बाणिज्य बैंकमा सिइओका लागि एक नम्बरमा सिफारिस गरिएका कर्मचारी सञ्चय कोषका मुख्य प्रशासक कृष्णप्रसाद आचार्यले अब एक महिना मात्र संचय कोषमा जागिर खाने बताएका छन् । तत्कालीन सरकारद्धारा २०६९ फागुनमा पाँच वर्षे कार्यकालका लागि नियुक्त गरिएका आचार्यले १५ महिनाअघि नै राजीनामा दिएका हुन् । ‘जागिर छाड्न एक महिनाअघि जानकारी गराएर राजीनामा गर्नुपर्ने करार सम्झौता अनुसार अब एक महिना यहाँ (कर्मचारी संचय कोष) मा बस्छु ।’ मंगलबार बैंकिङ खबरसंग कुरा गर्दै आचार्यले भने, ‘मलाई सिइओ हुन नपाएको दुःख लागेको छैन । बरु मेरो बारेमा अलि गलत सुचनाहरु बाहिर आए त्यो सुनेर चाहिँ दुःख लागेको छ ।’
आचार्यको भनाई जस्ताको त्यस्तै
“सिइओ हुन नपाएकोमा मलाई दुख लागेको छैन । बरु भर्खरै सिइओ हुनुभएका किरणजीलाई मैले बधाई दिएँ । मैले कर्मचारी संचय कोषबाट सिइओ हुन नपाएर राजीनामा दिएको हैन । मैले पहिलेदेखि नै यो समयमा राजीनामा गर्ने सोच बनाएको थिए । अहिले संयोगमात्र यस्तो परेको हो । जागिर छाड्न एक महिनाअघि जानकारी गराएर राजीनामा गर्नुपर्ने करार सम्झौता अनुसार अब एक महिना यहाँ (कर्मचारी संचय कोष) मा बस्छु । मेरो वित्तिय क्षेत्रमै अनुभव भएकाले जागिर छाडेपछि म त्यही क्षेत्रमा केही गर्ने विचार छ ।”
कृष्ण प्रसाद आचार्य, मुख्य प्रशासक कर्मचारी संचय कोष
वाणिज्य बैंकको सीइओ बन्न १५ जना प्रतिस्पर्धीलाई उछिन्दै आचार्य उच्च अंकका साथ पहिलो नम्बरमा परेका थिए । तर, अर्थमन्त्री विष्णु पौडेलले बैकल्पिक उम्मेद्धारका रुपमा रहेका किरण श्रेष्ठलाई बैंकको सीइओ बनाउन आचार्यको राजिनामा स्वीकृत नगर्ने संकेत गरेपछि आचार्यले गत शुक्रबार राजीनामा दिएका थिए ।
एमालेको गुटबन्दीमा पिसिए आचार्य
उनले राजनीति चलखेलको बारे केही बताउन चाहेनन् । तर उनी प्रत्यक्ष रुपमा एमालेभित्रको गुटबन्दीको शिकार बनेका छन् । आचार्य उद्योगमन्त्री सोमप्रसाद पाण्डेका ज्वाईँ हुन् । एमाले पार्टीभित्र दुई खेमा छ । नेता माधव नेपाल र अध्यक्ष केपी शर्मा वली खेमा । त्यही खेमाअन्तर्गत अर्थमन्त्री पौडेल ओली खेमाका मानिन्छन् । उद्योगमन्त्री पाण्डे नेपाल खेमाका हुन् । अर्थमन्त्री पौडेलको समर्थन पाएका बैंकल्पिक दाबेदार श्रेष्ठ सिइओ सहजै भने भने नेपाल पक्षका पाण्डेका ज्वाई भने अग्रपंक्तिमा भएर पनि सिइओ बन्न पाएनन् ।
ज्वाईको नियुक्ति हुन नसकेकोबारे के भन्छन् उद्योगमन्त्री पाण्डे ?
सोमप्रसाद पाण्डे, सांसद नेकपा एमाले एवम उद्योग मन्त्री
आचार्यले शुक्रबार दिएको राजीनामा सोमबार अर्थमन्त्रालय ‘फरवार्ड’ भइसकेको बुझिएको छ । बैकल्पिक दाबेदारका रुपमा रहेका किरण श्रेष्ठले भने सोमबारबाटै पदभार ग्रहण गरिसकेका छन् । पदभार ग्रहण गरेकै दिन उनले बाणिज्य बैंकलाई एक वर्षभित्र एक नम्बरको बैंक बनाउने घोषणा समेत गरेका छन् ।