अरुण काबेली पावर लिमिटेडद्धारा जारी 'काबेली बि वान' को शेयर किन्न सर्वसाधारणको घुइँचो लागेको छ । लगानीकर्ताको आकर्षण यतिसम्म देखिएको छ कि शेयर खरिद फारम वितरण गर्ने बैँकमा फारमको नै अभाव सिर्जना भएको छ । गत जेठ ३ गतेदेखि पाँचथर जिल्लाको सप्तकोशी डेभलपमेन्ट बैँक र फरवार्ड माइक्रोफाइनान्समार्फत काबेली बि वानको शेयर खरिद फारम वितरण भइरहेको छ ।
थापाथली काठमाडौंमा रहेको अरुण काबेली पावर लिमिटेडले १५ लाख साधारण शेयर विक्रिका लागि आवेदन खुला गरेको थियो । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र पाँचथर जिल्लाका नागी, थर्पु र अमरपुर गा.वि.स तथा ताप्लेजुङ्ग जिल्लाका साब्लाखु, सिनाम, थुम्बेदिन र नाक्सिबोटे गा.वि.स को लागि ६ लाख कित्ता शेयर छुट्याएको छ । पाँचथर तथा ताप्लेजुङ्ग जिल्लाका बासिन्दाहरुका लागि भने ९ लाख कित्ता साधारण शेयर छुट्याइएकोे छ । पछिल्लो चरणमा भने सर्वसाधारणको लागि कुल २० प्रतिशत (३० लाख कित्ता) शेयर निष्कासन गर्ने आयोजनाको लक्ष्य छ । छिटोमा जेठ १७ गतेदेखि ढिलोमा असार ५ गतेसम्म खुल्ने यो आयोजनाको शेयरमा न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन खुला गरिएको छ ।
फारम नपाउँदा सर्वसाधारणमा आक्रोश
आवेदन फारम भर्नेको अत्याधिक चाप भएपछि जेठ ९ गते र १० गते शेयर किन्न आएका सर्वसाधारणले फारम नै नपाउँदा रित्तो हात फर्किए । यसरी आवेदन फारम नै भर्न नपाएपछि सर्वसाधारण आक्रोशित बनेका छन् । यता, फारम वितरणको जिम्मा पाएका बैँकहरुले भने सुरुमा कम आवेदन पर्ने अनुमानमा थोरै फारम ल्याइएकाले समस्या भएको बताएका छन् । बैँकका अनुसार, पटकपटक मगाउँदा समेत फारम पुर्याउन नसकिएको अवस्था छ । यस्तो अभाव देखिएपछि बैँकहरुले पुनः फारम मगाएका छन् । अभावका कारण फारम वितरण हाल बन्द रहेकोमा १२ गतेदेखि पुनः वितरण थालिने बताइएको छ ।
आह्वानभन्दा दोब्बर आवेदन पर्ने संकेत
सप्तकोशीले हालसम्म २ हजार ५ सय फारम वितरण गरिसकेको छ । सप्तकोशीले वितरण गरेको फारममध्ये सोमबारसम्म ८० वटा फारममात्र भरेर फिर्ता भएको छ । जसबाट १ लाख ३१ हजार २ सय ७० कित्ताको आवेदन परिसकेको छ । बाँकी २ हजार ४ सय २० वटा फारममा समेत सोहीअनुसारको रकम संकलन हुने हो भने फिदिमस्थित बैँकबाट मात्रै आह्वान गरिएकोभन्दा दोब्बर आवेदन पर्ने देखिन्छ । फरवार्डले फिदिमबाट मात्रै १ हजार १ सय फारम वितरण गरिसकेको छ । फरवार्डको राँके शाखाबाट पनि उल्लेख्य मात्रामा फारम वितरण भइरहेको छ ।
अरुण कोबली पावर लिमिटेडका बारेमा
काबेली नदीबाट २५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित स्थापना भइरहेको यस आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् बिक्री सम्झौता भइसकेको छ । सम्झौता अनुसार सुख्खायामको लागि ८ रूपैयाँ ४० पैसा र बर्षायामको लागि ४ रुपैयाँ ८० पैसा तोकिएको छ । विद्युत् उत्पादन भएपछिको ८ वर्षसम्म बार्षिक ३ प्रतिशतले विद्युत्को खरीद शुल्क वृद्धि हुँदै जाने गरि सम्झौता भएको हो ।
उत्पादित विद्युत् बिक्रीकालागि काबेली सबस्टेसनसँग आपूर्ती सम्झौता पनि भइसकेको छ । आयोजना निर्माणको २५ प्रतिशत काम सम्पन्न भइसकेको छ । २५ प्रतिशत काम सम्पन्न गर्दा आयोजनाको कुल प्रक्षेपित लागतको ५० प्रतिशत रकम खर्च भइसकेको इक्रा नेपालले उल्लेख गरेको छ । आयोजनाले शेयरवापत उठाएको रकम भविष्यमा हुन सक्ने अधिक खर्च वा अन्य आयोजना निर्माणको लागि प्रयोग गर्ने सम्भावना रहेको छ । आयोजनाको शेयरलाई ईक्रा नेपाल लिमिटेडले ग्रेड ४ प्लस रेटिङ दिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।