December 30th, 2016

बीमा कम्पनीको आग्रह : ‘बीमा बुझेको व्यक्तिलाई बीमा समितिमा ल्याउनुपर्छ’

नवराज कुँवर-

बीमा कम्पनीहरुको नियमक बीमा समितिको अध्यक्ष पद अहिले रिक्त छ । सरकारले चाँडै सो पदमा नयाँ व्यक्तिलाई नियुक्त गर्दैछ । त्यसैले पनि सरोकारवालाहरुमा कस्तो व्यक्तिलाई सरकारले नियुक्त गर्ला भन्ने चासो छ । यहि सन्दर्भमा हामीले केहि बीमा कम्पनीका सीईओसँग कस्तो व्यक्ति बीमा कम्पनीमा ल्याइयोस् र अब आउने नेतृत्वले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ भनी सोधेका छौँ ​ । 


अश्विनी कुमार ठाकुर, सीईओ, राष्ट्रिय बीमा संस्थान
नियमनकारी निकाय भएकाले यसमा आउने नेतृत्व नियमन गर्ने क्षमताको हुनुपर्छ । बीमा समितिको नेतृत्वले बीमा कम्पनी र नागरिक दुवैबीचको तादाम्यता कायम राख्ने खालका योजनाहरु बनाउन सक्नुपर्छ । बीमा क्षेत्रलाई नजिकबाट बुझेको व्यक्ति हुनुपर्छ । विश्लेषणात्मक क्षमता भउको व्यक्ति हुनुपर्छ । किनकी बीमा कम्पनीबाट नियमन त हुन्छ साथमा सुपरिवेक्षण र मनिटरिङ पनि गर्न सक्नुपर्छ । अहिलेको अवस्थमा हेर्ने हो भने नियमन भएपनि बीमा समितिबाट सुपरिवेक्षण र मनिटरिङको अवस्था कमजोर छ । यसबारे दक्षता अबको नेतृत्व आवश्यक छ । त्यसैगरी बीमा साक्षरतालाई प्राथमिकतामा राख्ने खालको व्यक्ति हुनुपर्छ । किनभने कुनै पनि व्यवसायको विकास र विस्तारको लागि त्यसको प्रचार र नागरिकमा त्यससम्बन्धी जानकारी अत्यन्तै महत्वपूर्ण मानिन्छ । केही वर्षयता बीमा व्यवसायको विस्तार सकारात्मक नै देखिन्छ । यसलाई अझ बढाउनुपर्छ । यसको लागि नियमनकारी निकायको भुमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । त्यसैले बीमा क्षेत्रलाई गहिरो गरी बुझेको व्यक्ति नै बीमा समितिको अध्यक्ष हुनुपर्छ जस्तो लाग्छ ।
 
सञ्चित बर्जाचार्य, सीईओ, प्रभु इन्स्योरेन्स लिमिटेड
नेपालमा बीमा व्यवसायको व्यवस्थापन, विकास र विस्तार गर्नु बीमा समितिको मुख्य उद्देश्य हो । यसका लागि समितिले बीमा कम्पनीहरुलाई नियमन गर्नुका साथै समयानुकुल नीति निर्माण पनि गर्ने गर्दछ । त्यसैले समितिमा आउने अबको नेतृत्व बीमा क्षेत्रलाई बुझेको र यस क्षेत्रमा भिजेको व्यक्ति हुनु जरुरी छ । यदि बीमा क्षेत्रको विज्ञ समितिमा आउन सकेको खण्डमा यस क्षेत्रका चुनौति हल गर्न र बीमा व्यवसायलाई विस्तार गर्न मद्दत पुग्नेछ । अहिले पनि बीमाको पहुँचमा जति नागरिक छन् त्यो चित्तबुझ्दो छैन । बीमामा नागरिकको पहुँच विस्तार गर्नैपर्दछ । त्यसका लागि बीमा साक्षरताको विकास गर्नुपर्दछ । जुनै क्षेत्र वा व्यवसाय विकास वा विस्तराका लागि उपयुक्त नीति र त्यसको प्रभावकारी कार्यान्वयन सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसैल उपयुक्त नीति निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्ने क्षमता अबको नेतृत्वबाट हामीले अपेक्षा गरेका छौँ । मलाई लाग्छ, सरकारले बीमा क्षेत्रको विज्ञलाई नै समितिको अध्यक्षमा नियुक्त गर्ने भएकाले यस्ता कुराहरु अबको नेतृत्वमा रहनेछ ।


