नेपालको जनसंख्या र भौगोलिक बनावटलाई आधार मान्ने हो भने यहाँ यति धेरै बैंकहरुको आवश्यकता देखिँदैन । व्यवस्थित बैंकिङ सेवा प्रवाह गर्ने हो भने थोरै बैँकहरु नै काफी हुने विज्ञहरु बताउँछन् । तर बैंकहरुको संख्या बढ्दै जादा सेवा सुविधाको दायरा फराकिलो हुन सकेको छैन । खासगरी बैंकहरु बढी शहर केन्द्रित भएका कारण गाउँका मानिसहरु बैंकिङ पहुँचबाट टाढा छन् । यसैबिच, वर्तमान बैंकिङ पद्धतिको सेरोफेरोमा केन्द्रित रहेर कृषि विकास बैंकका कार्यकारी अधिकृत लिला प्रकाश सिटौलासँग बैँकिङ खबर डट कमका लागि सहकर्मी शिवहरि घिमिरेले गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छ :
बैँक धेरै, सेवा न्युन
नेपालमा बैंकहरुको संख्या थोरै भएर बैकिङ पहुँच वृद्धि नभएको होइन । मुलुकको आर्थिक अवस्था र जनसंख्याको बनोटलाई हेर्दा नेपालमा यति धेरै बैंकहरुको आवश्यकता नै छैन । तर यति धेरै बैंकहरु विस्तार हुँदा पनि ६० प्रतिशत मानिसहरु बैंकिङ सेवाबाट बञ्चित भएका छन् । यसलाई विडम्बना नै मान्नुपर्छ । पिछडिएको तथा भौगोलिक विकटताको क्षेत्रमा बैंकहरुको उपस्थिति अत्यन्तै न्यून छ । संख्यात्मक हिसाबले बैंकहरु बढी भएतापनि ती बैंकहरुले सिमित स्थानमा मात्र सेवा प्रवाह गरेका छन् । केहि बैंकले शाखारहित बैंकिङ सेवा भनेर गाउँमा पनि सेवा प्रवाह गरेको छन् । गाउँ गाउँमा साना साना ग्राहकहरुबाटै ठूलो रकम प्राप्त गर्न सकिन्छ । तर ती क्षेत्रमा आफूलाई उपस्थिति नगराउनु बैंकहरुको कमजोरी हो ।
प्रविधिसँग जोडिएको बैंकिङ कारोबार
अबको बैंकिङ सेवा एउटा घरमा लेजर बुक र टाइप राइटर राखेर चल्नेवाला छैन । प्रविधिले यस क्षेत्रमा ठूलो फड्को मारिसकेको छ । त्यसैले आधुनिक प्रविधिमा बैंकहरु अपडेट भइरहने, विद्युत सेवामा जोड दिने र आइटी क्षेत्रमा पनि उत्तिकै अब्बल हुनुपर्छ । अबको बैंकिङ सेवा अन्तर्राष्ट्रिय स्तरको बैंक सेवा भनेर चिनिन जरुरी छ । आइटी र इन्टरनेटमा कनेक्ट नभएको बैंकिङ सेवा अब चल्न सक्दैन । संसारमा सबैभन्दा जोखिमपूर्ण क्षेत्र भनेको बैंकिङ क्षेत्र हो, जहाँ भरपुर प्रविधिको प्रयोग हुन्छ । हामी सुरक्षाको दृष्टिकोणले औसत तहमा छौँ । नयाँ प्रविधिको प्रयोगको जोखिम पनि छ । त्यसैले प्रविधिलाई प्रयोग गर्दा संयमता पनि अपनाउन जरुरी छ । यसको प्रयोग महङ्गो भएपनि सरल र प्रभावकारी छ । नेपालको सन्दर्भमा प्रविधि भित्र्याउनको लागि कर्मर्सियल बैंकहरुलाई भन्दा सरकारी बैंकहरु पछाडि परेका छन् । त्यस्तै सरकारी बैंकहरुलाई प्रविधिलाई प्रयोगमा ल्याउनको लागि केहि झन्झट पनि छ । सरकारी बैंकहरुले प्रविधिको प्रयोग गर्दा नीतिगत प्रक्रियाहरु पनि पूरा गर्नुपर्ने हुन्छ । एउटा प्रविधि प्रयोगमा ल्याउनको लागि प्रक्रियागत हिसाबले १ बर्ष लाग्छ । त्यसकारण प्राइभेट बैंकहरुको तुलनामा सरकारी बैंकहरु प्रविधि भित्र्याउनमा पछाडि परेका हुन ।
सरकारी बैंक दोहोरो भूमिकामा
कृषि विकास बैंकले सरकारी मापदण्डलाई मनन् गर्दै पारदर्शी सेवा दिँदै आएको छ । नेपालमा प्राइभेट बैंकभन्दा सरकारी बैंकको कार्य गतिविधि केहि फरक होला तर हामीले निजि बैंकहरुले सरह नै प्रवाह गरेका छौँ । त्यसको अत्तिरिक्त सरकारी बैंकहरुको नीति र वार्षिक कार्य तालिका पनि फरक छ । त्यसैले सरकारी बैंकहरुलाई दोहोरो भुमिका निभाउनु परेको छ । विगतलाई हेर्दा कृषि विकास बैंकमा जनशक्ति व्यवस्थापन नभएका कामकाजहरु अवरुद्ध भएका थिए । त्यसले गर्दा बैंकका वार्षिक कार्यतालिका समेत चल्न सकेको थिएन । मेरै प्रयासमा बैंकका रोकिएका सबै कार्यहरु सुचारु भएका छन् । त्यस्तै पुराना कर्मचारीहरु अवकास हुँदासम्म पनि नयाँ कर्मचारीमा पनि ढिलाई भएको थियो, सरुवा र वढुवाका कामहरु रोकिएका थिए । हामीले अहिले ती कामहरुलाई