December 27th, 2016

पुँजी बजारमा खतराको संकेत : संयमता आवश्यक

नरेन्द्र चुदाली – नेप्से हालसम्मकै उच्चतम विन्दु १८८१ को पिक पार गरिसकेपछि गत भदौदेखि निरन्तर रुपमा घटिरहेको छ । गत साता पनि लगातार जसो वियरिष्ट ट्रेण्डमा रहेको बजार साताको अन्तिम दिन विहिवार नेपाल टेलिकममा विदेशी रणनैतिक साझेदार आउने समाचारका कारण उक्त कम्पनीको कारोबार मुल्य र रकममा आएको सुधारले समग्र बजार हरियो हुन सहयोग भए पनि कारोबार रकममा आएको निराशाजनक स्थितीले बजार सुधारतर्फ जाने कुरामा विश्वास गरिएको थिएन । नभन्दै सोमबार खुलेको बजारमा ४२ अंकको भीषण गिरावट आई नेप्से १४३२ अकंमा बन्द भयो । ५० करोडको कारोबार भएको बजारमा फ्रि फलको स्थिती देखिएको थियो । लगानीकर्ताले आत्मविश्वास गुमाउँदा उनीहरु घाटामै सेयर बेचेर बजारबाट बाहिरिन चाहेको अनुमान गर्न सकिन्थ्यो ।

वियरिष्ट ट्रेण्ड किन ?

(१)बजारमा तरलताको अभाव    
पछिल्लो समय पुजिगत खर्चमा कमि आए संगै बैकं तथा वित्तिय संस्थामा तरलताको अभाव भएका विवरणहरु आईरहेका छन् । यसबाट ब्याजदरमा बृद्धी भएको छ भने बैकं तथा वित्तीय संस्थाहरुले ओभर ड्राफ्ट र सेयर कर्जामा कटौती गर्नाले त्यसको सीधा असर सेयर बजारमा देखिएको छ।जसकारण यसअघि दैनिक एक अरब माथि कारोबार हुने बजारमा पछिल्लो समय ५० करोडको हाराहारिमा मात्र कारोबार हुने गरेको छ । साथै बजारमा लगानियोग्य पुजिको पनि अभाव देखिनाले बजारमा मन्दी आएको छ ।

(२)हकप्रद र बोनसको असर
राष्ट्रबैकंको पुजि बृद्धी योजना अनुरुप पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले पुँजी बृद्धिको लागि ठुलो परिणममा हकप्रद र बोनस सेयर वितरण गर्नाले त्यसको असर विस्तारै विस्तारै देखिन थालेको छ । हकप्रद र बोनस बाट बजारमा ठुलो मात्रामा सेयरको भोलुम देखिएको छ । जसबाट आपूर्तिमा ब्यापक चाप देखिएको छ भने सोही अनुसारको माग भने देखिएको छैन । माग र आपुर्तीको सन्तुलन नमिल्दा बजार कमजोर देखिएको छ । साथ साथै बैक तथा वित्तिय संस्थाहरुले पुजि बढाएपनि सोही अनुसारको विजनेस नहुँदा पुँजी वृद्धिको अनुपातमा  नाफा बढ्न सकिरहेको छैन । यसले गर्दा, ब्यापक रुपमा कम्पनीहरुको प्रतिसेयर आम्दानी घटिरहेको छ । त्यस्तै पछिल्लो समय एफपिओ र हकप्रद सेयर भर्नको लागि लगानीकर्ताहरुले धमाधम आफ्नो पुरानो सेयर बेचेर स्रोत जुटाउँदै छन् । जसले बजारमा बिक्री चाप देखिएको छ ।

