निर्धन उत्थान बैंक लिमिटेड कोहलपुर शाखाबाट संचालित स्वतन्त्रनगर “ग” महिला स्वावलम्वी समूह, कोहलपुर–३ की सदस्य चन्द्रा लामिछानेको जन्म सुर्खेत जिल्ला माटाखानी गा.वि.स.–३ मा २०३६ असोज २० गते भएको हो । पहाडमा जन्मिएर १८ वर्ष कै कलिलो उमेरमा वैवाहिक वन्धनमा बाँधिएकी थिईन् । बिहे भएको एक वर्षपछि नै १ सन्तान की आमा बनिन् । परिवारमा आर्थिक अभाव बढदै गएपछि तराई झर्ने निधो भयो । वि.सं. २०५८ सालमा स्वतन्त्रनगरमा आएपछि २ जना छोराहरु जन्मिए । उनका श्रीमानले अनुभव नभएको गाडी ब्यवसायमा लाग्दा सबै सम्पत्ति स्वाहा भयो । सबै सम्पत्ति स्वाहा भएपछि चन्द्राका श्रीमान रोजगारीका खातिर भारततिर लागे । गाउँमा दुई चार हजार कसैले नपत्याउने भएपछि जीवन झनै कष्टकर हुँदै गयो ।
समृद्धिको कारण बन्यो २० हजार कर्जा
त्यसै बेला वि.सं. २०६४ सालमा निर्धन उत्थान बैंकका कर्मचारी समूह गठनका लागि गाउँमा प्रवेश गरे । उनी पनि समूहमा आवद्ध भई केही गर्ने ईच्छाका कारण समूहमा बस्ने निधो गरिन् । उनी २०६४ असोज २२ गते निर्धन उत्थान बैंकको समूहमा आवद्ध भईन् । उनले बाल्यकालमा भैंसीपालन गरेकोले भैंसीपालन गर्ने ईच्छाले गर्दा उनले पहिलो कर्जा रु. २० हजार लिईन् । यही कर्जा नै उनको जीवनको लागि अमूल्य औजार बन्यो । भैसी खरिद गरी दुध विक्री गर्न थालिन् । उनले लिएको कर्जाको पूर्ण सदुपयोग गरेको देखी सबैले थप हौसला दिए । त्यसपछि उनमा आत्मविश्वास अझै बलियो बन्दै गयो । श्रीमानलाई भारतबाट घर फिर्ता बोलाईन् तर उनका श्रीमानले सुरुमा खासै चासो दिएनन् । वि.सं. २०६८ सालमा जब निर्धन उत्थान बैंकबाट कर्जा लिई रु. ६४ हजारमा एउटा भैंसी खरिद गरिन् । त्यस भैंसीले दिनमा १८ लिटरसम्म दुध दिन थाल्यो । दुध विक्रीबाट राम्रो आम्दानी भएपछि उनका श्रीमान पनि भैंसीपालनमा आर्कर्षित भएपछि उनी हर्षित भईन् ।
सामाजिक प्रतिष्ठा बढ्दा दंग
बैंकबाट सल्लाह, सुझाव, परामर्श लिँदै गईन् । २०७२।०१।३१ गते पशु सेवा कार्यालय बाँकेमा भैंसीपालन ब्यवसाय दर्ता गरिन् । २०७२ मंसिरमा साढे नौ धुर धितो राखी लघुउद्यम कर्जा रु. ३ लाख र पुष महिनामा रु. १ लाख ४० हजार बिना धितो परियोजना कर्जा लिई भैसी थप गरिन् । प्यानमा समेत दर्ता गरिन् । एउटा भैंसीबाट सुरु गरेको भैंसीपालन ब्यवसायमा अहिले साना ठूला गरी १७ वटा भैंसी पाडापाडी रहेका छन् । दैनिक प्रति लिटर ७० रुपैयाँका दरले ४० लिटर दुध विक्री गर्छिन् । हाल घरबाटै ७० रुपैयाँ प्रति लिटरमा २० लिटर जति र बजारमा २० लिटर दुध विक्री गर्दै आएकी छिन् । दुई चार हजार नपत्याउनेहरुका माझ अहिले उनी त्यही गाउँमा एउटा उदाहरण भएकोमा खुसि छिन् । उनी भन्छिन् – “स्थानीय विद्यालय ब्यवस्थापन समितिमा समेत सदस्य भएको छु । समाजमा प्रतिष्ठा बढ्दै गएको छ । भैंसीपालनले गर्दा श्रीमान तथा सबै परिवार सँगसँगै बस्न पाएको छु । छोराहरुलाई शिक्षा दिएकी छु । निर्धन उत्थान बैंकबाट पाएको आर्थिक सहयोग, स्नेह, सल्लाह, सुझाव, परामर्शले मेरो ब्यक्तिगत, पारिवारिक जीवनमा ठूलो योगदान पुर्याएको छ । आज निर्धन उत्थान बैंक की सदस्य भई एक उद्यमी भएकोमा गर्व गर्दछु ।”