April 13th, 2016

१३ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैँक : कसरी गर्ने खरिद ? (विवरणसहित)

rastra bankनेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैँकले विकास ऋणपत्र २०८५ जारी गर्ने भएको छ । १२ वर्ष अवधिको “विकास ऋणपत्र २०८५” बोलकबोल प्रक्रियाद्वारा निष्कासन गरिने राष्ट्र बैँकले जनाएको छ । नेपाल राष्ट्र बैँक, राष्ट्र ऋण व्यवस्थापन विभागले वैशाख २ गते अपरान्ह ३ बजे १३ अर्ब रुपैँयाको ऋणपत्र बोलकबोल गर्दैछ । बोलकबोल पेश गरेपश्चात् बैशाख ५ गते ऋणपत्र निष्काशन गरिने राष्ट्र ऋण व्यवस्थापन विभागले जनाएको छ । ऋणपत्र खरिद गर्नका लागि बैँकले बैँक तथा वित्तिय संस्था, गैर बैँक तथा वित्तिय संस्था, विमा कम्पनि, संगठित संस्था तथा इच्छुक नेपाली नागरिकलाई आह्वान गरेको छ ।

राष्ट्र बैँकद्धारा जारी सूचनाका अनुसार इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने छन् । राष्ट्र बैँकले प्रतिस्पर्धी बोलवालालाई निष्काशित रकमको ८० प्रतिशत अर्थात् १० अर्ब ४० करोड र अप्रतिस्पर्धी बोलवालाहरुलाई २० प्रतिशत अर्थात् २ अर्ब ६० करोड रकम छुट्याएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने छ । बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको कट अफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो ब्याजदर र सो ब्याजदरभन्दा मुनीका सबै बोलवालाहरुलाई ऋणपत्र उपलब्ध गराईने राष्ट्र बैँकले जनाएको छ । 

ऋणपत्र बोलकबोलको सीमा
राष्ट्र बैँकले जनाएअनुसार, घटिमा पचास हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा ऋणपत्र खरिद गर्न सकिनेछ । यो ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यस बैंकबाट इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् । प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडी दुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ । ईच्छुक बोलवालाले बहु–ब्याजदरमा समेत बोल गर्न सक्नेछन् । अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकममात्र उल्लेख गर्नु पर्नेछ । प्रतिस्पर्धी बोलकबोलवाट निर्धारित एकल ब्याजदरमा अप्रतिस्पर्धी बोलवालालाई उक्त ऋणपत्र बिक्रि गरिनेछ । 

कसरी गर्ने ऋणपत्र बोलकबोल ? 
नेपाल राष्ट्र बैंकमा खाता नभएका बोलवालाहरुले आफूले खरिद गर्न चाहेको रकमको २.५० प्रतिशतले हुने अर्नेष्टमनि वापतको रकम यस बैंकमा रहेको खाता नं. १२०००००/०१५–११५–५२४ मा जम्मा गरेको सक्कल भौचर यस विभागमा २०७३ वैशाख २ गते दिनको ३ः०० बजेभित्र पेश गर्नु पर्नेछ । नेपाल राष्ट्र बैंकमा खाता भएका बोलवालाहरुले उक्त अर्नेष्टमनी वापतको रकम आ–आफ्नो खातामा मौज्दात कायम गर्नु पर्नेछ । व्यक्ति बोलवाला भएको खण्डमा अर्नेष्टमनी जम्मा गरेको सक्कल भौचर र नागरिकता प्रमाणपत्रको छविचित्र साथमा लिई यस विभागमा आई अनलाइन बिल्डिङ सिस्टममार्पmत बोलकबोल गर्नु पर्नेछ । 

आवश्यक रकम समयमै दाखिला नभए ?
यस बैंकमा खाता हुने सफल बोलवालाहरुले पनि आवश्यक रकम उपरोक्त समयभित्र यस बैंकस्थित आ–आप्mनो खातामा मौज्दात कायम गर्नु पर्नेछ । उक्त समयभित्र आवश्यक रकम दाखिला नगरेमा अर्नेष्टमनी वापतको रकम जफत हुनेछ । अस्वीकृत बोलवालाहरुको अर्नेष्टमनी वापतको रकम यस सम्बन्धी निर्णय भएको मितिले ७ दिनभित्र बिना ब्याज फिर्ता हुनेछ । प्राप्त बोल आंशिक वा पूर्ण रुपमा स्वीकृत गर्ने वा नगर्ने अधिकार यस बैंकको खुला बजार संचालन समितिलाई हुनेछ । यस ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड मार्फत मात्र हुनेछ ।

ऋणपत्र खरिदकर्ताले अर्धवार्षिक रुपमा व्याज पाउने छन् भने आर्जित व्याजमा व्याजकर लाग्ने बताइएको छ । ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने जनाइएको छ । खरिदकर्ताले २०८५ वैशाख ५ गतेभित्र सावाँ भुक्तानी गरिसक्नुपर्नेछ । धितोको रुपमा ऋणपत्र राखेर कर्जा लिन र दिन सकिने जनाइएको छ ।