(३)विशिष्ट कारण
भारु नोटमा प्रतिबन्ध, बीमा र लघुवित्त क्षेत्रमा देखिएको अन्यौल, प्राविधिक विश्लेषकहरुले गरेको अनुमान , म्युचुअल फण्डको निस्कृयता, तथा सेयरको बढी आपुर्ती, राजनैतीक अन्यौल र केही ठुला लगानीकर्ताको चलखेल र उनिहरुले छरेको भ्रम तथा लगानीकर्ताको कमजोर आत्मविश्वास, कालोधन छानविनको हल्ला, बैंक तथा वित्तीय संस्थालाई ब्रोकर लाईसन्स दिने कुरामा धितोपत्र बोर्ड, नेप्से तथा सेयर दलालहरुमा रहेको असमझदारी, नजिकिँदो पौष मसान्त, सेयरको सिजनल प्रभाव र पुँजी बृद्धिसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा आएको कमि जस्ता कारणले बजार मन्द गतिमा चलेको अनुमान गर्न सकिन्छ ।

(३)  लगानीकर्तामा परिपक्वताको अभाव
सेयर बजार एउटा त्यस्तो लगानीको क्षेत्र हो, जसमा अन्य लगानीको क्षेत्रभन्दा अत्याधिक जोखिम हुन्छ । सेयर बजारको बढाई र घटाईका केही निश्चित मापदण्ड रहने भए पनि यो क्षेत्रमा कहिले काही यस्तो स्थितीको सिर्जना हुन्छ कि बजारको उतावचढावमा कुनै त्यस्तो न्यायोचित कारण नै भेटिँदैन । यसबाट बजारमा विनाकारण नै गिरावट आई लगानीकर्ताको लगानीमा तिव्र जोखिम पैदा हुन्छ । अहिले यस्तै अवस्थाको सामाना गरिरहेको छ नेपालको पुँजी बजारले । त्यसै पनि एसियाली सेयर बजारको तुलनामा धेरै पछाडी रहेको नेपालको सेयर बजार एकदमै अस्थिर छ । प्राविधिक तथा ब्यवस्थापकीय रुपमा कमजोर रहेको बजारको संरचना र अस्थिर र अल्पकालिन प्रवृत्तिका लगानीकर्ताहरुको मनोविज्ञानले बजार अझै परिपक्व बन्न सकेको छैन । यसको परिणाम बजारमा हल्ला र अफवाहहरुले आतंक मच्चाउँछ । यसै पनि अन्य देशहरुको तुलनामा हाम्रो बजारमा हल्लाले बेसी राज जमाउने गर्दछ । त्यसमाथि अस्थिर लगानीकर्ताहरु रहेको बजारमा चलेका नकारात्मक हल्लालाई लगानकीर्ताले सामना गर्न सक्दैनन् र बजार आतंकित बन्ने गरेको छ । यसकारण नै अहिले  बजार  घटिरहेको छ । यसबाट बजारमा लगानीकर्ताको खर्बौँ रुपैया डुबेको छ । 

तीन महिनामा तीन खर्ब घाटा
बजार घट्दै जाँदा उच्चतम विन्दु १८८१ लाई आधार मान्दा बजार करिव २१ प्रतिशतले घटिसकेको छ । भदौ अघि करिब २० खर्ब माथि रहेको बजार पुँजीकरण बजारमा आएको गिरावटका कारणले सोमबारसम्म आउँदा १६ खर्ब ४९ अर्बमा घटिसकेको छ । यसबाट तीन महिनाको अवधिमा लगानीकर्ताले ३ खर्ब बढी गुमाईसेको प्रष्ट हुन्छ । यो सामान्य कुरा होईन । नेपालको जस्तो सानो क्षेत्र रहेको पुजि बजारमा तिन महिनामै ३ खर्ब माथीको लस लाई गम्भिर ढंगबाट हेरिएको छ ।

यसकारण यो अवस्था 'करेक्सन' हैन
सामान्यतया बजारमा २० प्रतिशत सम्मको गिरावटलाई करेक्सनको रुपमा लिने गरिएपनि अहिले त्यो लिमिट पनि क्रस भईसकेको अबस्था हो । त्यसकारण बजारमा देखिएको अहिलेको गिरावटलाई करेक्सन भन्न नमिल्ने स्थिती छ । उच्चतम विन्दुबाट करिब २२ प्रतिशतले ओरालो लागेको बजारमा वियरीष्ट ट्रेण्ड सुरु भएको अनुमान गरिएको छ ।

