Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

साताभर चर्चामा रहेका बैँकिङ गतिविधिहरु

२०७३ बैशाख १० गते

Womans finger on stack of coinsहरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ गतिविधिहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तिय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । विशेषतः भारतीय मुद्राको अभावका कारण सीमावर्ती क्षेत्रमा ठगी कार्यले प्रश्रेय पाएको कुराले यस साता अधिक चर्चा पायो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

भारतीय मुद्रा अभाव
नेपाल राष्ट्र बैँकले भारततर्फ पलायन भइरहेको पुँजी रोक्नका लागि भारतीय रुपैँयाको सटही सुविधा नियन्त्रण गर्न वाणिज्य बैँकहरुलाई निर्देशन दिएपछि त्यसको प्रत्यक्ष असर सीमावर्ती क्षेत्रमा देखियो । भारतीय मुद्राको अभावका कारण रक्सौलका व्यापारीबाट कयौँ नेपालीहरु ठगिए । 

मन्दिरको भेटी बैँकसम्म पुग्यो
विवादका कारण गत मंसिरदेखि पाथिभरा मन्दिरमा संकलन भएको भेटी बैँकमा जम्मा नगरिँदा कुहिने अवस्थामा पुगेको थियो । यसै सातादेखि सो रकम बैँकमा जम्मा हुन थाल्यो । 

मर्जर तथा एकीकृत कारोबार
टुरिजम बैँकले कालिञ्चोक डेभलपमेन्ट बैँक किन्ने भएको छ । किनबेचसम्बन्धि सम्झौतामा बुधबार हस्ताक्षर भएको छ । त्यस्तै, गरिमा विकास बैँकसँग सुभेक्षा विकास बैँक गाभिने भएपछि विहिबारबाट दुबैको शेयर कारोबार बन्द भएको छ । आगामी असार मसान्तबाट एकीकृत कारोबार सुरु हुने जनाइएको छ । मेगा बैँकले पश्चिमाञ्चल डेभलपमेन्ट बैँकलाई गाभ्ने प्रकृया पनि १५ महिनापछि टुंगोमा पुगेको छ । आगामी वैशाख १३ गतेदेखि मेगा बैँकको रुपमा एकीकृत कारोबार थालिने निर्णय भएको छ । 

सम्झौता
यसै साता, कर्जा सुरक्षण विभाग र नेपाल राष्ट्र बैँकबिच सुचना आदानप्रदानसम्बन्धि सम्झौता भयो । त्यस्तै, कुमारी बैँक र आइपे रिलायवल रेमिट्यान्स प्रालीबिच रेमिट्यान्स कारोबारमा आपसी सहकार्य गर्ने विषयमा सम्झौता भयो ।  

नयाँ बैँकिङ प्रविधि
आधुनिक बैंकिङलाई भित्र्याउने क्रममा एभरेष्ट बैंकले भारतबाट मोबाइलमार्फत रकम पठाउन सकिने सेवा नेपालमै पहिलोपटक सुरु गर्यो । त्यस्तै, साताको विहिबारदेखि नविल बैँकले नेपालमै पहिलो पटक स्मार्ट बैँक, शेयर लोन र शेयर एकाउन्ट गरी तीन वटा बैँकिङ प्रविधि प्रयोगमा ल्यायो । 

शेयर
आइतबारदेखि नेपाल इन्भेष्टमेन्ट बैंकको एफपीओ नपरेको पैसा फिर्ता गर्न सुरु गरियो । गत ७ गतेदेखि सनराइज बैँकले संस्थापक समुहबाट ३४ कित्ता र साधारण समूहबाट २ लाख १८ हजार ४ सय ५४ कित्ता हकप्रद शेयर बोलकबोलका लागि शिलबन्दी बोलपत्र खुला गर्यो । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनिहरुको धितो सुरक्षामा सुलभता ल्याउनको लागि पोखरा फाइनान्सले शेयर कर्जा योजना सार्वजनिक गर्यो । 

शाखा विस्तार तथा स्थानान्तरण
साताको बुधबारदेखि ग्लोबल आइएमई बैँकले भारतको नयाँ दिल्लीमा सम्पर्क कार्यलयको सुरुवात गर्यो । जसपश्चात्, हालसम्म अष्ट्रेलियामा मात्र सम्पर्क कार्यालय रहेको बैँक नेपालबाहिरका दुई वटा देशमा सम्पर्क कार्यालय भएको पहिलो बैँक बन्यो ।

गभर्नर डा. नेपाल स्वदेश फिर्ता
गत चैत्र २६ गते अमेरिका प्रस्थान गरेका गभर्नर डा. चिरञ्जिवी नेपाल साताको मंगलबार स्वदेश फर्किए । अमेरिकाको वासिङ्टन डीसीमा सम्पन्न स्प्रिङ मिटिङ २०१६ मा सहभागीता जनाएर उनी स्वदेश फर्केका हुन् ।

वार्षिकोत्सव
साताको तेस्रो दिन अर्थात् मंगलबार सिटिजन्स बैँक इन्टरनेशनल लिमिटेडले आफ्नो नौँवौ वर्ष पूरा गरि दशौँ वर्षमा पाइला टेक्यो । बैँकले विभिन्न आर्थिक सहयोगका कार्यक्रमहरु सहित भव्यताका साथ वार्षिकोत्सव मनायो ।