बैंकिङ खबर । यो सातादेखि दुई वटा बैैंकले भाइबर बैंकिङ सेवाको सुरुवात गरे । यसै साता, नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको आर्थिक तथा वित्तीय प्रगति विवरण सार्वजनिक गर्यो । समग्रमा, यो साताका प्रमुख बैंकिङ खबरहरु यहाँ प्रस्तुत गरिन्छ ।
मुलुकको आर्थिक तथा वित्तीय अवस्था
मुलुकको वर्तमान आर्थिक गतिविधि सही दिशामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको आर्थिक तथा वित्तीय स्थितीको विवरण सार्वजनिक गर्दै राष्ट्र बैंकले मुलुकको समग्र आर्थिक अवस्था सकारात्मक दिशातर्फ नै गइरहेको बताएको हो । २०७३ मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८ प्रतिशत रहेकोमा २०७४ मंसिर महिनामा ४.२ प्रतिशत पुगेको छ । आन्तरिक वित्तीय बजारको अवस्था केही कसिलो रहनुका साथै ब्याजदरमा केही अस्वाभाविक प्रवृत्ति देखिए तापनि समग्र वित्तीय अवस्था सामान्य नै रहेको राष्ट्र बैंकले जनाएको छ । आगामी दिनमा सरकारी खर्चमा हुने वृद्धिसँगै समग्र वित्तीय बजारको अवस्था थप सहज हुँदै जाने विश्वास केन्द्रीय बैंकको छ । आर्थिक वर्ष २०७४।७५ को पहिलो पाँच महिनामा मुलुकको समग्र शोधनान्तर नौ अर्ब २७ करोड रुपैयाँले घाटामा गएको तथ्यांक छ ।
दुई बैंकको भाइबार सेवा सुरु
एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै भाइबर बैकिङ्ग सेवा संचालन गर्यो । उक्त भाइबर बैकिङ्ग सेवा ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट प्रयोग गर्न सक्नेछन् । भाईबर बैकिङ्ग सुबिधा लिनको लागि भाइबर एप्लिकेसनमार्फत एनआईसी एशिया बैंकको पब्लिक एकाउन्टलाई सब्सक्राइब गरी यसबाट आवश्यक जानकारी लिन सक्नेछन् । भाइबर बैकिङ्ग सेवा मार्फत ग्राहकहरुले एनआईसी एशिया बैंकको शाखा कार्यालयहरु तथा एटिएम संञ्जालहरुबारे जानकारी, लोन एलिजिबिलिटी चेकिङ, अनलाइन खाता खोल्न, बैकिङ्ग समय सम्बन्धि जानकारी, बिदेशी बिनिमयदर सम्बन्धि जानकारी, व्याजदर सम्बन्धि जानकारी एवं बैंक सम्बन्धि अन्य आवश्यक जानकारी सजिलै प्राप्त गर्न सक्नेछन् । त्यस्तैगरी, एनआईसी एशिया बैंकको मोबाइल बैकिङ्ग सेवामा रजिष्टर भएको ग्राहकहरुले भाइबर बैकिङ्ग सेवा मार्फत आफ्नो खाताको सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सकिनेछ ।
सिद्धार्थ बैंकले पनि यसै सातादेखि भाइबर बैंकिङ सेवा सुरु गर्यो । यस सेवामार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटरलगायत अन्य विद्युतिय उपकरणबाट बैंकिङ्ग सेवाबारे जानकारी लिन सक्नेछन् । भाइबर बैंकिङ्ग सेवा लिन ग्राहकको मोबाइल नम्बर बैंकको सिद्धार्थ बैंक स्मार्ट मोबाइल बैंकिङ्ग सेवामा रजिस्टर गरिएको हुनुपर्नेछ । सिद्धार्थ बैंक स्मार्ट मोबाइल बैंकिङ्ग सेवामा रजिस्टर गरिएको मोबाइलका प्रयोगकर्ता ग्राहकले भाइबर बैंकिङ्गमार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्ने, कर्जा सुविधा , मुद्दती खातालगायत बैंकका अन्य सेवाबारे जानकारी पाउन सक्नेछन् । यो सेवा बैंकका ग्राहकले मात्र नभई यस बैंकमा खाता नभएका सर्वसाधारणले पनि उपयोग गर्न सक्नेछन् । खाता नभएको व्यक्तिले यस सेवामार्फत बैंकका शाखा, एटिएम तथा अन्य सेवा सम्बन्धि जानकारी लिन सक्नेछन् ।
दुई अर्बको म्युचुअल फण्ड निष्काशन
मंगलबारदेखि दुई अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्डको निष्काशन सुरु भएको छ । एक अर्ब रुपैयाँको सिटिजन्स म्युचुअल फण्ड र एक अर्ब रुपैयाँ बराबरको एनआईसी एशिया ग्रोथ फण्ड सर्वसाधारणमा विक्री खुला भएको हो ।
