बैंकको शाखा नभएका स्थानमा सरल तथा सहज रूपमा वित्तीय पहुँच पुर्याउनका लागि ल्याइएको एक अवधारणा हो शाखारहित बैंकिङ सेवा । यसअन्तर्गत बैंकको सेवा नपुगेको स्थानमा बैंकका तर्फबाट स्थानीय व्यापारी वा सेवाग्राहीलाई अभिकर्ताका रूपमा सम्झौता गरिन्छ । अभिकर्ताले बैंकले उपलब्ध गराएको मेसिनमार्फत स्थानीयलाई खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, रेमिट्यान्स भुक्तानी र स–सानो ऋण लगानीलगायत सेवा दिन्छन् । राष्ट्र बैंकको निर्देशनअनुसार ‘क’ वर्गका वाणिज्य बैंक र ‘ख’ वर्गका विकास बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न पाउँछन् । तर, हालसम्म वाणिज्य बैंकहरूले मात्र यस्तो सेवा दिइरहेका छन् । बैंक तथा वित्तीय संस्थाले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाबाहेक शाखा नभएका क्षेत्रमा शाखारहित सेवा विस्तार गर्न पाउने व्यवस्था छ ।
यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा अन्य बैंकिङ सेवाको तुलनामा शाखा रहित बैंकिङ सेवा सस्तो र छरितो मानिन्छ । बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक शाखा विस्तार गर्न नसकेको अवस्थामा बैंककै कर्मचारीहरु मार्फत बैंकिङ सेवा प्रवाह गरिरहेका हुन्छन् । यस्तो बैंकिङ सेवा हालै गएको भुकम्पको समयमा गाउँगाउँमा भुक्तानी वितरण गर्नको लागि बढी प्रयोग भएको थियो ।
नेपालमा ५ सय भन्दा बढी शाखारहित बैैंकहरु सञ्चालनमा आएका छन् । यस्तो बैंकिङ सेवाले पिछडिएको, दुर्गम र दुरदराजका मानिसहरुलाई बैंकिङ सेवा प्रवाह गरिरहेको छ । एउटा बैंकले शाखा विस्तार गर्नको लागि करीब ४० लाख रुपैँया भवन निर्माणमा खर्च गर्नुपर्ने हुन्छ तर शाखारहित बैंकिङ सेवा प्रवाह गर्दा भौतिक निर्माणको लागि बैंकहरुको खर्च नलाग्ने भएका कारण यो सेवा बैंकहरुले प्रभावकारी मानेका छन् । नेपालमा एभरेष्ट बैंकले शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको थियो । शाखारहित बैंकिङ सेवामा बैंकहरुले प्रयोगमा ल्याएका सबै सेवा सुविधाहरु दुरुस्तै दिन सकिन्छ । नेपालमा वित्तीय साक्षरता वृद्धि गर्नको लागि शाखारहित बैंकिङ सेवाले महत्वपूर्ण भूमिका खेलेको छ ।