निर्धनले रुपन्देही जिल्लाको हरवैया गाउँ विकास समितिमा आफ्ना कार्यक्रम प्रारम्भ गर्दा खड्क बहादुर चौधरी दश वर्षका थिए । उनकी आमा मिथिला चौधरी निर्धनको सदस्य हुँदा विद्यालय पढ्दै गरेका खड्ग बहादुरलाई राम्रो सम्झना छ । उनीहरुको खपडाले छाएको झुप्रो घर थियो । आफ्ना परिवारका नाममा दश कठ्ठा जमीनमा गरेको खेतीपातिबाट उनका तीन जना भाई, बहिनी र उनी सहित ६ जनाको भरण पोषण राम्ररी हुँदैनथ्यो । परिवारको जेठो छोरो भएको कारण बावु आमाले गरेको दुःखलाई बुझ्ने हैसियतमा पुगेका उनी विद्यालयमा पढ्थे र छुट्टिको समयमा आमा बावुसँगै मेला–मजदूरी गर्न समेत जान्थे । ‘मैले स्कुल पढ्दा सम्म कहिल्यै पनि जुत्ता चप्पल लगाएको सम्झना छैन ।’ खड्ग बहादुरले आफ्नो बाल्यकालको सम्झना गर्दै भने, ‘बाल्यकालको धेरै समय मैले आधा रोटी खाएर बिताएँ ।’ उनकी आमा मिथिला चौधरीले पहिलो पटक निर्धनबाट पाँच हजार रुपैयाँ ऋण लिइन् र त्यसबाट सानो पसल खोलिन् । उनका पिता जो आफ्नो सानो टुक्रा जमीनमा खेतीपाति गर्थे । बेला–बेला ज्यालादारी काम गर्थे अब भने पसलमा चाहिने सामानहरु किनेर ल्याइदिने काममा सघाउन थाले । यसरी सघाउ पगाउको काम खड्ग आफु पनि गर्थे । उनले १८ वर्षको उमेरमा प्रवेशिका परिक्षा पनि उत्तीर्ण गरे । यता आमा मिथिलाले निर्धनसँग लिएको ऋण चुक्ता गर्दै गइन् र परिवारका अन्य सदस्यहरु समेतको सहयोगमा व्यवसाय बढाउँदै लगिन् । पहिलो वर्ष ५ हजार रुपैयाँ ऋण चुक्ता गरे पछि प्रत्येक वर्ष ऋण रकम बढ्दै गयो र पसलसँगै भैँसी थपियो । खापडाको झुप्रो घरको ठाउँमा पक्का घर बन्यो । २०६२ साल सम्ममा निर्धनबाट पटक–पटक गरी ९० हजार रुपैयाँ ऋण लिइ सकेको उनको परिवार गाउँको विपन्न मजदुर परिवारको साटो निम्न मध्यम वर्गिय व्यवसायीका रुपमा देखा परेको छ । खड्ग चौधरीका उनी बाहेकका भाई बहिनीले उनले जस्तो दःखको अनुभव गर्नु परेन । भाई र बहिनी र्बाेडिङ स्कुल पढ्छन् । खड्ग चौधरीले आफ्नो वर्तमान पारिवारिक हैसियतलाई सांकेतिक भाषामा अभिव्यक्त गर्दै भने, ‘धेरै ठुलो परिवर्तन आएको छ ।’
खड्ग आफैले भने आइ.ए.सम्मको अध्ययन गरे र रेडियो, टेलिभिजन बनाउने भैरहवाकै चन्द्रमा साउण्ड एण्ड भिजनमा काम गर्न थाले । उनले काम सुरु गर्दाप्रति महिना निकै कम पारिश्रमिक लिने भए पनि उनको अहिले मासिक तलब पाँचहजार भन्दा बढी पुगेको छ । तालिम लिएपछि मेरो काम पनि बढ्यो र तलब पनि । खड्ग बहादुर चौधरीले यसै वर्षको आरम्भमा निर्धन टेक्नीकल इन्स्टीच्युटबाट तीन महिनाको प्राविधिक तालिम लिए । यस्तो तालिम तिनै व्यक्तिलाई दिने गरिन्छ जो निर्धन संस्था वा बैंकबाट कर्जा लिएका ऋणीका सन्तानहरु हुन् । निर्धन संस्थाले स्थापना गरेको टेक्निकल इन्स्टिच्युटबाट रंगीन टेलिभिजन, रेडियो, अडियो, डेक, स्टेव्लाइजरजस्ता उपकरण मर्मत गर्ने तालिम लिएका खड्ग चौधरीले हाउस वाइरिङको तालिम समेत लिएका छन् । प्रारम्भमा आडीएमडीले प्रशिक्षर्थीहरुको शुल्क तिरिदिने काम गरेको छ । उनी भैरहवाको चन्द्रमा साउण्ड एण्ड भिजन मा मासिक ज्यालादारीमा काम गर्नुका साथै हिजो आज तीन जना साथीहरुको समूह बनाएर हाउस वाइरिङको काम समेत गर्छन् । एउटा घरमा वाइरिङ गरिदिँदा सरदर पाँच हजार रुपैयाँ कमाई हुन्छ र यसका लागि सात देखि दश दिन सम्म लाग्ने उनीहरुको अनुभव छ । गत वर्ष मात्र विवाह गरेका खड्ग बहादुर चौधरीले आफ्नी पत्नीलाई समेत रेडियो, टेलिभिजन मर्मतको सीप सिकाउन थालेका छन् । खड्ग चौधरीलाई गाउँमा आफ्नै पसल खोल्ने इच्छा छ । यसका लागि अनुमानित २ लाख रुपैयाँ लगानी गर्ने उनको योजना छ । त्यत्रो रकम कहाँबाट ल्याउनुहुन्छ ? यस प्रश्नको जवाफमा खड्ग चौधरीले भने, ‘धितो राख्यो भने निर्धनले ऋण दिन्छ ।’ दश वर्ष अघि पाँच हजार कर्जा लिएर आफुले विपन्नताका विरुद्ध संघर्ष थालेकी मिथिला चौधरीका छोरा खड्ग बहादुर चौधरी निर्धनका दोश्रो पुस्ताका प्रतिनिधि हुन् । उनले भनेझैं पसल राख्न पाएमा मासिक सरदर .१५००० रुपैयाँ कमाउन सकिन्छ भन्ने उनको विश्वास छ ।