भिसा कार्डबाट कारोबार गर्दा रकम फिर्ता
कार्ड लोयल्टी प्रोगामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरुले हरेक सामानरसुविधा खरिद गर्दा भिसा डेविट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आफ्नो खातामा क्यास (नगद) फिर्ता हुने योजना ल्याए । कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकहरुको पहलमा नेपालमा यस्तो योजना थालिएको हो ।
ज्योति विकास बैंकको साधारणसभा
ज्योति विकास बैंक लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न भयो । साधारणसभाले आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीकोे १० प्रतिशतका दरले हुुने २२ करोड आठ लाख ६३ हजार चार सय २० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकोा छ । त्यस्तै, तत्कालिन राप्तीभेरी बिकास बैंक लि.का सेयरधनीहरुलाई गत आ.व. २०७३/७४ को नाफाबाट तत्कालिन राप्तीभेरी विकास बैंकको संचालक समितिबाट पारित वित्तीय विवरणका आधारमा चुक्तापूँजीकोे छ प्रतिशतका दरले हुुने ९४ लाख २३ हजार आठ सय २३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ । उक्त बोनस पश्चात् बैंकको चुक्तापूँजी दुई अर्व ५९ करोड रुपैयाँ पुगेको छ ।
विशेष सिक्का निष्काशन
त्रिचन्द्र कलेज १०० बर्ष पुरा भएको उपलक्ष्यमा नेपाल राष्ट्र बैंकले विशेष सिक्का निष्काशन गर्ने निर्णय गर्यो । मुलुककै पुरानो कलेज १०० बर्ष पुगेको उपलक्ष्यमा त्रिचन्द्र क्याम्पस प्रशासनले सिक्का निष्काशनका लागि अनुरोध गरेपछि राष्ट्र बैंकको सञ्चालक समितिले १०० र १००० रुपैयाँ दरका सिक्का छाप्ने निर्णय गरेको हो । दुबै सिक्का ३।३ हजार थान निष्काशन गरिने राष्ट्र बैंकले जनाएको छ । १०० रुपैयाँ दरका सिक्का क्याप्रिनिकल धातुको हुने छ भने १००० रुपैयाँ दरको चाँदीको हुने छ । सिक्कामा घण्टाघर र त्रिचन्द्र क्याम्पसको विल्डिङको प्रतिमा हुने छ । सिक्कामा निष्काशन भएको मिति २०७४ पनि उल्लेख हुने छ ।
अन्य,
स्वावलम्बन लघुवित्त विकास बैंक लि.को १७ औं वार्षिकोत्सव एक समारोह विच काठमाडौंमा सम्पन्न भयो ।
जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडको सातौँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भयो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिकामा बसोबास गर्ने मुसहर जातीका विपन्न निसहाय व्यक्तिहरुलाई कम्बल वितरण गर्यो ।
एनआईसी एशिया बैंकले शिवसताक्षी नगरपालिका वडा नं. ०८, झापा स्थित झिलझिले शाखाको विधिवत् रुपमा उद्घाटन गर्यो ।
ग्लोबल आइएमई बैंकले आफ्नो ११औ वार्षिकोत्सवको अवसरमा पर्वत जिल्लाको कुस्मामा रहेको शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन तथा फरक क्षमता भएका विद्यार्थीहरुलाई ज्याकेट वितरण गर्यो ।
सनराइज बैंक लिमिटेडले आफ्नो २०औँ शाखारहित बैंकिङ्ग सेवा गोदावरीको छम्पीमा शुरू गर्यो ।
लण्डनको ख्यातिप्राप्त रेमिट कम्पनी सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिट्यान्स सेवा सुरु भयो ।
राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भयो ।
बुम रेमिट्यान्स प्रा. लि. ले २०७४ साल भाद्र २८ गतेबाट संचालन गरेको बुम रेमिट बम्पर उपहार लालप्रसाद भुषालले पाए ।
ग्लोबल आइएमई बैंक लिमिटेडल पुस ३० गते (आइतबार) बाग्लुङ्ग जिल्लाको बुर्तिवाङ्गमा रहेको शाखाको औपचारिक उद्घाटन गर्यो ।