गत चैत्र २६ गते अमेरिकाको भ्रमणमा गएका नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जिवी नेपालले भ्रमणका क्रममा विभिन्न देशका अन्र्तराष्ट्रिय बैंकर्ससँग भेट गरे ।अन्तर्राष्ट्रिय बैंकका प्रमुखहरुसँगको भेटका क्रममा उनले नेपाली बैंकको अवस्था, वित्तीय साक्षरताको वहसलाई अघि सारेका थिए । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैँकको संयुक्त आयोजना रहेको २०१६ स्प्रिङ मिटिङमा सहभागी हुन अमेरिका पुगेका गर्भनर डा.नेपालले विदेशी बैंकिङ सम्बन्धको विषयमा जानकारी गराउँदै नेपाली बैंकिङ क्षेत्रमा विदेशी बैंकर्सले गरेको सहयोगलाई उच्च सम्मान प्रकट गरेका थिए ।
अमेरिकामा रहेर डा. नेपालले नेपालको वित्तीय अवस्थाबारे अन्र्तराष्ट्रिय बैँकर्ससँग छलफल गरे । साथै, त्यहाँ रहेर उनले अमेरिका लगायत विभिन्न समृद्ध मुलुकको बैँकिङ प्रणालीको बारेमा अध्ययन गरी नेपालको बैँक तथा वित्तिय क्षेत्रलाई पनि अन्तराष्ट्रिय स्तरमा विस्तार गर्न पहल समेत गरेको भ्रमण टोलीमा सहभागी नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।
आई.एम.एफका कार्यकारी निर्देशक मर्जुमिसन ओमरसँग नेपालको बैंकिङ प्रणाली र वित्तीय साक्षरताको विषयमा गभर्नर डाक्टर नेपालले जानकारी गराएका छन् । नेपालजस्तो विकासोन्मुख मुलुकको आर्थिक विकासका लागि विदेशी सहयोग अत्यन्तै आवश्यक रहेको औल्याउँदै गर्भनर नेपालले वित्तीय क्षेत्रमा प्रविधि भित्र्याउनको लागि सहयोग अपेक्षा गरेका बताए । त्यस्तै उनले आई.एम.एफका डेपुटी म्यानेजर मिथुसिरा फुरासावासँग भुकम्पको बेला आइएमएफले दिएको कर्जा अत्यन्तै प्रभावकारी भएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए । उनले भविष्यमा पनि आइएमएफबाट सहयोगको अपेक्षा गर्न सकिने प्रष्ट पारेका छन् । नेपाल राष्ट्र बैंकलाई पनि प्रविधि क्षेत्रमा आइएमएफले गरेको सहयोगको उनले खुलेर प्रशंसा गरेका थिए । विभिन्न देशका १ सय ८० जना पदाधिकारीहरु सम्मिलित उक्त बैठकमा आइएमएफलाई कसरी विश्वव्यापी बनाउने भन्ने विषयमा पनि छलफल भएको थियो ।
गभर्नर डाक्टर नेपाल हिँजो (मंगलबार) स्वदेश फर्किएका हुन् । सम्मेलन अप्रिल १२ देखि १७ अर्थात् चैत्र ३० देखि वैशाख ५ गतेसम्म अमेरिकाको राजधानी वासिङटन डिसीमा सम्पन्न भएको थियो । सम्मेलनमा हजारौँ सरकारी अधिकारीहरु, पत्रकार, नागरिक समाज संगठनहरुका प्रतिनिधि र विभिन्न नीजिस्तर संघ संस्थाका अधिकारीहरुको सहभागिता रहेको थियो । सम्मेलन विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय विकास र विश्व वित्तिय बजारको विषयमा केन्द्रित थियो ।