April 28th, 2016

बैंकमा कर्जा माग बढयो

moneyबैँक तथा वित्तीय क्षेत्रका सरोकारवालाहरुले बैंकिङ क्षेत्रमा रहेको अधिक तरलता घट्दै गएको बताएका छन् । उनीहरुले भूकम्प र भारतीय नाकाबन्दीका कारण प्रभावित बनेको बैंक तथा वित्तीय क्षेत्रको कर्जा प्रवाह बढ्नुका साथै निक्षेपको ब्याजदर बिस्तारै उकालो लागेकाले सुधारको संकेत देखिएको बताए । नेपाल राष्ट्र बैंकको ६१ औँ स्थापना दिवशको अवसरमा बैंक तथा वित्तीय क्षेत्रका विभिन्न व्यक्तिहरुले यस्तो बताएका हुन् । 

नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जिबी नेपालले विस्तारै बैंक तथा वित्तीय क्षेत्रको अधिक तरलता व्यवस्थापन हुँदै गएको बताए । उनले भने ‘०७२ साउनदेखि ०७३ वैशाखसम्म पटकपटक गरी ४ खर्ब ७२ अर्ब १५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको छ, एक वर्षमा केही वाणिज्य बैंकहरूलाई ५ अर्ब १३ करोड रुपैयाँ स्थायी तरलता सुविधा उपलब्ध गराइएको छ ।’ उनले भारतीय नाकाबन्दीपछि आपूर्ति व्यवस्था सहज हुनुका साथै, बैंक तथा वित्तीय संस्थामा कर्जा माग बढेको बताए । गभर्नर डाक्टर नेपालले नेपाल–भारत सीमा नाकामा चलेको आन्दोलनका कारण प्रभावित खुम्चिएको अर्थतन्त्र नाकाबन्दी खुलेपछि चयालमान देखिएको दाबी गरे । मुलुकको असहज परिस्थितिका कारण यो वर्ष आर्थिक वृद्धिदरमा संकुचनको सम्भावना देखिएको उनले बताए । यद्यपि बढ्दो बिप्रेषण आप्रवाह र घट्दो आयातका कारण अहिले बाह्य क्षेत्रको स्थिति सुदृढ रहेको उनको दाबी थियो । उनले सन्तोषजनक बाह्य क्षेत्र स्थितिको सदुपयोग गर्दै पुनर्निर्माणलगायत सरकारको समग्र पुँजीगत खर्चको बढोत्तरीमार्फत आर्थिक वृद्धिलाई उकास्ने अवसर सरकारले पाएको समेत बताए । पछिल्ला महिनाहरूमा उपभोक्ता मूल्य वृद्धिदरमा सुधार भएको दाबी गर्दै गभर्नर डाक्टर नेपालले यसअघि नाकाबन्दीका कारण आपूर्ति व्यवस्थामा अवरोध भएपछि मूल्य वृद्धिमा दबाब परे पनि अहिले बिस्तारै सहज हुँदै आएको बताए । उनले उच्च गरिबी रहेका १० जिल्ला तथा गरिबीको गहनता तुलनात्मक रूपमा बढी भएका तराईका ८ जिल्लाका नागरिकको आयमूलक क्रियाकलापलाई प्रोत्साहित गर्न १ प्रतिशत ब्याजदरमा विशेष कर्जा सुविधा उपलब्ध गराइएको जानकारी समेत दिए ।

यसैबिच, नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले भूकम्पले थलिएको अवस्थाबाट पनि नेपाली बैंक तथा वित्तीय क्षेत्र सुधारोन्मुख हुँदै गएको दाबी गरे । भूकम्प, तराई आन्दोलन र भारतीय नाकाबन्दीबाट मुलुकको अर्थतन्त्र थलिएको भएपनि बैंक तथा वित्तीय क्षेत्रमार्फत त्यसको निकास देखिन थालेको बताए । उनले केही महिनायता बैंक तथा वित्तीय क्षेत्रमा प्रशस्त सुधारका संकेत देखिएको बताए । ‘हाल बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह बढ्नुका साथै निक्षेपको ब्याजदर बिस्तारै उकालो लाग्नु अर्थतन्त्रमै सुधारको संकेत हो ।’ उनले भने ।