May 18th, 2016

‘जनचेतनाको अभावले विमा गर्नेहरु थोरै भए’

shriman karkiभूकम्पपछि साधारण नागरिकहरुमा बिमाप्रतिको आकर्षण बढ्दो छ । गत वर्ष बैशाखको बिनाशकारी भूकम्पले ठूलो जनधनको क्षति पुर्यायो । तीमध्ये जम्मा तीन प्रतिशतले बिमा गरेको पाइएपछि ३ प्रतिशतलाई मात्रै बिमा रकम हस्तान्तरण गरियो । सो घटनापछि नागरिकमा बिमा गनुपर्ने रहेछ भन्ने चेतनामा केही बृद्धि भएको बिमाका जानकारहरु बताउँछन् । बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सके नागरिक र राज्यले नै यसबाट फाइदा लिन सक्ने देखिन्छ । यसैबिच, बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन के गनुपर्ला ? समग्रमा नेपालमा बिमाको अवस्था कस्तो छ त ? के–कस्ता चुनौतिहरु छन् ? भन्ने विषयमा बैंकिङ खबर डट कमका लागि सहकर्मी नवराज कुँवरले बिमा समितिका निर्देशक श्रीमान कार्कीसंग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

बिमा के हो ? किन गर्ने बिमा ?
बिमा जोखीमको व्यवस्थापन गर्न अपनाइने एक किसिमको सम्झौता हो । बिमाको काम त्यसबेला हुन्छ, जब कसैमाथि जोखीमको स्थिति निम्तिन्छ । त्यहाँ बिमाले ठूलो संरक्षण गरेको हुन्छ । यो एउटा जोखिमसंग सम्बन्धीत विषय भएकोले कहिले, कहाँ, कसरी र कति बेला हुन्छ भन्ने कुरा अनिश्चित हुन्छ । जोखीमबाट सुरक्षित रहनको लागि बिमा गरिन्छ । मानौँ, तपाईको एउटा प्लान्ट छ, त्यो प्लान्टले तपाईको गुजारा चलाएको छ । त्यो मर्यो अथवा ध्वस्त भयो भने आर्थिक संकट पर्छ । यदि सानो प्लान्ट हो भने खासै फरक नपर्ला र धेरै लगानी पनि नडुब्ला तर त्यो प्लान्ट मरिसकेपछि फेरी नयाँ प्लान्ट स्थापना गर्नको लागि तपाईसँग पैसा छैन भने त्यस्तो ठाउँमा बिमाले महत्वपूर्ण काम गरेको हुन्छ । 

निर्जीवन बिमा भनेको के हो ?
जीवन बिमा बाहेक घर, उद्योग कलकारखाना, सवारी साधन जस्ता चल–अचल सम्पत्तिको  बिमा निर्जीवन बीमा हो । यस किसिमका बिमा अन्तर्गत दुर्घटना, औषधीपोचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखीम लगायतको बिमा हुन्छ । दुर्घटना, आगलागी, चोरीलगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिको क्षतिपुर्ति प्राप्त गर्न तथा जोखीमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति वा राहत पाउन नै बीमा गर्ने गरिन्छ ।

त्यस्तै सम्पतिको सम्बन्धमा पनि यसका धेरै प्रकार छन् । निर्जीवन बिमाअन्र्तगत गरिने बिमामा घटना भयो भने प्रिमियम बापतको पैसा फिर्ता हुने र घटना नभएमा प्रिमियम वापतको कुनै पनि रकम फिर्ता नहुने हुन्छ । जस्तै भूकम्पमा मृत्यु भएकामध्ये ३ प्रतिशतले मात्र यसबाट क्षतिपूर्ति पाए । जसले बिमा गरेको छैन, उसले कुनै सहयोग पाउन सकेन । २०७० श्रावण १ गतेदेखि भूकम्प बिमा अनिवार्य गर्नुपर्छ भनेर हामीले सर्कुलर जारी गरेका थियौँ । सो सर्कुलर जारी गर्नुको कारण हामी निरीक्षणको बेलामा विभिन्न स्थानमा गएर हेर्यौँ । त्यो क्रममा जम्मा अग्नी बिमा बेचेकोमध्ये ४० प्रतिशतले मात्र भूकम्पको कभरेज लिएको रहेछ । अरु ६० प्रतिशत त बाँकि नै रहे । बिमा गर्ने मानिस निर्दोष हुन्छ । त्यसकारण हामीले यसलाई अनिवार्य गराएको हौँ । यो अग्नी बिमामा जोडिएको हुन्छ ।  भूकम्प बिमा अनिवार्य गराउँदा हामीलाई कतिपयले दोष पनि लगाएका थिए । यो स्वभाविक पनि हो । तर जब ०७२ बैशाख १२ गते गएको भूकम्पका पीडितहरु बिमाबाट लाभान्वित भए तब हामीलाई सबैले धन्यवाद दिए । लिखितपत्र पनि आएको छ । किनभने भत्केकोमध्ये कम्तिमा ३ प्रतिशतले बिमा रकम पाएपछि धेरैले बिमा गर्नुको फाइदा के हुँदो रैछ भन्ने थाहा पाए । बिमाद्धारा पीडितहरुले राहतको महशुस पनि गरे । बिमा नै नगरेको भएको के हुन्थ्यो होला ?