एनपी प्रधान, सीईओ, लुम्बिनी जनरल इन्स्योरेन्स  
बीमा समितमा अबको नेतृत्व भनेको बीमा व्यवसायलाई विस्तार गर्दै समितिलाई हाँक्ने किसिमको आवश्यक छ । स्वभाविक रुपमा अहिले हाम्रो मुलुक संक्रमणकालबाट गुज्रिरहेको छ । यो अवस्थामा कुनै पनि क्षेत्र प्रभावित नहुने कुरै हुँदैन । हाम्रो व्यवसाय पनि प्रभावित भएको छ । यस्तो परिस्थितिका बाबजुत समितिको मुख्य उद्देश्यअनुरुप काम गर्ने क्षमता भएको नेतृत्व आवश्यक छ । कसैको मनमा ठेस नपुगोस्, तर कुनै पनि निकायको नेतृत्वमा आउने व्यक्ति कुनै पनि पार्टी वा आस्थाभन्दा माथि रहेर काम गर्ने खालको हुनुपर्छ । राष्ट्र र राष्ट्रियतालाई प्राथमिकता दिएर काम गर्ने क्षमता राख्नुपर्छ । जो जसको सिफारिसमा आएपनि नागरिकको लागि काम गर्नुपर्छ । बीमा समितिमा अब आउने नेतृत्वले अहिले जुन किसिमले असुद्ध प्रतिष्पर्धा बढीरहेको छ, यसलाई नियन्त्रण गर्न सक्नुपर्दछ । बीमा इन्ड्रष्ट्रिलाई हाँक्ने व्यक्तिको खाँचो छ । बीमा व्यवसायका चुनौतिलाई बुझ्ने, नियमन र सुपरिवेक्षण गर्न सक्ने खुबी भएको नेतृत्व बीमा समितिले पायो भने नेपालमा बीमा व्यवसाय व्यवस्थान, विस्तार र विकासका लागि धेरै समय पर्खिरहनुपर्छ जस्तो लाग्दैन ।

सुद्युम्नाप्रसाद उपाध्याय, सीईओ, प्रिमियर इन्स्योरेन्स कर्पोरेसन,
बीमा क्षेत्रलाई गहिरोसँग बुझेको व्यक्तिलाई ल्याइएन भने समस्या हुन्छ । त्यसैले यस क्षेत्रसँग गहिरो परिचय भएको व्यक्तिलाई ल्याइनुपर्छ । यसो भयो भने बीमा समितिको योजना तथा उद्देश्यहरु पूरा हुन मद्दत पुग्नेछ । जुनै क्षेत्र वा संस्थाको नेतृत्वकर्ताले पनि ध्यान दिनुपर्ने कुरा के हो भने, विगतमा के कति कमजोरी भए र अब त्यसलाई सुधारेर कसरी अघि बढ्ने भन्ने विषयमा स्पष्ट कार्यदिशा बनाउनुपर्दछ । बीमा समितिले नेपालमा बीमा व्यवसायलाई अझै विस्तार गर्ने खालको नीति बनाउनुपर्छ । त्यतिमात्रै होइन यस व्यवसायलाई व्यवस्थित पनि बनाउनुपर्छ । अहिले केही चुनौतिहरु देखिएका छन्, जस्तो बीमा साक्षरता अर्थात यससम्बन्धी चेतना अभिवृद्धिको अभाव, अस्वस्थ प्रतिष्पर्धालगायतका कुराहरु छन् । यी त तात्कालिन चुनौतिहरु भए । दिर्घकालिन रुपमा यस व्यवसायलाई अघि बढाउनका लागि पनि विभिन्न नीति तथा योजनाहरुको निर्माण गर्न सक्षम नेतृत्व आउनुपर्दछ । 

चन्द्र सिंह साउद, बीमा विज्ञ  
नेपालमा बीमा व्यवसाय सुरु भयो लामै समय भईसकेको छ । तर अझै पनि ६÷७ प्रतिशत नागरिकमात्रै बीमाको पहुँचमा देखिन्छन् । त्यसैले बीमाको पहुँच विस्तार गर्न सक्ने योजनासहित बीमा समितिमा अबको नेतृत्व आउनुपर्छ । यो बीचमा पशु तथा बाली बीमा सुरु हुनु सकारात्मक छ । अब यसैलाई विस्तार गर्ने हो भने पनि बीमाको पहुँच केही हदसम्म विस्तार हुन मद्दत पुग्नेछ । अहिलेसम्म बीमा ठूलो कारोबारीको पहुँचमै सीमित देखिएको छ । ग्रामिण क्षेत्रमा बीमा व्यवसाय विस्तारका लागि बीमा समितिले पनि खासै राम्रो भूमिका निर्वाह गर्न सकेको छैन । सरकारको पनि यसमा कमीकमजोरी थुप्रै छन् । त्यसैले अब आउने नेतृत्वले आफ्नो कार्यकालमा ७ प्रतिशतबाट १० प्रतिशत नागरिकमा बीमाको पहुँच विस्तार गर्ने क्षमता राख्नुपर्छ । पशु तथा बाली बीमाको प्रचार गरी ग्रामिण क्षेत्रमा बीमा व्यवसाय विस्तार गर्ने रणनीति तयारी गरी लागू गर्न सक्ने खालको हुनुपर्छ ।