September 20th, 2018

२५ वर्षमा २६ प्रतिशतले घट्यो गरिबी, ‘लक्ष्य भेट्न कठिन’ : विश्व बैंक

बैंकिङ खबर । विश्व बैंकले गरीबी निवारणको गति एकदमै धिमा र स्थिर जस्तै रहेको भन्दै सन् २०३० सम्ममा विश्वबाट निरपेक्ष गरिबी हटाउन कठिन रहेको जनाएको छ । सन् २०१३ मा ११ प्रतिशत रहेको निरपेक्ष गरिबीको अनुपात सन् २०१५ मा बल्ल १० प्रतिशतमा झरेको छ । यो अवधिमा दैनिक १.९ अमेरिकी डलरभन्दा कम खर्चसहित बाँचिरहेका मानिसहरुको संख्या ६ करोड ८० लाखले घटेर ७३ करोड ६० लाखमा आइपुगेको जनाएको छ । विश्व बैंकले यसअघि सार्वजनिक गरेको सुरुवाती प्रक्षेपणमा २०१८ सम्ममा ८.६ प्रतिशत निरपेक्ष गरिबी रहने जनाएको थियो । 

गरिबी निवारणको अहिलेको गतिले निर्धारित लक्ष्य प्राप्त गर्न कठिन रहेको भन्दै विश्व बैंकले गरिब केन्द्रित लगानी बढाउनुपर्ने आवश्यकता औंल्याएको छ । विश्व बैंक समूहका अध्यक्ष जिम योङ किम २०३० भित्रमा गरिबी अन्त्य गर्नका लागि मानव पुँजी विकासमा अझै धेरै लगानी गर्नुपर्ने बताउँछन् । 

विश्वका आधा देशमा गरिबीको दर ३ प्रतिशत भन्दा कम रहेको छ । तर न्यून आय भएका मुलुकको अवस्था अझै भयावह रहेको विश्व बैंकले उल्लेख गरेको छ । द्वन्द्व र राजनीतिक अस्थिरता रहेका मुलुक यसबाट धेरै चपेटामा पर्न सक्ने उसले चेतावनी दिएको छ । विश्व बैंकले सब सहारान अफ्रिका रिजन (उपसहारा अफ्रिका क्षेत्र)मा २०३० सम्ममा पनि गरिबीको दर दोहोरो अंकमा नै हुने प्रक्षेपण गरेको छ । द्वन्द्वरत र न्यून विकासित देशमा यस्तो अवस्था कायमै रहने जोखिम रहेको विश्व बैंकले उल्लेख गरेको छ । 

सन् १९९० देखि २०१५ सम्मको २५ वर्षको अवधिलाई विश्लेषण गर्दा निरपेक्ष गरिबी वार्षिक औषत करिब १ प्रतिशतले घटेको छ । यो अवधिमा निरपेक्ष गरिबी ३६ प्रतिशतबाट १० मा झरेको छ ।