प्राथमिकतामा राख्दै आएका छौँ । विगतमा अल्झिएका सबै कामहरु अहिले सुचारु भएका छन् । पहिला कृषि विकास बैंकले कर्मचारीकै अभावमा चुस्त र दुरुस्त सेवा प्रवाह गर्न सकेको थिएन । हालै मात्र ३ सय कर्मचारीहरुले अवकास लिए । त्यस्तै केहि कर्मचारी कारवाहिमा परेर निस्किएका छन् । खाली रहेकोे पदपुर्ति गर्नको लागि १ सय ७७ जना नयाँ कर्मचारी नियुक्ति भएका छन् । यद्यपी अरु बैंकको तुलनमा कृषि विकास बैंकले प्रभावकारी सेवा नै प्रवाह गरेको छ । धेरै सरकारी बैंकहरु राजनीतिक दबदबामा परेका खबरहरु पनि आएका छन् । तर कृषि विकास बैंकमा युनियनहरुले प्रभावकारी भुमिका खेल्दै आइरहेका छन् ।
नेपालमा केहि बैंकहरु सानो सानो कारोबारबाट आफ्नो दायरा बढाउँदै लगेका छन् । लगानीको दायरा कम भएतापनि उनीहरु आत्मनिर्भर बनिसकेका छन् । त्यसैले उनीहरुको दाजोमा अरु बैंकहरु आत्मनिर्भर र दिगो हुनुपर्छ । बैंकिङ क्षेत्रलाई पारदर्शी बनाउनको लागि सबै बैंकहरुले सरकारी नीति तथा नियमको निर्दिष्ट पालना गर्नुपर्छ । त्यसै अनुरुप कृषि विकास बैंकले आफ्ना गतिविधिहरु नयाँ ढंगवाट सञ्चालन गर्नको लागि आधारशीला पनि तयार पारेको छ । यसको अलवा आगामी दिनमा सामाजिक अभिमुखीकरण र जनअपेक्षालाई आधार मानेर बैंकिङ कार्य सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
स्थिर राजनीतिक व्यवस्थाको खाँचो
पछिल्लो समय बैंकमा पैसा थुप्रिएको छ तर लगानी भएको छैन । यसको मुख्य कारक तत्व अस्थिर राजनीतिक व्यवस्था हो । बर्तमान समयमा हेर्ने हो भने प्रशस्त रेमिट्यान्स आएको छ तर त्यो कुन क्षेत्रमा खर्च भएको छ थाहा छैन । यदी यसलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्ने हो भने देशको आर्थिक विकास असम्भव छैन ।
उत्पादनशील क्षेत्रमा लगानी
कृषि विकास बैंकले ३१ प्रतिशत रकम कृषिमा लगानी गरेको छ । गाउँगाउँमा कृषि गर्न चाहने र व्यवसाय गर्न चाहानेलाई ऋण प्रवाह पनि गर्दै आएको छ । त्यस्तै सरल कृषि कर्जा पनि प्रवाह पनि गर्दै आएका छ । नेपालमा उत्पादनशील क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने बैंक कृषि विकास बैंक हो । अहिले पनि कृषि विकास बैंकमा २ लाख कृषक ऋणीहरु छन् । यसमा अधिंकाश गाउँका किसान र गरिबहरु छन् । कृषि विकास बैंकले ७९ प्रतिशत लगानी उत्पादनशील क्षेत्रमा गरेका छ । शहरको पैसालाई गाउँमा लगानी गर्नु कृषि विकास बैंकको रणनीति हो । सबैंभन्दा कृषि विकास बैंकले घर कर्जा, कृषि कर्जा, गाडि कर्जा, हाइड्रो कर्जा र पर्यटन कर्जा लगायतका कर्जाहरु प्रवाह गर्दै आएको छ ।
देश विकासमा बैँकको भूमिका
बैंक देश विकासको लागि बैंकको भूमिका महत्वपूर्ण हुन्छ । हाम्रो ध्यान तिनै क्षेत्रमा छ जुन क्षेत्रबाट बैंकहरुको विकाससँगै देश पनि विकसित बन्न सक्छ । त्यसको लागि लगानीको क्षेत्र सुरक्षित हुनुपर्छ र बैंकहरुले पनि आफ्ना गतिविधिहरुलाई निर्वाध ढंगबाट अघि बढाउनुपर्छ । त्यस्तै सरकारले पनि बैंकिङ जगतको विकासको लागि सहयोगिको भूमिका निर्वाह गर्नुपर्छ । साथै, स्पष्ट नीति ल्याइदिने हो भने सबै बैंकहरुलाई कारोबार गर्न सहज पनि हुन्छ । बैंकहरुको लगानी सहि क्षेत्रमा हुनुपर्छ । छरिएका श्रोतहरुलाई एकिकृृत गर्ने र स्थानीय उत्पादन क्षेत्रमा बैंकहरुले लगानी हुन जरुरी छ । कृषि विकास बैंक नेपालको बैंकिङ क्षेत्रको विकासको लागि अग्रणी भूमिका खेलेको बैंक हो । सबैं नेपाली जनताका घरघरमा बैंकिङ सेवा प्रवाह गर्नुपर्छ भन्ने मान्यताका साथ कृषि विकास बैंकले कार्य गर्दै आएको छ । वित्तिय साक्षरताको लागि पनि कृषि विकास बैंकले विभिन्न अभियान तथा कार्यक्रमहरु तय गरिसकेको छ । आगमी दिनमा कृषि विकास बैंक सुशासन र संस्कार बोकेको संस्था हो भनेर चिनाउनको लागि प्रयासमा छौँ ।