सेयर बजारमा पछिल्लो उच्चतम विन्दुबाट २५ प्रतिशत माथिको गिरावटलाई क्रयासको (दुर्घटना) रुपमा लिईन्छ । प्राविधिक रुपमा त्यस्तो मानिए पनि बजार सन्तुलित रुपमा अगाडि बढेमा सो लिमिट पार गरे पनि दुर्घटना तर्फ नै चाहिँ नजाला भन्न सकिन्छ । नेपाली सेयर बजार ईतिहासमा दुर्घटनाको अबस्था  वि.सं २०६५ सालमा आएको थियो । त्यतिबेला ११७५ को उच्चतम विन्दु पुगेको नेप्से एकाएक ३०० को हाराहारीमा ओर्लिएको थियो । 

लगानीकर्तालाई मनोवैज्ञानिक परामर्शको आवश्यकता
विभिन्न हल्लाका कारण आतंकित भएका लगानीकर्ताले ठुलो घाटा सहेर भएपनि सेयर बेच्न खोज्दा पुँजी बजारको पहिरो झनै ठुलो हुँदै गईरहेको छ । धितोपत्र बोर्ड, राष्ट्र बैंक तथा अन्य सरोकारवाला निकायले बजार घट्नुपर्ने त्यस्तो कुनै कारण नरहेकाले लगानीकर्तालाई संयम हुन आग्रह गरिरहे पनि बजार सन्तुलनमा आउन सकिरहेको छैन । बजारको प्राकृतिक घटाईभन्दा फरक गतिमा रहेको वियरिष्ट ट्रेण्डले आगामी दिनमा दैनिक यस्तै गति लियो भने आम लगानीकर्ताको स्थिती चिन्ताजनक हुने खतरा देखिएको छ । किनकि बजार अनियन्त्रित रुपमा घट्दै जाँदा लगानीकर्ताले बजारमा ५० प्रतिशतभन्दा पनि बढी घाटा खाएर बेच्न तयार भए भने बजारमा दुर्घटना निम्तिने खतरा बढेर जान्छ । किनकी बजार कहिलेकाहीँ रोक्नै नसक्ने स्थितीमा पुग्न सक्छ । त्यसैले समयमै लगानीकर्तालाई मनोबैज्ञानिक काउन्सिलिङको आवश्यकता देखिएको छ । बजारको वियरिष्ट टे«ण्डसंग लगानीकर्ता खेल्न सक्छन् । तर उनीहरु वियरिष्ट ट्रयाप मा परे भने समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने खतरा देखिएको छ । अहिले पनि धेरै लगानीकर्ताहरु उठ्नै नसक्ने गरि थलिएका छन् ।

दुर्घटनाको खतरा
यो अबस्थालाई तत्काल सन्तुलनमा राखी आम लगानीकर्ताको पुँजी सुरक्षीत गर्नु सरोकारवालाको कर्तव्य र जिम्मेवारी हो । यसमा नियमनकारी निकायको समयमै चासो जाओस् । तत्काल बजार दुर्घटनमै जाने स्थिती नरहेपनि बजारमा यसरी नै हल्ला र भ्रमले आतंक सिर्जना गर्न सक्ने वातावरण भईरहने हो भने बजार त्यसतर्फ नजाला भन्न पनि सकिन्नँ । त्यसैले लगानिकर्ता संयम र बिबेकी भई लगानी गर्नु आबश्यक छ । अर्को महत्वपुर्ण कुरा के हो भने बजारमा आउने दुर्घटनाको स्थिती रोक्ने मुख्य जिम्मेवारी पनि आम लगानीकर्ताको नै हो । कुनै बस भीरतर्फ लाग्यो भने चालकले अताल्लिएर स्टेरीङ छोड्नुको सट्टा स्टेरीङलाई सुरक्षित दिशामा मोड्नु बुद्धिमानी हुन्छ । त्यसरी नै अहिले बजारमा आएको गिरावट नियन्त्रण गरी आफ्नो लगानीको सुरक्षा गर्ने मुख्य जिम्मेवारी स्वयम् लगानीकर्ताको नै हो । किनकि बजारका चालक स्वयम् लगानीकर्ता नै हुन् । लगानीकर्ताका आत्तिने र मात्तिने दुबै प्रवृत्ति बजारका लागि अतिवादी र खतरापूर्ण हुन्छन् । अतः तथ्यगत रुपमा चल्नु जरुरी छ ।