बिमा सम्पतिको प्रकार हेरिकन बिमा गर्न सकिन्छ । जस्तै मोटर, इन्जिन, हवाईजहाज, घर, मेसीनहरुको छुट्टै बिमा छ । त्यसकारण आफ्नो आवश्यकता अनुुसार बिमा गरौँ । गर्नैपर्छ भन्ने छैन तर आफुलाई जोखीम लाग्छ भने गर्दा फाइदा हुन्छ ।

अग्नी बिमा 
निर्जीवन बिमाअन्तर्गत आगोको कारणले नोक्सान हुने र त्यसबाट क्षतिपुर्ति पाउनको लागि गरिने बिमा अग्नी बिमा हो ।  

सामुन्द्रीक बिमा
निर्जीवन बिमाअन्तगत नै सामुन्द्रीक बिमा गरिन्छ । सामुन्द्रिक बिमा भन्नाले कुनै एक देशबाट अर्को देशमा वा देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सामान ओसार–पसार गर्दा हुन सक्ने हानी नोक्सानीलाई मध्यनजर गर्दै गरिने बिमा हो । यी बाहेक दुर्घटना बिमा, हवाई बिमालगायतका बिमा कार्यक्रमहरु छन् । नागरिकका बृहत्तर हितलाई हेरेर हामीले बिमाका कार्यक्रमहरु ल्याएका हौँ ।

जीवन बिमा भनेको के हो ?
हाम्रो जीवनमा कम उमेरमा नै मृत्यु हुनु, लामो समयसम्म जिउनु र लामो समयसम्म बिरामी पर्नु जस्ता कुराहरू हुन सक्छन् । यी तीन कुराहरू कहिल्यै पनि हाम्रो नियन्त्रणमा रहँदैन र यसको लागि जीवनमा केही व्यवस्था गर्नु आवश्यक पर्दछ । जीवनमा अप्रत्यासित अवस्था आई घरको मुख्य आय आर्जकको अल्पायुमा नै मृत्यु अथवा अशक्त भई आय बन्द हुँदाको अवस्थामा बाँकी रहेका परिवारको जीवनमा आर्थिक सङ्कट नआओस भनी आफ्नो मृत्यु पश्चातको जोखीम बिमा कम्पनीलाई सार्नु नै जीवन बिमा गर्नु हो । जीवन बिमाले अर्को जीवनको प्रतिस्थापन गर्न नसकेता पनि मुख्य आय–आर्जनको शून्यतामा केही वर्षको लागि आय प्रदान गर्दछ जसले गर्दा बाँकी रहेका परिवारका सदस्यहरूले आफ्नो जीवन शैली र शिक्षाको निरन्तरता कायम राख्न सक्छन् । जीवन बिमा पोलिसी बिमित र बिमा कम्पनी बिचको सम्झौता पत्र हो जसमा बिमितले केही रकम प्रिमियमको रूपमा कम्पनीलाई मासिक वा वार्षिक रूपमा तिर्ने र बिमितको पोलिसी अवधिमा मृत्यु भएको खण्डमा विमितको परिवारलाई बिमा कम्पनीले ठुलो रकम उपलब्ध गराउन मन्जूर गरिएको हुन्छ ।

जीवन बिमाअन्र्तगत नै घटना घटे पाइने र घटना नघटे नपाइने खालको अर्काे बिमा पनि हुन्छ । त्यसलाई हामी म्यादी बिमा भन्छौँ । यसअन्र्तगत रोजगारी बिमा पर्छ । यस्तो खालको बिमा घटना भयो भने मात्र पाइन्छ । घटना घटे पनि पाइने र घटना नघटे पनि पाइने दुवै खालका बिमा पनि छन् । बिमा अवधिभित्र बिमितको कुनै कारणवश मृत्यु भएको अवस्थामा बिमाको रकम प्लस बोनस पाइने, वा बिमा अवधिभर जिवितै रहे उसले गरेको बिमा रकमको आधारमा बिमा प्राप्त गर्न सकिने हुन्छ । 

