January 14th, 2018

२० हजार कर्जाले फेरिएको गिता परियारको जीवन

गिता परियार २०३८ पौष १४ गते पर्सा जिल्लाको सुवर्णपुर–१ मा जन्मेकी थिईन् । गिताको १५ वर्षमा सखुवा प्रसौनी–७ रामभौरीमा विवाह भएको थियो । गिता परियारको जन्म एक सामान्य परिवारमा भएको थियो । माइतीको आर्थिक स्थिति नाजुक थियो । १५ वर्षको उमेरमा एक हात नचल्ने अपाङ्गसँग वैवाहिक बन्धनमा बाँधिएकी थिईन् । श्रीमानको दाहिने हात असक्त भई कमजोर भएकोले एउटा हातको मात्र सहाराले दैनिक कारोवार गर्ने भएकोले गाउँघरमा सरसापट पाउन गाह्रो थियो उनलाई । चौधरी गाउँमा उनको एक्लो दलित परिवारको सानो खरको सानो झुपडी थियो ।

२० हजार कर्जा लिएर उद्यम
श्रीमान सामान्य लेखपढ गर्न सक्ने, सीप नभएकोले आर्थिक अवस्था कमजोर भई आफनो लालाबाला भोकभोकै सुताउन वाध्य हुन्थिन् । सीप, जाँगर भए पनि सरसापट दिने कोही थिएनन् । त्यसैबेला २०६९ सालमा निर्धन उत्थान बैंक लिमिटेड शाखा कार्यालय बिरुवागुठीमा स्थापना भयो । उनी पनि गाउँका १५ जना दिदीबहिनीहरुसँग मिलेर रामभौरी महिला समाजमा सदस्यको रुपमा आवद्ध भईन् । २०७० सालमा रु. २० हजार पहिलो कर्जा लिई विरगंजबाट अगरबत्ती बनाउने कच्चा पद्धार्थ ल्याई अगरबत्ती बनाई गाउँघरमा बेच विखन गर्दागर्दै अगरबत्तीको प्रचार प्रसार पनि हुँदै गयो । यस बैकबाट उनले रु. ५० हजार, रु. ७० हजार, रु. ८० हजार कर्जा लिई अगरबत्ती उद्योग मै लगानी गरिन् । हाल उनीसँग २ लाख बराबरको अगरबत्ती छ । अगरबत्तीका लागि कच्चा पदार्थ गोदाम रहेको छ । 

१० जनालाई रोजगारी
हाल उनले सुपारी, सुकमेल, मरिचका धुलोको प्याकेट तयार गरी बजारमा विक्री गर्छिन् । ५ देखि १० जनासम्म स्थानीय कामदारहरुलाई रोजगारी दिएकीछिन् । विना धितोमा रु. २ लाखसम्म धितो कर्जा लिई उद्योग विस्तार गर्ने विचार रहेको बताउँछिन् । हाल आफनै नाउँमा उद्योग दर्ता गरी थरिथरिका ब्राण्डको अगरबत्ती उत्पादन गरी स्थानीय बजारमा विक्री गर्दै आएकी छिन् । घरैबाटै १० देखि १५ हजारको अगरबत्ती दैनिक विक्री गर्छिन् । मासिक रु. ३० हजारभन्दा बढी नाफा हुने गरेको बताउँछिन् । भविष्यमा बारा, पर्सा लगायत नेपालभरि नै आफनो अगरबत्ती पुर्याउने लक्ष्य रहेको बताउँछिन् । 

अगरबत्ती उद्योगको आम्दानीबाट ५ कठ्ठा जग्गा जोडेकीछिन् । काठको घर पनि बनाएकी छिन् । छोरीलाई पोखराको महँगोे बोडिङ स्कूलमा पढाईरहेकी छिन् । छोरालाई स्थानीय बोडिङ स्कूलमा पढाएकी छिन् । उनी भन्छिन्– “सुरुमा सामान विक्री हुँदैन कि भनेर डर लाग्थ्यो । कर्जाको सही सदुपयोग गरेको खण्डमा पैसाले पैसा तान्छ भनेको सत्य रहेछ । अहिले गाउँमा सबैले विश्वास गर्छन् । श्रीमानबाट निरन्तर सहयोग पाएकी छु । पहिले कोहीसँग बोल्नु पर्दा डराउने हडबडाउने हुन्थ्यो, अहिले निर्धक्कसँग बोल्न सक्दछु । बैंकको कर्जाले मेरो जीवनमा परिवर्तन ल्याएको छ ।”