January 4th, 2017

सामान्य बढ्यो सेयर बजार : बोनस र हकप्रदमा लगानीकर्ताको आकर्षण बढ्दै

बुधबार सेयर बजार १.३१ अंकले बढेको छ । कारोबार सुरु भएको सवा एक घण्टामा १४४३ अंकसम्ममा झरेको बजार सम्हालिएर १४५८.१३ अंकमा पुगेको हो । बीमा, विकास बैंक र जलविद्युत् समूहले बुधबारको सेयर बजारलाई बढाएका हुन् । यी समूहहरु क्रमशः ८६.४४, ०.४९ र १.२८ अंकले बढेका छन् । बैंकिङ, फाइनान्स र अन्य भने क्रमशः १.१३, ५.१ र २.०३ अंकले घटेका छन् । केही समयदेखि उकालो गतिमा रहेको बजारमा मंगलबार ब्रेक लागेको थियो । 

बजार बढेपनि कारोबार रकम भने गिरावटको क्रममा छ । मंगलबार ३९ करोडको कारोबार भएको बजारमा बुधबार ३२ करोडको मात्रै कारोबार भएको छ । दिनभरिमा १२४ वटा कम्पनीको छ लाख ३२ हजार ५५ कित्ता सेयर दुई हजार आठ सय ५३ पटक खरिदविक्री हुँदा कुल ३२ करोड ४१ लाख ४१ हजार तीन सय ४६ रुपैयाँ पुँजी परिचालन भएको हो । 

बैंकिङ क्षेत्रमा लगानीकर्ताको आकर्षण
बुधबार लगानीकर्ताको धेरै आकर्षण बैंकिङ क्षेत्रमा देखिएको छ भने बीमा कम्पनीहरुमा पनि लगानीकर्ताहरुको राम्रो आकर्षण छ । धेरै कारोबार गर्ने १० कम्पनीहरुको सूचीमा सात वटा वाणिज्य बैंकहरु रहेका छन् भने तीन वटा बीमा कम्पनीहरु रहेका छन् ।
 
कुल कारोबारमध्ये, कुमारी बैंकको तीन करोड ३१ लाख १६ हजार छ सय रुपैयाँको कारोबार भएको छ । कुमारी बैंकको हकप्रद सेयर र बोनस सेयर घोषणाले केही लगानीकर्ता तानेको देखिन्छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड ७६ लाख ९७ हजार सात सय ९५ रुपैयाँको कारोबार भएको छ । एभरेष्ट बैंकको एक करोड ९२ लाख, सिभिल बैंकको एक करोड ७८ लाख, लक्ष्मी बैंकको एक करोड २७ लाख र नेपाल एसबिआई बैंकको एक करोड २० लाखको कारोबार भएको छ । बैंक अफ काठमाण्डू लुम्बिनी र सिद्धार्थ बैंकको पनि एक करोडमाथिको कारोबार भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र शिखर इन्स्योरेन्सको क्रमशः ७३ लाख र ७२ लाखको कारोबार भएको छ । 

कमाउने र गुमाउने कोको ?
कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले बुधबार सबैभन्दा धेरै ९.७६ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । भिबोर सोसाईटी डेभलपमेन्ट बैंकका सेयरधनीले ६.९४ प्रतिशतका दरले कमाएका छन् भने एनबि इन्स्योरेन्सका सेयरधनीले ५.९२ प्रतिशतका दरले कमाएका छन् । सगरमाथा इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, कुमारी बैंक, आईएलएफसीओ माइक्रोफाइनान्स लगायतले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको मिथिला लघुवित्तका सेयरधनीले ९.९८ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । अरुण फाइनान्स र बरुण हाइड्रोपावरका सेयरधनीले क्रमशः ७.५ र ६.९९ प्रतिशतका दरले गुमाएका छन् । मिसन डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, एनएमबि माइक्रोफाइनान्स, मञ्जुश्री फाइनान्स, जानकी फाइनान्स, नेपाल ग्रामीण विकास बैंक, लक्ष्मी लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।