कृषि बिमा भनेको के हो ? यससम्बन्धी व्यवस्था चाहिँ के छ ?
अहिले हामीले कृषि बिमापट्टी हात हालेका छौँ । बिमा समितिले यस्तो काम ०६९ देखि सुरु गरेको हो । गर्भनर र हामी केही पदाधिकारीहरु केहि दिनअघि केरा व्यवसायी उत्पादन महासंघको साधारणसभामा चितवन गएका थियौँ । त्यहाँ २५ सय बिगाह जमिनमा केरा खेति गरिएको रहेछ । ४६० विगाहको बिमा भएको रहेछ । हावा आएर सबै लडाएछ । मलाई लाग्छ ४० लाख जतिको क्षति भएको होला । तर उहाँहरुले भन्नुभयो ‘सर हामी त ढुक्क छौँ, क्षतिको केहि प्रतिशत त पूर्ति भयो नि ! कृषि बिमाको क्षेत्रमा जति प्रिमियम लाग्ने हो त्यसको अनुपातमा लाग्ने ७५ प्रतिशत प्रिमियम नेपाल सरकारले अनुदान दिने र २५ प्रतिशत किसान आफैँले हाल्नुपर्ने व्यवस्था छ । अहिलेको सरकारले भ्याट छुट गरेका कारण सहज भएको छ । त्यसको मुल्यांकन पनि हुन्छ । सामान्यतयाः किसानले यसवापत त्यसको ५ प्रतिशत प्रिमियम तिर्नुपर्छ ।  

बाली रोपियो अथवा छरियो तर बालीले फल दिएन भने त्यस्तो अवस्थामा बिमाले रकम क्षतिपूर्ति दिन्छ ?
बिमाले यस्तो अवस्थामा काम गर्दैन । अहिले यस्ता खालका रिर्पोटहरु आएका छन् । बिउ विजनमा समस्या आएको हो भने त्यसतर्फ पनि जाचँ गर्न जरुरी छ । के कारणले फलेन त ? प्रश्न यहाँ छ । खडेरी, असिनाले वा बाढीले लग्यो भने बिमाले क्षतिपूर्ति दिन्छ । तर हलक्क आएको छ तर फलेन भने त्यसमा बिउको नै समस्या हो । त्यसकारण बिउलाई परीक्षण गरेर विक्री–वितरण गर्ने हो भने सहज हुन्छ । बिउको समस्या हो भने आफैले नै कभर गर्नुपर्ने हुन्छ । सामान्य विषयहरु आफैँले व्यहोर्नुपर्ने हुन्छ । तर रोग ब्यादी, बाढी, पहिरो, चट्याङ, असिना आदीले असर गरेको छ भने त्यस्तोमा बिमाले नै कभर गर्छ । 

पशु बिमाको हकमा चाहिँ कस्तो व्यवस्था छ नि ?
पशु बिमालाई पहिलादेखि नै अलग गराएका छौँ । अहिले मन्त्रालय पनि छुट्टिएको छ । त्यही पनि निश्चित रुपमा त्यति प्रभावकारी भएको छैन । बिमाको दृष्टिकोणबाट हेर्दा यी दुईमा पशु बिमाको केश केहि फरक छ । खासगरी पशु बिमा कृषि बिमाभन्दा सजिलो छ । सामान्यतयाः कृषकहरुले पनि यो पशुको मुल्य यति हो भनेर भन्ने हो भने सजिलो हुन्छ र अनुमान गर्न पनि सकिन्छ । त्यस्तै, एक विगाहमा कति खर्च लाग्छ भन्ने हामीलाई त्यति थाहा नभएको अवस्थामा हामीलाई केही गाह्रो भएको छ । एउटै क्षेत्रमा पनि जग्गाको भौगोलिक अवस्थाले गर्दा फरक–फरक उत्पादन गरेको पाइन्छ । 

