December 30th, 2016

सेयर बजारमा ३२.३३ अंकको गिरावट

साताको अन्तिम दिन विहीबार सेयर बजार ३०.२३ अंकले बढेर बन्द भयो । यो साता कारोबार खुलेको पहिलो दिन अर्थात सोमबार सेयर बजार ४२.८४ अंकले घट्यो भने मंगलबार २५.०४ अंकले घट्यो । लगातारको गरावटबाट हैरान भएका लगानीकर्तालाई बुधबारको सेयर बजारले राहत दियो, जब नेप्से परिसूचकले थोरै भएपनि वृद्धिको मोड लियो । बुधबार बजार ५.६२ अंकले बढ्यो र वृद्धिको क्रम विहीबार पनि जारी रह्यो । गत साता ५४.३५ अंकले घटेर १४७५.७१ अंकमा कायम भएको सेयर बजार यो साता १४४३.३८ अंकमा छ । जसअनुसार, साताभरमा सेयर बजार ३२.३३ अंकले घटेको देखिन्छ ।

सेयर बजारमा पछिल्लो समय देखिएको अनिश्चित गतिका कारण सेयर लगानीकर्ता भने पर्ख र हेरको अवस्था छन्, जसकारण कारोबार रकममा उतारचढाव देखिएको छ । सोमबार ४८ करोडको कारोबार भएको बजारमा मंगलबार परिसूचक घट्दा पनि कारोबार बढ्यो । मंगलबार साढे ५९ करोडको कारोबार भयो । बुधबार बजार बढ्यो तर कारोबार ४६ करोडमा झर्यो । विहीबार पनि बजार बढेपछि ५६ करोड ६४ लाख रुपैयाँभन्दा माथिको कारोबार भयो । समग्रमा यो साता दुई अर्ब १० करोड ४३ लाख २७ हजार पाँच सय ५७ रुपैयाँ पुँजी परिचालन भयो । गत साता दुई अर्ब ८४ करोड ७७ लाख २२ हजार दुई सय तीन रुपैयाँ पुँजी परिचालन भएको थियो । 

केही समयदेखि धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीमा अग्रस्थान जमाइरहेको एभरेष्ट बैंकको यो साता १० करोड ८७ लाख ९१ हजार रुपैयाँभन्दा माथिको कारोबार भयो । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स, बैंक अफ काठमाण्डू लुम्बिनी, सिद्धार्थ बैंक, नेको इन्स्योरेन्स लगायतको राम्रो कारोबार भएको छ । एनबि इन्स्योरेन्सका सेयरधनीले यो साता सबैभन्दा धेरै कमाई गरेका छन् । गुमाउनेमा ललितपूर फाइनान्स, प्रिमियर इन्स्योरेन्स, प्रोग्रेसिभ फाइनान्स लगायत छन् ।

समग्रमा बजार घटेपनि साताको अन्तिम दुई दिनमा देखिएको सुधारले सकारात्मक संकेत गरेको छ । सेयर लगानीकर्ताहरु सेयर बजारको हितको लागि आन्दोलन गरिरहेका छन् । यता नेप्सेले, वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने र ब्रोकरहरुलाई उपत्यकाबाहिर कारोबार गर्न अनुमति दिने प्रक्रिया अघि बढाएको जनाएको छ । यीनै कार्यक्रमको प्रभाव सेयर बजारमा देखिएको छ । 

तीन करोड ४० लाख कित्ता सेयर थपिए
बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन करोड ४० लाख भन्दा बढी कित्ता सेयर सूचिकृत भएका छन् । नौ वटा कम्पनीको गरेर कुल तीन करोड ४० लाख ५९ हजार २८ दशमलव चार कित्ता सेयर नेप्सेमा थपिएका हुन् । युनिक फाइनान्सको तीन लाख ८१ हजार सात सय ७६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । त्यस्तै, एनआईसी एसिया बैंकको एक करोड २० लाख आठ हजार आड सय एक दशमलव ५८ कित्ता बोनस सेयर पनि नेप्सेमा थपिएको छ । यसबाहेक, नेप्सेमा थपिएका बोनस सेयरहरुमा, प्रभु इन्स्योरेन्सको पाँच लाख ५९ हजार चार सय २४ दशमलव ६१ कित्ता, सिटिजन्स बैंकको ७५ लाख छ हजार सात सय ५७ दशमलव ६२ कित्ता, आईसीएफसी फाइनान्सको ११ लाख ६४ हजार नौ सय ८५ दशमलव ११ कित्ता, नेपाल बंगलादेश बैंकको ९७ लाख २५ हजार चार सय ७६ कित्ता र अल्पाइन डेभलपमेन्ट बैंकको दुई लाख ७१ हजार चार सय कित्ता छन् । त्यस्तै, हकप्रद सेयरमा भने गुहेश्वरी मर्चेन्ट बैंकको १४ लाख ४० हजार चार सय सात दशमलव पाँच कित्ता, वोमी माइक्रोफाइनान्सको एक लाख ८० हजार कित्ता र अल्पाइन डेभलपमेन्ट बैंकको आठ लाख २० हजार कित्ता सेयर सूचिकृत भएका छन् ।