बारा जिल्लाको प्रष्टोका गाविस कलैया नगरपालिका भन्दा करीब ४ किलो मिटर पश्चिममा पर्छ । मधेशी बहुल जनसंख्या भएको यस गाउँमा मानिसहरुको मुख्य पेशा हो, खेतीपाती, पशुपालन र दैनिक ज्याला मजदुरी । गाउँमा कतिपय सम्पन्न जमिन्दार पनि छन् तर जनसंख्याको अधिकांश हिस्सा गरीब किसानहरुको रहेको छ ।
जयपति देवी शाहको परिवार यस्तै गरीब किसान मध्ये पर्दछ । चालिस वर्ष अघि चोकट शाहसँग विवाह भएर सो गाउँमा आउँदा जयपति तेह्र वर्ष कि थिइन् र उनका पतिको उमेर सोह्र वर्ष थियो । संयुक्त परिवारमा भित्रिएकी जयपतिको परिवार केही वर्षपछि छुट्टिँदा उनीहरुका भागमा पन्ध्र कठ्ठा जमिन पर्याे । जमिनमा सिंचाईको सुविधा थिएन । त्यसैले प्रतिकठ्ठा करीब २४ किलो धान फल्दथ्यो । वार्षिक झण्डै साढे तीन क्विन्टल धानले खान त पुग्दैन थियो लगाउने जोह त टाढैको कुरा भयो । दुई जना छोरा र तीन जना छोरी बालखै थिए । आफुहरु सहित सात जनाको परिवार पाल्ने चुनौतीका सामु चोकट शाह (जयपति शाहका पति) बेलाबेला निस्सासिन्थे । उनी सम्झन्छन् कैयौ दिन सम्म आधा पेट खाएर कठोर परिश्रम गरेको कुरा । पन्ध्र कठ्ठा जमीन बाहेक उनको सम्पत्ति भनेको एक हल गोरु र एउटा बैलगाडा थियो । एक छाक मकैको रोटीका भरमा चोकट शाह बैलगाडा चलाउँथे । जंगल गएर दाउरा काट्थे र त्यसलाई लादेर वीरगंज बजार पुग्थे । कहिले जमिन्दारहरुका उखु बोक्थे र चिनी कारखाना पुर्याउथे । प्रतिदिन ५/६ रुपैयाँ कमाई हुन्थ्यो त्यो पनि निश्चित भने थिएन ।
यीनका जेठा सन्तान मनोज शाह सात कक्षा सम्मको विद्यालय शिक्षा लिँदा लिँदै पढ्न छाडे । उनलाई लाग्यो पढेर के हुन्छ र ? वास्तवमा भोको पेट लिएर विद्यालय धाएर यता जीवन चलाउन कठिन थियो । गाउँमा पढ्ने वातावरण पनि थिएन । मनोजका उमेरका अरु किशोर पनि सारै पढे लेखेका थिएनन् । उनीहरु स्कुल पढ्नुको साटो खेतीपातीमा लागेका थिए । मनोज शाहले पनि सोचें – ‘बरु बुवालाई सघाउछु, २/४ पैसा कमाई गर्न सके भइ बहिनी हुर्काउन सजिलो हुन्छ ।’ मनोज शाह यसरी पढ्न छाडेर बैलगाडा चलाउन थाले । विस्तारै मनोजले पालो दिएपछि चोकट शाह गाडा चलाउन छाडे र घर नजिकैको चोकमा एउटा फुसको गुम्ती थापेर खुद्रा पसल चलाउन थाले । मनोजका भाईले पनि खासै पढ्न सकेनन् । सामान्य साक्षर भएपछि पढ्न छाडेर उनी पनि खेतीपाती र त्यही खुद्रा पसलमा व्यस्त हुन थाले । जयपति शाहका यी दुई छोराले जति पढें त्यती नै हो, छोरी पढाउनुपर्छ भन्ने उनीहरुलाई कहिल्यै लागेन । किनकी उनीहरुको समुदायमा छोरी पढाउने चलन थिएन ।
