January 23rd, 2018

घरजग्गा धितोमा बैंकहरुको ६१ प्रतिशत भन्दा बढी लगानी

घर जग्गाको धितोमा बैंक तथा वित्तीय क्षेत्रले ६१ प्रतिशतभन्दा बढी लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले घरजग्गा क्षेत्रको लगानीलाई अनुत्पादक मान्दै यस क्षेत्रतर्फको लगानीमा कडाइ गरेको थियो । तर, बैंक तथा वित्तीय संस्थाको मनोमानी लगानी गर्ने प्रवृत्तिका कारण घरजग्गाको धितोमा प्रवाह हुने कर्जा नियन्त्रण हुन सकेको छैन ।

बैंकहरूले मनोमानी रूपमा लगानी गर्दा गत वर्ष बैंकिङ क्षेत्रमा चरम रूपमा तरलता संकट आएको थियो । यो वर्ष पनि बजारमा तरलताको संकट देखिएको छ । तर, पनि बैंकहरूले संयमित रूपमा लगानी गर्न सकिरहेका छैनन् । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको मुलुकको आर्थिक अवस्थाले घरजग्गाको धितोमा लगानी बढेको देखाएको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको लगानीमध्ये ६१ दशमलव ९ प्रतिशत कर्जा घर जग्गाको धितोमा प्रवाह भएको छ । त्यस्तै १४ दशमलव शून्य प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा घरजग्गा धितोमा ६० दशमलव ९ प्रतिशत र चालू सम्पत्तिको धितोमा १४ दशमलव ६ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित ट्रस्ट रिसिट कर्जा ४८ दशमलव ९ प्रतिशतले वृद्धि भई ९६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७ दशमलव ९ प्रतिशतले बढेको थियो । त्यसैगरी समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित हायर पर्चेज कर्जा ४ दशमलव ७ प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा ४ दशमलव ३ प्रतिशतले बढेको छ ।

त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा ५ दशमलव १ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७ दशमलव ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ९ दशमलव ६ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ७ दशमलव २ प्रतिशत, विकास बैंकहरूको १२ दशमलव २ प्रतिशत र वित्त कम्पनीहरूको १ दशमलव ९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १६ दशमलव १ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कुल आन्तरिक कर्जा २ शमलव ७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ५ दशमलव ५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ मंसिर मसान्तमा यस्तो कर्जा १६ दशमलव २ प्रतिशतले बढेको छ । राजधानी दैनिकमा प्रकाशित समाचार