April 23rd, 2016

विदेशी विनिमय सञ्चिती २२.२ प्रतिशतले बढ्यो

mudra-bankचालू आर्थिक वर्षमा कुल विदेशी विनिमय सञ्चिति २२.२ प्रतिशतले बढेको छ । २०७२ असार मसान्तमा ८ खर्ब २४ अर्ब ६ करोड रुपैँया रहेको विदेशी विनिमय सञ्चिती २०७२ फागुन मसान्तमा १० खर्ब ६ अर्ब ६८ करोड रुपैँया पुगेको हो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७२ असार मसान्तको तुलनामा २०७२ फागुन मसान्तमा २३.८ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ६७ करोड रुपैँया पुगेको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरु (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति १२.४ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब १ करोड रुपैँया पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २१.२ प्रतिशत रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ । 

सञ्चिति पर्याप्तता सूचकहरु 
आर्थिक वर्ष २०७२÷७३ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १८.८ महिनाको वस्तु आयात र १५.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपातहरु क्रमशः ४७.४ प्रतिशत, १३१.७ प्रतिशत र ४९.० प्रतिशत रहेका छन् । २०७२ असार मसान्तमा यस्ता अनुपातहरु क्रमशः ३८.८ प्रतिशत, ९३.३ प्रतिशत र ४३.९ प्रतिशत रहेका थिए । 

विदेशी मुद्रा सञ्चय बढाउन सुझाव
यता, निकासी व्यापार अभिवृद्धि गर्न तथा विदेशी मुद्रा सञ्चय बढाउन आउँदो बजेटमा निकासी आयलाई करमुक्त गर्नुपर्ने सुझाव यस क्षेत्रका उद्योगी व्यवसायीले दिएका छन् । आउँदो बजेटमा मूल्य अभिवृद्धि कर (भ्याट)लाई परिमार्जन गरी व्यावहारिक रुपमा बहुदर कर प्रणाली लागू गर्नुपर्ने, आयकर छुटको सीमा परिमार्जन गरी बसोबास क्षेत्र र खर्च क्षमताअनुसार गर्नुपर्ने, अग्रीम आयकर कट्टी १५ प्रतिशतबाट १० प्रतिशतमा झार्नुपर्ने तथा दैनिक उपभोग्य वस्तु, कृषि उत्पादन, भौतिक पूर्वाधार र विलासिताका वस्तुमा क्रमशः शून्य, एक, चार र दश प्रतिशत भ्याट कायम गर्नुपर्ने सुझाव उनीहरुले दिएका छन् ।