बैंकिङ खबर । मुलुकको वर्तमान आर्थिक गतिविधि सही दिशामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको आर्थिक तथा वित्तीय स्थितीको विवरण सार्वजनिक गर्दै राष्ट्र बैंकले मुलुकको समग्र आर्थिक अवस्था सकारात्मक दिशातर्फ नै गइरहेको बताएको हो ।
कृषि उत्पादनले आर्थिक वृद्धिको गति निर्धारण गर्ने
उद्योगको क्षमता उपयोगमा भएको विस्तार, कच्चा पदार्थको आयातमा भएको वृद्धि, पर्यटक आगमनमा सुधार र पुनरनिर्माण कार्यले लिएको गतिले मुलुकको सुधारान्मुख गतिलाई इंगित गर्ने राष्ट्र बैंकको तर्क छ । कृषि उत्पादन मुलतः मनसुनमा निर्भर रहँदै आएको छ । कृषि विकास मन्त्रालयको प्रारम्भिक प्रतिवेदन अनुसार पर्याप्त वर्षाका कारण मकैको उत्पादनमा उल्लेख्य वृद्धि भएको छ भने बाढीले भूक्षेत्र कटान गरेका कारण धानको उत्पादनमा केही ह्रास आएको छ । हिउँदे वर्षामा निर्भर रहने हिउँदे वाली उत्पादनको परिदृष्य अझै स्पष्ट भईसकेको छैन । यसकारण चालू आर्थिक वर्षको आर्थिक वृद्धिको गति कृषिक्षेत्रको उत्पादनले निर्धारण गर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
मुद्रास्फीतिमा चाप
पछिल्ला महिनाहरुमा उपभोक्ता मुद्रास्फीतिमा केही चाप पर्न थालेको छ । २०७३ मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८ प्रतिशत रहेकोमा २०७४ मंसिर महिनामा ४.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको तुलनामा समग्र मुद्रास्फीति केही बढ्नुमा खाद्य तथा पेय पदार्थ समुहको प्रमुख भूमिका रहेको छ । हालसालै पेट्रोलियम पदार्थ र निर्माण समाग्रीको मुल्यमा भएको वृद्धिले आगामी दिनमा मुद्रास्फीतिमा थप दबाब पर्न सक्ने जोखिम रहेको राष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा जनाएको छ । तथापि, वार्षिक औसत मुद्रास्फीति दर प्रक्षेपित सीमा भित्रै रहने अपेक्षा गरिएको छ ।
समग्र वित्तीय अवस्था सामान्य
आन्तरिक वित्तीय बजारको अवस्था केही कसिलो रहनुका साथै ब्याजदरमा केही अस्वाभाविक प्रवृत्ति देखिए तापनि समग्र वित्तीय अवस्था सामान्य नै रहेको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने कर्जा÷निक्षेप तथा पुँजी अनुपात सम्बन्धमा नेपाल राष्ट्र बैंकको स्पष्ट अडान र खुला बजार कारोवार तथा ब्याजदर करिडोर मार्फत् सक्रिय रुपले तरलता प्रवाह गरिएकोले ब्याजदरमा स्थायित्व देखिन थालेको छ । वित्तीय स्थायित्वको अंकुशको रुपमा रहेको कर्जा÷निक्षेप तथा पुँजी अनुपातको सम्बन्धमा नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीतिले कर्जा जोखिम नियन्त्रण गर्नुका साथै कर्जा र निक्षेप वृद्धिबीच सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । केही सीमित बैंकहरुमा तरलता असहजता देखिए तापनि समग्र वित्तीय प्रणालीमा तरलताको अवस्था सुविधाजनक रहेको राष्ट्र बैंकले जनाएको छ । आगामी दिनमा सरकारी खर्चमा हुने वृद्धिसँगै समग्र वित्तीय बजारको अवस्था थप सहज हुँदै जाने विश्वास केन्द्रीय बैंकको छ ।
विप्रेषण घट्दा शोधनान्तर घाटामा
आर्थिक वर्ष २०७४/७५ को पहिलो पाँच महिनामा मुलुकको समग्र शोधनान्तर नौ अर्ब २७ करोड रुपैयाँले घाटामा गएको तथ्यांक छ । आयातमा उच्च वृद्धि र वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा कमी आई चालू खाता घाटा ४१ अर्ब ९५ करोड रुपैयाँ पुगेकोले समग्र शोधनान्तर घाटामा गएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.८ प्रतिशतले ह्रास भई रु. २८५ अर्ब ४८ करोडमा सीमित भएको छ । यद्यपि, देशको वैदेशिक मुद्रा संचिती सुविधाजनक अवस्थामा रहेकाले वाह्य क्षेत्र स्थायित्व सबल अवस्थामै रहेको राष्ट्र बैंकको भनाई छ ।