छोरी पढाउन हतार गर्नु नपरे पनि विवाह गर्ने हतार भने सुरु भयो । छोरीको विवाह गर्दा जमिन बेच्नु पर्याे । केहि जमिन बेचियो । एउटी छोरीको विवाह गरी सकेपछि जेठा छोराको विवाहको प्रस्ताव आयो । विवाह गर्नुपर्ने थियो गरियो र यसपाली पनि खर्च जुटाउन थप जमिन बेचियो । दुईटा विवाहमा गरेर जयपति शाहको पाँच कठ्ठा जमिन हिँड्यो । अर्थात अब दश कठ्ठा जमिन मात्र बाँकी रह्यो । त्यस पछिका दिन अझ चुर्नातीपूर्ण थिए । आफ्नो भएको थोरै खेत, एउटा खुद्रा पसल र एउटा बैलगाडाबाट सीमित कमाईले जीवन चलाउन सकस हुन्थ्यो । मनोज शाहलाई बेला–बेला सबै थोक छोड्छाड गरेर कतै हिडौं झै लाग्दथ्यो । गाउँमा आय आर्जनका थप बाटा थिएनन् । आय नबढ्दा परिवारको खर्च धान्न गाह्रो थियो । तर गाउँ छाडेर जाने कहाँ ? त्यँहा गएर गर्ने के ? यो पनि निश्चित थिएन । साह्रै दुःखदायी थिए ती दिन । जयपति देवी शाहका जेठा छोरा मनोज शाह भन्छन् – ‘हामी मेहनत गर्न चाहान्थ्यौ तर त्यसो गर्ने ठाउँ थिएनन् ।’
२०५८ सालमा प्रष्टोका गाउँमा एउटा सामान्य चहल पहल सुरु भयो । गाउँका विपन्न महिलाहरुको समुह बनाएर बिना धितो कर्जा वितरण गर्छौ भनेर केही मानिस आए । ती निर्धन उत्थान बैंकका मानिस थिए र यस्तै बेला ती नौला मानिस आएको थाहा पाएर उनको परिवार आशावादी भयो । जयपति देवी शाह समुह कि सदस्य भईन् र बैंकका मानिसले जे सिकाउँदै गए, उनी त्यहिँ केहि कुरा सिक्दै गईन् ।
तालिम अवधि सकिएपछि उनलाई ५ हजार रुपैयाँ कर्जा दिइयोे । चोकट शाहले त्यो पैसा पसलमा लगानी गरे । पूँजीको अभावले सुकेको पसलमा केही चहलपहल थपियो । यस बीचमा एउटा अर्काे राम्रो काम पनि भयो । गाउँमा सिंचाईको सुविधा आयो । प्रति कठ्ठा २४ किलो धान फल्ने खेतको उब्जनी ह्वात्तै बढेर प्रति कठ्ठा दुई क्वीन्टल पुग्यो । वर्षमा मुस्किलले २ सय केजी धान फल्ने खेतबाट बीस क्वीन्टल धान उब्जन थाल्यो । चोकट शाह भन्छन् – "यो त चिठ्ठा परे सरह भयो ।" खेतीपाती फस्टाउन थाल्नु, पसलको आम्दानी बढ्न थाल्नु जस्ता घटनाले भाग्योदयको सुरुवात भएको ठान्ने जयपति देवी शाहले पहिलो वर्षको पाँचहजार रुपैयाँ चुक्ता गरेर निर्धनबाट दोश्रो वर्ष दश हजार रुपैयाँ लिइन । पसलमा सामान थपिए र फुसको झुप्राको साटो टीनले छाएर काठको बेरा भएको गुम्ती बनाइयो । तेश्रो वर्ष पन्ध्र हजार रुपैयाँ पसलमै लगानी गर्न भनेर लिइयो र चिसो पेय समेत थप्ने भनेर फ्रिज पनि किनियो ।
निर्धनबाट लिएको पछिल्लो कर्जा चुक्ता गरेपछि एउटा पम्पिङसेट किन्ने योजना बनाएका शाह परिवारले दुई वर्ष जति पछि भनें ट्रयाक्टर किन्ने विचार गरेका छन् । उनका गाउँमा ट्रयाक्टरले खेत जोते वापत् प्रतिघण्टा ४ सय रुपैयाँ भाडा लिने गरेको छ ।