April 21st, 2016

ओरालो लाग्दै उपभोक्ता मुद्रास्फीति, थोक भने स्थिर 

economicक्रमिक रुपमा सुधारोन्मुख रहेको उपभोक्ता मुद्रास्फीति २०७२ पुस महिनाको उच्च विन्दु १२.१ प्रतिशतबाट २०७२ फागुनमा १०.२ प्रतिशतमा झरेको छ । दक्षिणी सीमाका भन्सार नाकाहरुको अवरोध सहज हुँदै गएबाट इन्धन लगायत उपभोग्य वस्तुहरुको आपूर्ति सामान्यीकरण हुँदै गएकोले २०७२ पुसदेखि उपभोक्ता मुद्रास्फीति ओरालो लाग्ने क्रममा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ । राष्ट्र बैँकका अनुसार, वार्षिक विन्दुगत आधारमा २०७२ फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्क वृद्धिदर १०.३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क वृद्धिदर १०.२ प्रतिशत रहेको छ । समीक्षा अवधिमा दलहन तथा गेडागुडीको मूल्य ३१.६ प्रतिशत र घ्यू तथा तेलको मूल्य १८.८ प्रतिशतले बढेको छ । त्यसैगरी, मसला र लत्ता कपडा तथा जुत्ताको मूल्यमा क्रमशः १६.६ प्रतिशत र १५.३ प्रतिशतले वृद्धि भएको छ । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा काठमाडौं उपत्यकामा उपभोक्ता मुद्रास्फीति १२.७ प्रतिशत, पहाडमा १०.४ प्रतिशत, तराईमा ८.६ प्रतिशत र हिमालमा ८.५ प्रतिशत रहेकोछ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर काठमाडौं उपत्यका र पहाड दुबैमा ७.१ प्रतिशत र तराईमा ६.९ प्रतिशत रहेको थियो । 

आर्थिक वर्ष २०७२/७३ को फागुन महिनामा भारतको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८ प्रतिशत रहेको तुलनामा नेपालको १०.२ प्रतिशत रहेको छ । समीक्षा अवधिमा यी दुई मुलुक बीचको उपभोक्ता मुद्रास्फीति अन्तर ५.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ७ प्रतिशत र ५.३ प्रतिशत रहेकोले दुई मुलुक बीचको उपभोक्ता मुद्रास्फीति अन्तर १.७ प्रतिशत रहेको थियो । २०७२ बैशाखमा गएको विनाशकारी भूकम्पको अन्तराल प्रभाव, तराईको आन्दोलन र दक्षिणका व्यापार नाकाहरुमा विगत केही महिना अघिसम्म रहेको अवरोधका कारण नेपाल र भारत बीच मुद्रास्फीतिदरको अन्तरमा वृद्धि हुन गएको हो । 

थोक मुद्रास्फीति स्थिर
आर्थिक वर्ष २०७२/७३ को फागुन महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीतिदर ५.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो मुद्रास्फीति ५.५ प्रतिशत नै रहेको थियो । समीक्षा अवधिमा थोक मूल्य अन्तर्गत कृषिजन्य वस्तुहरुको मूल्य सूचकाङ्क ९.१ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरुको मूल्य सूचकाङ्क ६.३ प्रतिशतले वृद्धि भएको छ भने आयातीत वस्तुहरुको मूल्य सूचकाङ्क २.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरुको मूल्य सूचकाङ्क ८.४ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरुको मूल्य सूचकाङ्क ६ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुहरुको मूल्य सूचकाङ्क ०.८ प्रतिशतले घटेको थियो । 

बढ्यो राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क 
समीक्षा अवधिमा वार्षिक विन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ४.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ६.८ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा ०.८ प्रतिशत र ज्यालादर सूचकाङ्कमा ५.५ प्रतिशतले वृद्धि भएको छ । तलब अन्तर्गत बैंक तथा वित्तीय संस्था, शिक्षा र सार्वजनिक संस्थान उप–समूहहरुको तलब सूचकाङ्क क्रमशः २.३ प्रतिशत, १.५ प्रतिशत र ०.७ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, ज्यालादर अन्तर्गत निर्माण मजदुर, कृषि मजदुर र औद्योगिक मजदुरको ज्यालादर सूचकाङ्क क्रमशः १०.२ प्रतिशत, ५.६ प्रतिशत र ३.६ प्रतिशतले वृद्धि भएको छ ।