पछिल्लो समय बैँक तथा वित्तीय क्षेत्रको प्रमुख समस्याको रुपमा रहेको अधिक तरलता व्यवस्थापन हुने संकेत देखिएको छ । एक बैंकले अर्को बैंकसँग गर्ने अन्तरबैंक कारोबारको ब्याजदर बढ्न थालेसँगै तरलता व्यवस्थापन हुने देखिएको हो । १ प्रतिशतभन्दा निकै तल झरेको ब्याजदर बैशाखसम्ममा ५ प्रतिशतभन्दा माथि पुगेको बैंकरहरूले बताएका छन् । गत फाल्गुन महिनादेखि यस्तो व्याजदर सुधारको गतिमा देखिएको हो ।
वाणिज्य बैंकहरूले एक–आपसमा कारोबार गर्दा ०.४२ प्रतिशतसम्म ब्याजदर कायम भएको छ । माघमा बैंकहरूले ०.२२ प्रतिशतको ब्याजदरमा कारोबार गरेका थिए । चालू आवको पाँच महिनालाई तुलना गर्दा फागुनको अन्तरबैंक ब्याजदर दोस्रो उच्च हो । वाणिज्य बैंकहरूले मंसिरमा ०.८६ प्रतिशत (पाँच महिनाकै उच्च) ब्याजदरमा ८६ अर्ब २ करोड रुपैयाँ अन्तरबैंक कारोबार गरेका थिए । चालू आवको आठ महिनासम्ममा अन्तरबैंक तथा वित्तीय संस्थाबीच ०.९८ प्रतिशत ब्याजदरमा ६ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ । गत आवको फागुनसम्ममा ४.०४ प्रतिशत ब्याजरमा २३ अर्ब १ करोड रुपैयाँ कारोबार गरेका थिए । तर, अन्तरबैंक तथा वित्तीय संस्था कारोबार दर फागुनमा सबैभन्दा कम हो, यसअघि यो दर १ प्रतिशतमाथि थियो । अन्तरबैंक कारोबार तथा ब्याजदरमा आएको यो सुधारले अर्थिक क्रियाकलाप बढेको संकेत गर्छ ।
वित्तिय संस्थाको लगानीगत सुधार
फागुनसम्मको तथ्यांकलाई हेर्दा वित्तीय संस्थाको लगानी पनि बढेको छ । फागुनसम्ममा वाणिज्य बैंकहरूले मात्र ७५ अर्ब २६ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । यो रकम माघको तुलनामा दोब्बर हो । माघ मसान्तसम्ममा बैंकहरूले ३७ अर्ब ५७ करोड रुपैयाँमात्र अन्तरबैंक कारोबार गरेका थिए ।
चालू आर्थिक वर्षको आठ महिनामा अन्तरबैंक कारोबार गत आवको सोही अवधिको तुलनामा १३ अर्बले धेरै छ । गत आवको फागुनसम्मको ब्याजदर १.८ प्रतिशत थियो ।
वाणिज्य बैंकहरूबीचको कारोबार रकम बढे पनि वाणिज्य बैंक र विकास बैंक, वाणिज्य बैंक र फाइनान्स कम्पनी, विकास बैंक र विकास बैंक, विकास बैंक र फाइनान्स तथा फाइनान्स कम्पनी र फाइनान्स कम्पनीबीचको अन्तरवित्तीय संस्थाको कारोबार भने घटेको छ । अन्तरवित्तीय संस्थाबीचको कारोबार रकमसँगै ब्याजदर पनि घटेर ०.९८ प्रतिशतमा झरेको छ ।
यसअघि, अधिक तरलताकै कारण अन्तरबैंक कारोबार निकै कम हुने गरेको थियो । वित्तीय संस्थासँगै पर्याप्त तरलता भएपछि उनीहरूले अन्तरबैंक कारोबार कम गर्नुपरेको थियो । त्यसकारण अन्तरबैंक कारोबारको ब्याजदर पनि निकै न्यून थियो । अन्तरबैंक कारोबारको ब्याजदरमा आएको यो सुधारले वित्तीय संस्थाको मुद्दति निक्षेप तथा बचत खातामा समेत व्याजदर बढ्ने विज्ञहरुले बताएका छन् ।