश्य नहोला तर, मेरो मान्यता (मुक्तिनाथ विकास बैंकको) के छ भने विकास बैंक र कमर्सियल बैंकले गर्ने काम फरक हुनुपर्छ । विकास बैंकहरुले ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्नुपर्छ । हामी विकास बैंकहरुले फरक तरिकाले मानिसहरुलाई सुविधा दिनुपर्छ । यसो गर्न सक्यो भने विकास बैंकमा दिगोपना आउँछ । बैंकलाई भोली अरु बैंकहरुसँग प्रतिषपर्धा गर्न पनि सजिलोे हुन्छ ।
अर्थतन्त्रको विकासमा विकास बैंकहरुको भुमिका सबल बनाउन के के गर्नुपर्छ ?
देशको अर्थतन्त्रमा सहयोग गर्नका लागि विकास बैंकहरुले ग्रामीण क्षेत्रमा शाखा विस्तार गरी आफ्नो लगानीको धेरै जसो लगानी कृषि क्षेत्रमा नै गर्नुपर्छ । विकास बैंकहरुले कृषि क्षेत्रको लगानीलाई जोड दिँदै आए भने देशको अर्थतन्त्र सबल हुँदै आउँछ । नेपालमा आर्थिक विकासका सम्भावनाका क्षेत्रहरु कृषि, पर्यटन र जलस्रोत हुन् । यी क्षेत्रहरु विकासका लागि अब्बल हुँदाहुँदै पनि सहि रुपमा प्रयोजन हुन नसकेको कारण आज नेपाली जनताहरु पछाडि परेका छन् । यी सम्भावनाका क्षेत्रलाई सही रुपमा प्रयोग गर्दै आयो भने मलाई लाग्छ नेपालमा धेरै विकासको सम्भावना छ ।
बैंकहरु कृषिजन्य क्षेत्रमा लगानी गर्नका लागि किन तयार हुँदैनन् ?
नेपाल कृषि प्रधान देश हो । तर, पनि नेपालीहरुले कृषि क्षेत्रलाई व्यवसायिक बनाउन सकेका छैनन् । कृषि क्षेत्र परम्परागत रुपबाट माथि उठ्न सकेको छैन । हिजोका दिनहरुमा कृषिले मानिसहरुको जिवन धानेको थियो । तर आज यस्तो परम्परागत कृषिले मानिसको जिवनस्तरलाई धान्न सक्दैन । कृषि क्षेत्रलाई व्यवसायिक रुपमा विकास गर्न तथा आधुनिकीकरण गर्न सकिएन भने कुनै पनि बैंक तथा वित्तीय संस्थाले कृषिजन्य क्षेत्रमा लगानी गर्न मान्दैनन् । किनभने बैंक तथा वित्तीय संस्थाहरुले केही नाफा हुने क्षेत्रमा लगानी गर्न खोज्छन् ।
बैंक तथा वित्तीय संस्थाहरुलाई नाफा नहुनु भनेको बैंकको लगानी डुब्नु हो । बैंक तथा वित्तीय संस्थाहरुको लगानी डुब्नु भनेको जनताहरुको निक्षेप डुब्नु हो । कृषि क्षेत्र परम्परागत रुपमा नै चल्ने हो भने यसबाट नाफा कमाउन सकिँदैन । कृषि क्षेत्रबाट कुनै पनि नाफा नभएको कारण बैंकहरुले उत्पादनमुलक क्षेत्र(कृषि)मा लगानी गर्न मान्दैनन् ।
यसका लागि निजी क्षेत्र, सरकार, राज्य, सहकारी र बैंकहरु मिलेर कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्छ । यसरी कृषिमा काम गर्ने हो भने मलाई लाग्छ अबको दश बर्षमा राज्यले जुन कल्पना गरेको छ त्यो उद्देश्य हात पार्न सकिन्छ । बैंकलाई कृषि क्षेत्र नाफामुलक हो भनेर देखाउनुपर्छ । त्यसपछि बैंक तथा वित्तीय संस्थाहरुले कृषिमा लगानी गर्दछन् ।
नेपालमा व्यवसायिक शिक्षा नभएको अवस्थामा शैक्षिक प्रमाणपत्र धितो कर्जा कत्तिको प्रभावकारी होला ?
नेपालमा व्यवसायिक शिक्षा नभएको अवस्थामा शैक्षिक प्रमाणपत्र धितो कर्जा प्रभावकारी हुँदैन । शैक्षिक प्रमाणपत्र धितो राखेर पनि कर्जा पाउने आशामा व्यवसायिक ज्ञानबिना नै कर्जा लिनु उचित पनि हुँदैन । कर्जा लिएर के काम गर्ने हो ? कति कर्जा लिँदा कस्तो व्यवसाय गर्न मिल्छ ? कुन व्यवसाय गर्दा राम्रो आम्दानी हुन्छ भन्ने विषयमा जानकार हुनुपर्छ ।