यसलाई मध्यनजर गर्दै नेपाल सरकार कषि मन्त्रालयले एउटा पुस्तक निकालेको छ । त्यसलाई आधार मानेर काम गर्ने हो भने त्यो सजिलो पनि हुन्छ भनेर हामीले निर्देशन पनि दिएका छौँ । कुनै पनि स्थानको जिल्ला कृषि कार्यालयहरुले पनि यसमा सहयोग हुने खालका सामाग्रीहरु सार्वजनिक गरेको पाइन्छ । त्यसकारण लागत हरेक स्थानअनुसार फरक–फरक हुन्छ । कृषिबाट प्रकाशित गरिएको पुस्तक छ । त्यसलाई पनि आधार मान्ने हो भने धेरै सजिलो हुन्छ । जस्तै कृषिमा प्रयोग गर्ने प्राविधिक सामाग्री र मलहरु पनि सबै स्थानहरुमा एउटै मूल्यमा पाउन सकिँदैन । त्यसैले अरु बिमा क्षेत्रमाभन्दा कृषि बिमा क्षेत्रमा मुल्यांकनको केही समस्या छ । यसमा २ चिज हेरौँ : एउटा बाली रोप्दा वा छर्दाको अवधि र पाक्ने अवधिसम्ममा कति खर्च लाग्छ । यस्ता उत्पादनहरुमा केहि अलमल हुन्छ । सिजन र मौसमले पनि उत्पादन क्षेत्रमा फरक पारेको हुन्छ । त्यस्तै कृषि प्राविधिकहरुको पनि अभाव देखिएको छ । यी यस्ता कमजोरीहरु सच्याउँदै जाने हो भने कृषि बिमा राम्रो बन्न सक्छ । 

बालिको क्षतिपुर्ति पाउनको लागि के गर्ने ?
अहिलेको अवस्थामा हामीले डाटा अभावको कारणले टुंग्याउन सकिरहेका छैनौँ । यो जिम्मा हामीले प्राविधिकलाई दिन पनि सकेका छैनाँै । हामीकहा डाटा नै आएको छैन । अहिले क्षति भएको किसानलाई हामीले प्राविधिकलाई आधार मानेर काम गर्छौँ । र कसैले यति क्षति भयो भनेर सबै विवरण पेस गर्न सक्ने हो भने क्षतिपूर्ति पाउन सजिलो हुन्छ । हामीकहाँ विज्ञ माथि पनि प्रश्न उठिसकेकोले विज्ञको कुरालाई पनि सहजै विश्वास गर्न जरुरी छ । कतिपय स्थानहरुमा विज्ञले नै दिएको चिजहरु गलत भएको पनि हामीले पाएको छौँ । त्यसैले यथास्थानमा पुगेरै सबै तथ्यांकहरु ल्याउन सक्ने हो भने सजिलो हुन्छ । 

पशु बिमामार्फत दिने क्षतिपूर्ति चाहिँ कसरी दिइन्छ र यो कुन अवस्थामा प्रभावकारी हुन्छ ?
कृषि र पशुपंक्षि तर्फको अनुदानबीच फरक छ । पहिला एउटै थियो अहिले मन्त्रालय बनिसकेपछि फरक भएको छ । कृषि र पशु बिमाको एउटै कार्य्विधि छ । तर यसरी चल्दैन । छुट्टै कार्य्विधि भयो भने सहज हुने थियो । पशुपंक्षिको बिमा गर्नेले पशुपक्षि मर्यो भने त्यसको क्षतिपूर्ति लिन सकिन्छ । उत्पादन भएन भने र मर्यो भने १ लाख दिने व्यवस्था गरको छ । पशुपालन बिमाको क्षेत्रमा हेर्दा शंका गर्ने ठाउँहरु थुप्रै छन् यसलाई तटस्थ बनाउनको लागि हामीले नयाँ कदम चाल्नैपर्छ । त्यस्तै कृषिको फार्ममा पनि अनुगमन गरियो भने उसको पशुपंक्षिहरु कस्ता छन्, कसरी स्याहार गरेको छ भन्ने कुरा पनि प्रष्ट रुपमा थाहा हुन्छ र क्षतिपुर्ति दिलाउन पनि सहज हुन्छ । तर अहिले त विश्वासको आधारमा बिमा समितिले काम गरिरहेको छ । जे उत्पादनको लागि ऋण लिएको थियो, त्यसको प्रतिफल आएन भने त्यसबाट कम्तिमा पनि किसान ऋणबाट जोगिन सक्ने अवस्था हुन्छ । साच्चै नै घटना पर्नेलाई त यसले ठूलो असर पार्छ । तर गाई भैसि थुपार्ने, बिमा गर्ने र कहिले मर्छ भनेर कुर्ने ग¥यो भने त्यस्तोलाई हामीले अनुगमन गर्न जरुरी छ । समाजलाई उकास्न खोज्दा कहि कसैले यस्तो गर्छ भने यसमा नयाँ नियम पनि ल्याउन जरुरी छ । 

