ज्योति विकास बैँकले हाम्रो विकास बैँक र झिम्रुक विकास बैँकलाई गाभ्ने भएको छ । ज्योति विकास बैङ्कको शुक्रबार राजधानीमा बसेको विषेश साधारणसभाले हाम्रो विकास बैँक र झिम्रुक विकास बैँकलाई मर्ज गर्ने विशेष प्रस्ताव पारित गरिएको हो । सभामा बैँक सञ्चालक समितिका अध्यक्ष ध्रुव कोइरालाले नुवाकोटको हाम्रो विकास बैँक र प्यूठानको झिमरुक विकास बैँक एकआपस गाभ्नेरगाभिने सम्बन्धमा विशेष प्रतिवेदन प्रस्तुत गरेका थिए ।
ज्योति विकास बैँक र हाम्रो विकास बैँकबीच मिति गत मङ्सिरमा मर्जर सम्झौता भएको थियो भने झिम्रुक विकास बैँकसँग गत माघमा सम्झौता गरिएको थियो । ज्योति विकास बैँक लिमिटेड, हाम्रो विकास बैँक लिमिटेड र झिमरुक विकास बैंक लिमिटेड एकआपसमा गाभ्न÷गाभिन सम्बन्धमा सैद्धान्तिक सहमति प्राप्त भएबमोजिम ज्योति विकास बैँक लिमिटेडले मर्जरलाई अन्तिम स्वीकृति लिन विशेष साधारणसभा सम्पन्न गरेको थियो ।
तीनओटै विकास बैङ्कहरूको मर्जरपश्चात् ज्योति विकास बैँक नै नाम कायम रही काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय राख्ने र तीनओटै विकास बैँकहरूको शेयर अनुपात एक बराबर एक नै कायम गरिएको छ । त्यस्तै, हाल ज्योतिको जारी तथा चुक्ता पुँजी ९२ करोड ३४ लाख ७६ हजार ३ सय ४० रुपैँया रहेको छ भने हाम्रोको १२ करोड २३ लाख ३३ हजार ५ सय ५० र झिम्रुकको ५ करोड ८७ लाख रहेको छ । यसबाहेक गत आर्थिक वर्षको चुक्तापुँजीमा १० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गरी प्राप्त हुने रकम ४८ लाख ५० हजार रुपैँया समेत गरी एकीकृत बैँकको कुल चुक्ता पुँजी १ अर्ब १० करोड ९३ लाख ५९ हजार ८ सय ९० रुपैँया पुग्नेछ । त्यसैगरी एकीकृत बैँकको शाखा कार्यालय ३३ वटा पुग्नेछ भने २ वटा एक्सटेन्सन काउन्टर र ९ वटा एटीएम काउन्टर रहनेछ ।
राष्ट्र बैंकले गत असारमा सार्वजनिक गरेको मौद्रिक नीतिले पनि वित्तीय संस्थाहरूलाई मर्जरमा जान दबाब दिएको छ । जस अनुसार असार ०७४ सम्ममा वाणिज्य बैंकले चुक्ता पुँजी ८ अर्ब, राष्ट्रिय स्तरको विकास बैंकले २.५ अर्ब, ४–१० जिल्ला क्षेत्र भएका विकास बैंकले १.२ अर्ब र १–३ जिल्ला क्षेत्रमा कारोबार गर्ने अनुमति पाएका विकास बैंकले आफ्नो चुक्ता पुँजी ४० करोड रुपैँया पुर्याउनु पर्नेछ । वित्त कम्पनीको हकमा राष्ट्रिय स्तरका लागि ८० करोड, एकदेखि तीन जिल्लामा कारोबार गर्नेले ४० करोड चुक्ता पुँजी र्पुयाउनु पर्नेछ । पुँजी वृद्धिका लागि बैंकका सामु अन्य वित्तीय संस्थासँग मर्ज गर्ने, खरिद गर्ने, बोनस र राइट सेयर जारी गर्ने लगायतका विकल्प छन् ।