April 6th, 2016

सरकारी बैँकको सीईओ नियुक्तिमा लापरबाही, एकैपटक कसरी आए दुई नाम ?

kiran krishnaछनोट समितीबाट सिईओका लागि कृष्णप्रसाद आचार्य र किरण श्रेष्ठको नाम प्रस्तावित भइसक्दा पनि राष्ट्रिय वाणिज्य बैँकको सीईओ नियुक्ति प्रकृया अलमलमै छ । पहिलो उम्मेदवारका रुपमा रहेका सञ्चय कोषका प्रशाशक कृष्णप्रसाद आचार्यलाई सीईओका लागि सञ्चालक समितीले सिफारिस गरेको छ भने वैकल्पिक उम्मेदवारका रुपमा रहेका कृष्ण श्रेष्ठलाई सीईओ नियुक्त गर्न सरकारको दबाब छ । यता समितीले उनलाई वैकल्पिक उम्मेदवारमा सिफारिस गरिसकेकाले आचार्यले नियुक्ति नलिएको खण्डमा मात्रै श्रेष्ठको नियुक्ति सम्भव छ । यसका लागि समितिले कर्मचारी सञ्चय कोषका प्रशासक कृष्ण आचार्यलाई शुक्रबारसम्म सञ्चय कोषबाट राजीनामा स्विकृति पत्र ल्याउन आग्रह गरेको छ । शुक्रबारसम्म आचार्यको राजीनामा पास नभए किरण श्रेष्ठलाई सीईओमा नियुक्त गरिने बैंक सञ्चालक समितिका सचिव टिकाराज जोसीले बैंकिङ खबर डटकमलाई जानकारी दिए । उनका अनुसार शुक्रबारसम्म बैंकले नयाँ सिईओ पाउने छ । “राजीनामा स्वीकृत भएको पत्र मन्त्रिपरिषद्ले दिएमा आचार्य सीईओ बन्नेछन् यदी पत्र नदिएमा वैकल्पिक उम्मेदवारमा रहेका श्रेष्ठ सीईओ नियुक्त हुनेछन्”, जोसीले भने, “आचार्य प्रशासकबाट राजीनामा दिएर सीईओ बन्ने दौडमा छन् ।” 

कहाँ भयो अन्यौल ?
गत आइतबार बसेको सञ्चालक समितीको बैठकलाई कर्मचारीहरुले घेराउ गरि सीईओ नियुक्तिमा दबाब दिएका थिए । साँझ ५ बजेदेखि बसेको बैठक राती १२ बजेसम्म पनि सकिएन । मध्यरातमा सीईओ नियुक्ति प्रकृया सुरु त गरियो तर टुंगो लाग्न सकेन । बैठकमा सिफारिश दुई नामलाई लिएर सञ्चालक समितिमा दुई धार देखिए । एउटा पक्ष आचार्यलाई नियुक्ति दिने पक्षमा थियो भने अर्को पक्षले आचार्य कर्मचारी सञ्चय कोषको पनि प्रशासक भएकाले श्रेष्ठलाई दिनुपर्ने अडान छोडेन ।    सोही वादविवादलाई टुंगोमा पुर्याउन आचार्यले शुक्रवारसम्म कोषको प्रशासकबाट दिएको राजिनामा स्वीकृत भएको पत्रसहित राष्ट्रिय बाणिज्य बैंकको सिईयो नियुक्ति लिनुपर्ने सर्त अघि सारियो । यद्यपि, उनी नियुक्ति पत्र लिन सक्ने अवस्थामा नभएको बताइन्छ । सञ्चय कोषबाट राजिनामा दिएर पनि यता नियुक्ति नहुने स्थितीमा आचार्य रहेको टिप्पणी गरिन्छ । 

बैंकको प्रमुख कार्यकारीपदका लागि आवेदन दिएका १६ उम्मेदवारमध्ये ५ जनालाई छनोट समितिले अन्तिम छनोटमा पारेको थियो । अन्तिम पाँचमा बैंकका निवर्तमान कार्यकारी प्रमुख कृष्णप्रसाद शर्मा, बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थी, कृषि विकास बैंकका नायब महाप्रबन्धक अनिल उपाध्याय, कर्मचारी सञ्चय कोषका प्रशासक कृष्ण आचार्य र नेपाल बैंकका पूर्वनायब महाप्रबन्धक किरण श्रेष्ठ परेका थिए । तत्कालीन प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले चारवर्षे कार्यकाल पूरा गरेपछि बैंकमा पुस २० गतेबाट सिइओ पद रिक्त थियो । 

राष्ट्रिय वाणिज्य बैंक करिव ४ महिनादेखि सिईओ विहिन छ । सिईओ नहुँदा बैंकमा व्यवस्थापनका कामकारवाहिरु रोकिएका छन् । नयाँ सिईओ नियुक्ति पश्चात रोकिएका कामहरु सुचारुतर्फ उन्मुख हुनेछन् ।