नेपालमा पहिलो पटक आयोजना गरिएको ‘लघुवित्त ग्राहक सम्मेलन’ सूरु भएको छ । राजधानीको एक होटलमा आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घघाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको ग्रामिण क्षेत्रमा लघुवित्त विकास बैंकहरुले खेलेको भूमिका सराहनीय भएको बताए । उनले नेपालको कृषि क्षेत्रको विकासमा लघुवित्त विकास बैंकले विशेष भूमिका निर्वाह गरेको भन्दै त्यसको प्रशंसा गरेका थिए । प्रधानमन्त्री ओलीले नेपालको बेरोजगारी, गरिबी न्युनिकरणमा समेत लघुवित्त विकास बैंकको भूमिका महत्वपूर्ण रहेको बताए । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले विकासको अभियान चलाउन लागेको र त्यसको सहयात्राका लागि लघुवित्तसहित बैंक तथा वित्तीय क्षेत्रलाई प्रधानमन्त्री ओलीले आह्वान गरे । विकासको अभियानलाई अगाडी बढाउनै नदिन पनि प्रयास भएको भन्दै नेपालको विकास चाहानेहरु मिलेर अभियान सफल बनाउन लागि पर्नुपर्ने औँल्याए । प्रधानमन्त्री ओलीले लघुवित्त विकास बैंकहरुको सम्मेलनमार्फत गरिबी न्युनिकरणको अभियान थालेको भन्दै सो अभियानमा सरकारले सघाउने प्रतिबद्दता व्यक्त गरे ।
त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिबी नेपालले मुलुकको गरिबी न्युनिकरणका लागि लघुवित्त विकास बैंकको भूमिका अतुलनीय रहेको बताए । उनले लघुवित्त क्षेत्रका चुनौति, समस्याहरुलाई समाधानका लागि राष्ट्र बैंकको तर्फबाट पुर्याउन सक्ने सहयोगका लागि संधैव तयार रहेको बताए । डाक्टर नेपालले लघुवित्त संस्थामार्फत १८ लाख परिवारमा ३ खर्ब ऋण प्रवाह भएको र लघुवित्तमा असुलीदर पनि ९९ प्रतिशत रहेको भन्दै त्यसको प्रशंसा गरे ।
२ दिनसम्म चल्ने सो सम्मेलनमा एक हजारभन्दा बढी ग्राहक सदस्य सहभागी छन् । विभिन्न लघुवित्त क्षेत्रका संघसंस्थाहरुको आयोजना रहेको सम्मेलनको संयोजन स्वावलम्बन विकास केन्द्र रहेको छ । सम्मेलनमा लघुवित्तमा कारोबार गर्ने सदस्यहरूको अनुभव आदान–प्रदान गरिनुका साथै लघुवित्तका चुनौती, अवसर, समस्या र राम्रा पक्षका बारेमा छलफल हुनेछ ।
सम्मेलनसँग जोडिएका अपेक्षाहरु
सम्मेलनबाट लघुवित्त सदस्यको अनुभव आदान–प्रदान, उनीहरूको उत्प्रेरणाका साथै लघुवित्तमा रहेका विकृति र विसंगति अन्त्य गर्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ । साथै, लघुवित्तलाई व्यवस्थित बनाउन र राष्ट्रिय लघुवित्त नीति बनाउन समेत सहयोग मिल्ने आयोजक पक्षको विश्वास छ । सम्मेलनमा गाउँ–गाउँमा लघुवित्त ऋण लिएर सफल भएका महिलाहरूको उपस्थिति रहने र यसबाट लघुवित्त संस्थाप्रति हेर्ने दृष्टिकोणसमेत परिवर्तन हुने विश्वास लिइएको छ ।
हाल नेपालमा ४१ लघुवित्त विकास बैंक, २५ गैर सरकारी संस्था र १ सयभन्दा बढी सहकारी संस्थाले लघुवित्त सेवा दिइरहेका छन् । लघुवित्त संस्थामार्फत १८ लाख परिवारमा ३ खर्ब ऋण प्रवाह भएको छ । लघुवित्तमा असुलीदर पनि ९९ प्रतिशत छ । नेपालमा विभिन्न लघुवित्त सस्ंथामा आवद्ध झन्डै १६ लाख ३० हजार ग्राहक सदस्य छन् । नेपालमा गरिबी न्यूनीकरण गर्ने र वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले खोलिएका लघुवित्त संस्थाले हालसम्म ११ लाख ४० हजार ऋणीलाई ५९ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरी १७ अर्ब ९७ करोड रुपैयाँ बचत संकलन गरेका छन् ।