सरकारले कमोडिटी मार्केटसम्बन्धि ऐन छिटै ल्याउने भएको छ । सरकारले कमोडिटी मार्केटको व्यवस्थापन र नियमनका लागि तयार भएको ऐनको मस्यौंदालाई अन्तिम रुप दिएको र अर्थमन्त्रालयले केही दिनभित्रै मन्त्रीपरिषद्मा पठाउन लागेको बताइएको छ । ऐनको मस्यौंदाभित्र बस्तु विनिमय बजार, बस्तुको कारोबार व्यवसाय, राफसाफ र फर्छयौट व्यवसाय र वेयरहाउस व्यवसाय गरेर चारवटा विषयकोलाई सम्बोधन गरिएको छ ।
यो बजारको नियमनको काम तत्काल धितोपत्र बोर्डले गर्नेछ भने दीर्घकालिन रुपमा छुट्टै संयन्त्र नै गठन गर्नुपर्ने ऐनको मस्यौंदामा उल्लेख छ । धितोपत्र बोर्डले झन्डै चार वर्षअघि कमोडिटी बजारको अवस्था अध्ययन गर्न गठन गरेको कार्यदलले नियमनको अभावमा कमोडिटीको कारोबार जोखिमपूर्ण रहेको प्रतिवेदन दिएको थियो ।
कमोडिटी मार्केट के हो ?
कुनै ब्राण्ड नाम दिएर प्याकिङ नगरिएका गहुँ, मकै, कफी, सुन, चाँदी, कच्चा तेललगायतका वस्तुहरूलाई कमोडिटी भनिन्छ । तिनको मूल्यमा दिनहुँ मात्र होइन, घण्टैपिच्छे समेत घटबढ भइरहन्छ । यस्तो घटबढ भइरहँदा लगानीकर्तालाई मुनाफा सिर्जना गराउने तथा उत्पादकहरूलाई भविष्यमा हुने मूल्यको घटबढको जोखिम कम गर्ने उद्देश्यले यस्ता वस्तुहरूको व्यवस्थित तवरले एक्सचेञ्जमार्फत कारोबार हुन्छ । यो प्रणालीमा वस्तुहरूको कारोबार करारपत्र बनाई गरिन्छ । यस्तो करार सूचीकरण गरी कारोबार गर्ने गराउने एक्सचेञ्जहरूलाई कमोडिटीज एक्सचेञ्ज भनिन्छ । नेपालको हकमा हालसम्म स्थापित सबै कमोडिटीज एक्सचेञ्जहरूले कृषिउपज, धातु तथा ऊर्जाको करारमा कारोबार गर्दै गराउँदै आएका छन् । अहिले चलनचल्तीमा यस्ता करारका चार प्रकार प्रमुख छन् ः फरवार्ड, फ्युचर्स, अप्सन र स्वाप । हाल नेपालको कमोडिटीज एक्सचेञ्जमा भने फ्युचर्समा मात्र कारोबार हुने गरेको छ । नेपालको कमोडिटी बजारमा उपयोग हुने मूल्य अमेरिकी डलर र भारतीय रूपैयाँलाई आधार मानेर तय हुने गरेको छ । अहिले कमोडिटी एक्सचेन्जमा सुनचाँदीको कारोबार हुने गरेको छ ।
सन् २००६ देखि कमोडिटी बजार खुलेर कारोबार सुरु भएको थियो । सरकारले नियमनको अभाव भएको भन्दै तीन वर्षअघि नयाँ कमोडिटी एक्सचेन्ज खोल्न प्रतिवन्ध लगाएको थियो । कमोडिटीको कारोबारका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा पचास भन्दा बढी एक्सचेन्ज दर्ता भएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएकै आधारमा संचालन भइरहेका छन् । शेयर बजार ओरालो लाग्दा लगानीकर्ता बस्तु खरीदबिक्रीका लागि कमोडिटी एक्सचेन्जमा आउने गरेका थिए । तर नियमनको अभावमा केही लगानीकर्ता समस्यामा पर्न थालेपछि यो कारोबार घटेको हो ।