May 20th, 2016

साताभरका उत्कृष्ट बैँकिङ गतिविधिहरु

bankingहरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ गतिविधिहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तिय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । विशेषतः बंगलादेशको केन्द्रिय बैँक र वाणिज्य बैँकमा पटकपटक गरी भएको साइबर आक्रमणको विषयले साताभर चर्चा बटुल्यो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

साइबर आक्रमणमा बैँक
बंगलादेशको केन्द्रिय बैँकमा साइबर आक्रमण भएको केही दिनमै बंगलादेशको वाणिज्य बैँक पनि यसको शिकार भयो । बंगलादेशमा मात्र नभएर संसारभर नै यो खतरा रहेकाले यो विषयमा थुप्रै चर्चा परिचर्चा भए । त्यस्ता ह्याकरहरुले ठूला ठूला बैँकहरुलाई निशाजना बनाएर पटकपटक यस्ता हमलाहरु गरिरहेकाले यसप्रति सजग हुनुपर्ने पाठ सो घटनाले सिकायो ।  

लघुवित्त सम्मेलन
यससाता राष्ट्रिय लघुवित्त सदस्य सम्मलेन राजधानीमा सम्पन्न भयो । यस्तो सम्मेलन नेपालमा आजसम्म भएको थिएन । सम्मेलनमा लघुवित्त बैँकका सिईओ तथा प्रतिनिधि लगायत मुलुकभरमा लघुउद्यमीहरु उपस्थित थिए । 

शेयर निष्काशन तथा वितरण
कर्णाली डेभलपमेण्ट बैँकले साताको आइतबारदेखि असार ५ गतेसम्मका लागि हकप वैशाख १३ गतेसम्मका साविक शेयरधनीहरुका लागि दुई शेयर बराबर एक शेयर (२.१) को अनुपातमा प्रति शेयर एक सय अंकित दरको ४ लाख कित्ता हकप्रद शेयरको निष्कासन तथा बिक्री सुरु गर्यो । यसै साता नेपाल बैंकले लिलामीमा राखेको नेपाल इन्स्योरेन्सको शेयर विक्रि गरियो भने केही दिनमै बाँडफाट गर्ने जनाइएको छ । यसै साताको सोमबारदेखि अरुण काबेली हाइड्रो पावरको शेयर निष्काशन भइरहेको छ । 

शाखा, सेवा तथा सुविधा विस्तार 
साताको आइतबार आईएलएफसिओ माइक्रोफाइनान्स वित्तीय संस्थाले एकै पटक काठमाडौंको शंकरापुर, काभ्रेको बालुवापाटी देउपुर, सिन्धुलीको भद्रकाली, नुवाकोटको थानसिंग र गुल्मीको सिमिचौमा गरी पाँच वटा नयाँ शाखा थप्यो । पोखरामा केन्द्रीय कार्यालय भएको गरिमा विकास बैंकले स्याङ्जा जिल्लाको चापाकोटमा आफ्नो २६औं शाखा खोल्यो । त्यस्तै, माछापुच्छ्रे बैंक लिमिटेडले शुक्रबारदेखि धनकुटाको हिले बजारमा आफ्नो ७२औँ एटिएम सेवा सुरु गर्यो । यसै साता प्रभु बैंकले आफ्नो मुख्य शाखा कार्यालय बबरमहलबाट प्रभातकालीन (बिहानी) काउण्टर सेवा सञ्चालनमा ल्यायो । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले सुर्खेत जिल्लाको बाबियाचौरमा ३७ औँ शाखा विस्तार यसै साताको विहिबार गर्यो । त्यसैगरी, सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल इन्भेष्टमेन्ट बैँकले कालिकोटको नाङ्मामा एक्सटेन्सन काउन्टर खोल्ने र अछाम, बझाङ, बाजुरा, दार्चुला र डोटीमा २८ शाखारहित बैकिङ इकाई खोल्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर गर्यो । यता, राष्ट्रिय वाणिज्य बैँकले प्रहरी अधिकृत तथा जवानका लागि १÷१ लाख रुपैँयाको दुर्घटना बिमा गर्ने खबरले पनि यस साता चर्चा पायो । त्यस्तै, बिमा समितिले आर्थिक रूपमा पिछडिएका व्यक्तिलाई लक्षित गरी लघुबिमा योजना सार्वजनिक गर्यो । 

मर्जर तथा एक्विजिसन
यस साता ज्योति विकास बैंक र हाम्रो विकास बैंकबीचको मर्जर तोडियो । जनकपुरधाममा मुख्य कार्यालय रहेको तीनजिल्ले सहयोगी बिकास बैंक र सर्लाहीको मलंगवामा मुख्य कार्यालय रहेको एक जिल्ले सहारा विकास बैंकले मर्जरमा जाने सहमति गरे । नेप्सेमा यी संस्थाको कारोबार रोक्का गरिएको छ । यसै साता नेपाल राष्ट्र बैँकको बोर्ड बैठकले कैलाश विकास बैंकमा मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्स गाभ्न, रेसुंगा डेभलपमेन्ट बैंक र गौमुखी विकास बैंकबीच मर्जर हुन अन्तिम स्वीकृति दियो । त्यसैगरी सनराइज बैंकलाई नारायणी नेशनल फाइनान्स खरीद गर्न पनि सहमति दियो भने सिभिल बैंकमा इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स गाभ्ने स्वीकृति पनि दियो ।   

सहयोग तथा अनुदान
गत बर्ष बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट ध्वस्त भएको ऐतिहासिक धरहराको पुननिर्माणका लागि नेपाल एस बि आई बैंकले ५ करोड २१ लाख रुपैयाँ सहयोग प्रदान गर्यो । त्यस्तै, एक अमेरिकी वित्तीय कम्पनी क्यापिटल फन्डिङ समूहले भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको एक विद्यालय पुनःनिर्माण तथा स्वास्थ्य केन्द्रको सेवा विस्तारका लागि ५० लाख रूपैयाँ सहयोग गर्यो । 

नयाँ सीईओ
एनआईसी एसिया बैँकको प्रमुख कार्यकारी अधिकृतमा विगत १ वर्षदेखि निमित्त सीईओको रुपमा कार्यभार सम्हाल्दै आएका लक्ष्मण रिसाल नियुक्त भए । लगानी बोर्डमा नयाँ कार्यकारी अधिकृत (सीइओ) छनौटका लागी अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित ३ सदस्य समितिले पहिलो चरणमा बर्तमान सीइओ राधेस पन्त, राष्ट्र बैकका पूर्व डेपुटी गर्भनर महाप्रसाद अधिकारी, सरोज कोइराला, रमेशनाथ बास्तोला गरी ४ जनाको नाम छनौट गर्यो । सईिओका लागि ८ वटा निवेदन परेको थियो । 

अन्य
झण्डै २० वर्षपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) विनियमावली संशोधन भयो ।