आजभोली नेपाल राष्ट्र बैंकमा मर्जरको लागि निवेदन लिएर जाने बैंक तथा वित्तिय संस्थाहरुको संख्या बढ्दो छ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिअनुसार पुँजी बृद्धि गर्नै पर्ने बाध्यता आएपछि बैंक तथा वित्तिय संस्थाहरुले मर्जरको प्रक्रियालाई तिव्रता दिएका हुन् । राष्ट्र बैंककाअनुसार गएको आर्थिक वर्ष ०७१÷०७२ मा २० वटा बैंक तथा वित्तीय संस्थाले मर्जरको लागि राष्ट्र बैंकमा निवेदन दिएका थिए । तर चालु आर्थिक वर्षको ९ महिना पनि बित्न नपाउँदै गत आर्थिक वर्षकोभन्दा दोब्बरले मर्जरका लागि निवेदन दिएका छन् । त्यस्तै गत साउनयता ४६ वटा बैंक तथा वित्तीय संस्थाले मर्जरमा जान राष्ट्र बैंकमा निवेदन दिएका छन् । जसमध्ये माछापुच्छ्रे बैंक र जनता बैंकको मर्ज प्रक्रिया तोडिएसँगै अब मर्ज हुने संस्थाको संख्या ४४ छ । बैंक तथा वित्तीय संस्था थुप्रै भए पनि पुँजीको अभावमा लगानी बढाउन नसकेको भन्दै राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेको थियो । चालु आर्थिक वर्षको चैत ५ गते सम्ममा २६ वटा बैंक तथा वित्तीय संस्थाले मर्जरमा जानको लागि सैद्धान्तिक सहमति पाएका छन् । यस्तै १२ वटा बैंक तथा वित्तीय संस्थाले सैद्धान्तिक सहमतिको माग गर्दै राष्ट्र बैंकमा निवेदन पेश गरेका छन् भने ८ वटा बैंक तथा वित्तीय संस्थाले एक्वीजिसनको लागि निबेदन पेश गरेको नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकमा उल्लेख छ ।
गत असोज १२ गते प्रभु बैंक र ग्रान्ड बैंक गाभिएर प्रभु बैंक बनेको थियो । ०७२ कात्तिक २४ गते सिटि डेभलपमेन्ट बैंक र ओम फाइनान्स गाभिएर ओम डेभलपमेन्ट बैंक बनेको थियो । त्यस्तै, गोर्खा विकास बैंक र काठमाण्डु फाइनान्स एक आपसमा गाभिएर गोर्खाज फाइनान्स बनेको छ भने कामना डेभलपमेन्ट बैंक र कास्की फाइनान्स मिसिएर कास्की डेभलपमेन्ट बैंक बनेको छ । ०७२ सालमै कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्स मिसिएर कैलाश विकास बैंक भएको छ । त्यस्तै एनसीसी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र कुमारी बैंक मर्ज भएर एनसीसी बैंक बनेको छ भने, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र एभरेष्ट फाइनान्स मिलेर श्री फाइनान्स बनेको छ । सिद्धार्थ बैंक र विजनेश युनिभर्सल बैंक पनि गाभिएर सिद्धार्थ बैंक बनेको छ । ज्योती विकास बैंक, हाम्रो विकास बैंक र झिम्रुक विकास बैंक एक आपसमा गाभिएर ज्योती विकास बैंक बन्यो । त्यस्तै भिबोर विकास बैंक र सोसाइटि डेभलपमेन्ट बैंक मिलेर भिबोर सोसाइटि डेभलपमेन्ट बैंक बनेको छ । बैंक अफ काठमाण्डु र लुम्बीनी बैंक गाभिएर बैंक अफ काठमाण्डु लुम्बीनी बन्यो भने सिभील बैंक र इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स मिलेर सिभिल बैंक बनेको छ । त्यस्तै, मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स र सिद्धार्थ फाइनान्स एक आपसमा गाभिएर महालक्ष्मी विकास बैंकमा परिणत भएको छ ।
यसरी २०७२ साउन देखि अहिलेसम्म मर्जरको लागि निवेदन दिने बैंक तथा वित्तीय संस्था ३८ पुगेको छ । अहिले ७३ वटाको संख्यामा रहेका विकास बैंकहरु साउन सम्ममा २५ देखि ३० वटासम्म हुनेछन् । बैंक तथा वित्तिय संस्थाहरुको संख्या घटेसंगै बैंकहरुको चुक्ता पुँजी वृद्धि भई लगानी क्षमता बढ्ने अनुमान पनि गरिएको छ ।