shriman karkiक्षतिपश्चात बिमाको रकम प्राप्त गर्न गाह्रै छ भनिन्छ नि ?
बिमा गरेवापत आफ्नो जोखिमको सुरक्षा र यदी केहि भई हालेको खण्डमा सहि प्रमाण पुर्याउने हो भने सहजै क्षतिपुर्ति लिन सकिन्छ । यदि प्रमाण जुटाउनै सकिएको छैन भने त्यो केहि झन्झटिलो पनि हुन सक्छ । तर पछिल्लो समय बिमा गर्दाका झन्झटहरु हामीले समाधान गर्दै आएको छौँ । बिमा समतिले पनि झन्झट नहोस् भनेर के–के गर्ने भनेर स्पष्ट रुपमा लेखेका छौँ । बिमा समितिले घटनाको अवस्था र प्रकृति हेरेर बिमाको घटनाको क्षतिपुर्ति दिन्छ । अर्को हामीले असम्भव र नपत्याउने घटनामा पनि अनेकौ बहाना बनाएर क्षतिपुर्ति गर्छौ भने त्यसदेखि हामीलाई शंका हुनु स्वभाविक पनि हो । 

कस्तो अवस्थामा चाहिँ सजिलै क्षतिपुर्ति पाउन सकिन्छ ? पुलिस रिपोर्टलगायतका प्रमाण जुटाउनुपर्ने हो ?
सबै स्थानहरुमा प्रहरी रिपोर्ट आवश्यक पर्दैन । त्यसकारण जहाँ पुलिसले हेर्छ त्यहाँ पुलिस रिपोर्ट नै चाहिन्छ । कि त मुचुल्का चाहियो । यदि स्थानीयले पनि घटना भएको देखेका छन् भने उनीहरुबाट आएको कुरालाई पनि हामीले आधार मान्न सकिन्छ । यी आधारहरु चाहिँ चाहिन्छ ।

मुलुकभरि अहिले पनि बिमा गर्ने ५/७ प्रतिशतभन्दा बढ्न सकेका छैनन् । तपाईहरुलाई लाग्दैन, बिमा शिक्षाको खाँचो छ ?
एकहदसम्म तपाईले उठाउनुभएको कुरा सहि हो । यसमा २/३ वटा कारण छन् । जनचेतना तथा रुचीको कमी र भ्रम भएकाले बिमा गर्नेहरुको संख्या एकदमै कम छ । शिक्षाको कमी नै यसको मुल कारण भने होइन । हेलचेक्र्याई, ’नोक्सान भए के भयो ? मसँग अरु आधार पनि छ’ भन्ने मान्यता र आवश्यकता नभएकाले होला । चाहिनेले त गरिरहेका छन् नि । अहिले नेपालमा मेडिकल बिमामा आर्कषण बढेको छ । यहाँसम्मको लापरबाही छ कि बिमा गरौँ भन्ने अभियान चलाएर हिँड्नेले नै बिमा नगराएको देखिएको छ । एउटा जिम्मेवारी बिमा कम्पनीको मार्के्टिङ हेडले आफ्नै बिमा नगरी अरुलाई बिमा गरौँ भन्दै हिँडेको उदाहरण पनि हामीले देखेका छौँ । ठ्याक्कै नाउँ किन लिउँ र । तपाईजस्तै पत्रकारका लागि हामीले पत्रकार जीवन बिमाको व्यवस्था गरेका छौँ । देशमा १० हजारभन्दा बढीको संख्यामा पत्रकार छन् तर बिमा गर्नेको संख्या बल्ल साढे पाँच सय पुग्दैछ । अब पत्रकारमा नै शिक्षाको कमी भन्न त मिलेन । त्यसैले थोरबहुत नेग्लीजेन्स पनि बिमितहरु नबढ्नुको एउटा कारण हो । 

बिमा कम्पनीहरु चाहिँ पुँजी बृद्धिका मर्जरको बाटोमा जान सक्दैनन् ? पछिल्ला योजनाहरु केही छन् त ?
मजाले जान सक्छन् । हाम्रो चाहाना पनि यही हो । बिमा कम्पनिहरु मर्ज भए भने अझ प्रभावकारी हुन्छ भन्ने हाम्रो मान्यता हो । हामीले आग्रह पनि गरेका छौँ । सकिन्छ भने मर्जर प्रक्रिया अपनाएर अगाडी बढौँ । अस्वस्थ प्रतिष्पर्धा गरेर कसैलाई केही फाइदा हुँदैन । आखिर हामी सबैको मिसन एउटै हो । हामी जति सबल भयौँ उति नै हाम्रा कार्यक्रमहरुबाट नागरिकहरु लाभान्वित हुनेछन् ।