सेयर किन्ने राम्रो अबसर यहि हो 
अहीले बजार घटेको समयमा सेयर किन्नु उपयुक्त हुन्छ । बजार घटेको समयमा सेयर किनेर फाइदा उठाउनुको साटो बजारबाटै भाग्न खोज्नु समग्र बजारकै लागि घाटा हो । त्यसैले लगानीकर्ताहरुले नोक्सानमा गएका कम्पनीहरुलाई यो स्थितीमा बेच्नुको साटो होल्ड गर्नु उपयुक्त हुन्छ । यस्तो अबस्थामा घाटामै सेयर बेच्दा बजार झनै तल झर्ने खतरा हुन्छ । अतः घाटा भएका सेयर होल्ड गर्दे यो घटेको बजारको मौका उठाउँदै राम्रा कम्पनीमा किन्दा समग्र बजार नै सन्तुलनमा आउँछ र लगानीकर्तालाई पनि लाभ हुनेछ । अहिलेको लगानी ट्रीक नै यही हो । घाटामै सेयर बेच्न खोज्दा पछुताउनु पर्ने छ । किनकि बजार सधै घटिरहने पनि होईन । 

मार्केट मेकरको आवश्यकता
अहिलेको बजार लाई सन्तुलनमा ल्याएर दरिलो बनाउनको लागि अब साना लगानीकर्ताले मात्र सम्भव नहुने देखिएको छ । किनकि बजारमा सेयरको आपूर्ति यति धेरै भएको छ कि त्यसलाई साना र व्यक्तिगत लगानीकर्ताले मात्र धान्न सम्भव नै छैन । यसको लागि संस्थागत तथा ठुला लगानीकर्ता बजारमा प्रबेश गर्नुपर्ने देखिएको छ । त्यसका साथै बजारमा दीर्घकालीन लगानी आवश्यक भएको छ । बजार परिपक्व बनाउनको लागि मार्केट मेकरको आवश्यकता देखिएको छ । बजारको अहिलेको डेन्जर जोनबाट पार लगाउनको लागि अब पुतलीसडक को बजारले मात्र सम्भव नै छैन । बजारको आपूर्ति अत्याधिक भएकाले मागको लागि अब देशभर जानुपर्ने देखिएको छ । जसको लागितत्कालीन रुपमा बैंक तथा वित्तीय संस्थालाई ब्रोकर लाईसेन्स दिँदै दीर्घकालीन रुपमा अनलाईन ट्रेडीङ सिस्टममा जानुपर्ने देखिन्छ । 

बजारको आकार र आकर्षण अनुसार नीतिगत तथा प्राविधिक रुपमा हामी निकै पछाडि छौँ । यसका लागि सम्बन्धित निकायले गम्भीर चासो दिनुपर्ने देखिएको छ । सेयर बजार अर्थतन्त्रको अभिन्न अंग भएकोले यो दुर्घटनमा पर्यो भने समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव पर्ने कुरामा अर्थमन्त्रालय सजग हुनुपर्ने देखिन्छ । सेयर साक्षारता बढाउनुपर्ने देखिन्छ । फण्डामेण्टल रुपमा हामी दरिलो नभए बजार सधै अस्थिर नै रहने कुरा बुझ्नु जरुरी छ ।