January 7th, 2017

तरलता अभाव कम गर्न राष्ट्र बैंकको कसरत : आइतबार पुनः १० अर्बको रिपो

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा पुनः १० अर्ब रुपैयाँ तरलता –लगानीयोग्य पुँजी) पठाउने भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएको भन्दै राष्ट्र बैंकले रिपो बोलकबोलमार्फत तरलता पठाउन लागेको हो । राष्ट्र बैंकले १४ दिनका लागि ४.८७०१ प्रतिशत व्याजदरमा आइतबार रिपो जारी गर्न लागेको हो ।

क, ख र ग वर्गका बैंकले रिपोमा बोल गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । घटीमा रु. १ करोड र बढीमा १ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न पाइने बताइएको छ । रिपो बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाहरुले बोल गरेको रकमको ११० प्रतिशत सरकारी सुरक्षणपत्रहरु (ट्रेजरी बिल्स र विकास ऋणपत्र) बोलकबोलको दिन ४ः३० बजेभित्र राष्ट्र बैंकअन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागमा पेश गर्नुपर्ने छ । आह्वान गरिएको रकमभन्दा बढी माग भएमा समानुपातिक रुपमा बाँडफाँट गरिनेछ । रिपो उपकरणको भुक्तानी मितिका दिन निर्धारित साँवा तथा ब्याज रकम सम्बन्धित बैंकको यस बैंकमा रहेको खाता खर्च गरी भुक्तानी लिइने छ । विस्तृत जानकारीका लागि यस विभागको फोन नम्बर ०१–४१०१७३९ मा सम्पर्क गर्न सकिनेछ ।

राष्ट्र बैंकले शुक्रबार पनि २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरी बैंकिङ प्रणालीमा तरलता पठाएको थियो । बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय भएको नाताले बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिइएको छ । त्यसैले, राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा रिपोमार्फत पठाउने र तरलता बढी हुँदा रिभर्स रिपोमार्फत प्रशोचन गर्ने गर्दछ ।

बैंक तथा वित्तीय संस्थामा लामो समयदेखि तरलता अभाव भइरहेको छ । तरलता अभाव कम गर्न बैंकहरुले पनि आफ्नो तर्फबाट पहल गरिरहेका छन् । उनीहरुले निक्षेप संकलन बढ्ने अपेक्षासहित व्याजदर घटाएका छन् ।