April 9th, 2016

अर्थमन्त्रीले किन गरे आचार्यको राजीनामा अस्वीकार ? 

krishna aacharyaआफुले बुझाएको राजीनामा पत्र स्वीकृत भएपछि बाणिज्य बैंकको सिइओ बन्नेमा ढुक्क थिए कर्मचारी सञ्चय कोषका कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्य । आचार्य बैंकको सिइओका लागि अग्रपंक्तिमा पनि छानिएका थिए । तर उनी बहालवाला कर्मचारी भएकाले सिइओ हुन उनले सम्हालिरहेको कार्यकारी पदबाट राजीनामा दिनुपर्ने हुन्थ्यो । त्यसका लागि उनले अर्थ मन्त्रालयमा राजीनामा लैजान्थे । अर्थमन्त्रीले राजीनामा स्वीकृतिका लागि मन्त्रीपरिषद बैठकमा लैजान्थे र स्वीकृति भएपछि आचार्य सिइओ पक्का बन्थे । तर त्यसो भएन । बिहिबार राजीनामा पत्र बुझाउन मन्त्रालय पुगेका आचार्यलाई अर्थमन्त्री विष्णु पौडेलले घुमाउरो पारामा सिइओ पदको आकांक्षा छाड्न उल्टै आग्रह गरे । अर्थमन्त्री पौडेललाई उदृत गर्दै स्रोतले भन्यो, ‘तपाई अहिले कर्मचारी प्रशासकबाट राजीनामा दिने कुरा नगर्नुस् । मैले त्यहाँ अझै तपाईबाट सुधारका कार्यक्रमहरु अपेक्षा गरेको छु । तपाईजत्तिको व्यक्तिले त्यहाँको नेतृत्व छाड्ने मैले अपेक्षा गरेको छैन ।’ सिइओ बन्ने दौडमा रहेका आचार्यले लगेको राजीनामा अर्थमन्त्रीले अस्वीकार गरिदिएपछि अब बाणिज्य बैंकको सिइओ दोश्रो नम्बरका किरण श्रेष्ठ बन्ने पक्का पक्कीजस्तै भएको छ ।

किन गरे अर्थमन्त्रीले आचार्यको राजीनामा अस्वीकृत 
किरण श्रेष्ठ नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी हुन् । उनी अर्थमन्त्रीका निकै विश्वासिला पात्र मानिन्छन् । ‘अर्थमन्त्रीले श्रेष्ठको ठाउँमा अरु भएको भए आचार्यलाई राजीनामा दिन सक्थे’ स्रोतले भन्यो, ‘तर श्रेष्ठ भएकाले आचार्य रोकिए ।’ छनोट समितिले सिइओको प्रत्यासीहरुसँग बिजनेस प्लान र अन्तर्वातालगायतका परीक्षा लिइसकेको र पहिलो चरणमा पाँचजनाको र दोस्रो चरणमा आचार्य र श्रेष्ठको मात्रै नाम सिफारिस गरेको थियो ।
परीक्षामा आचार्यको भन्दा श्रेष्ठको अंक निकै कम भएपछि बैंकको नयाँ सीइओका लागि आचार्यलाई मुख्य दाबेदार र श्रेष्ठलाई त्यसपछिको दाबेदारका रुपमा सिफारिस गरिएको थियो । तर, अर्थमन्त्री पौडेलले आचार्यको संभावना बलियो भएको थाहा पाएपछि त्यसमा चित्त बुुझाएका थिएनन् । त्यसैले बैंकको सञ्चालक समितिले दुई महिनाभन्दा बढी समय नियुक्त प्रक्रिया नै अघि बढाएन । अर्थमन्त्री पौडेल श्रेष्ठलाई सिइओ बनाउन इच्छुक भएकाले श्रेष्ठभन्दा बढि अंक ल्याएका आचार्यको राजीनामा अस्वीकृत भएको स्रोतको दाबी छ ।