आधा दर्जन बैंकले डाके साधारणसभा : कसले लग्दैछ के प्रस्ताव ?
यतिबेला बैंक तथा वित्तीय संस्थाहरुमा वार्षिक साधारणसभा गर्ने सिजन चलिरहेको छ । गत शुक्रबार (पुस ८ गते) मात्रै प्रभु बैंक, ओम डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न भयो । कम्पनी वा संस्थाले आफ्ना सेयरधनी सदस्यलाई कम्पनीको विगतको समिक्षा, वर्तमान मौजुदा स्थिती, भावी रणनीतिका बारेमा जानकारी गराउन, सुझाव सङ्कलन गर्न, कतिपय विषयमा सही मार्ग निर्देशन लिन सामान्यतयाः वर्षमा एकपटक कम्पनीको साधारणसभा गर्नुपर्ने प्रावधान राखिएको हुन्छ । विशेष प्रस्ताव र विशेष अवस्थामा जुनसुकै साधारण सभा बस्न सक्दछ । साधारणसभा सामान्यतयाः सञ्चालक समितिले कम्तीमा २१ दिनको समय राखेर सार्वजनिक सूचनामार्फत आह्वान गर्ने र आफ्नो निश्चित प्रस्तावमा छलफल गरी सेयरधनी सदस्यबाट पारित गराई कार्यान्वयनमा लैजाने प्रावधान रहेको छ । यसैबीच, हालसम्म जारी सूचनाका आधारमा पुस महिनाभित्रमा साधारणसभा गर्न लागेका बैंक र उनीहरुका विशेष प्रस्तावको विषयमा यहाँ चर्चा गरिन्छ :
एभरेष्ट बैंक एभरेष्ट बैंकले लिमिटेडले आगामी पुस २३ गते २२ औँ वार्षिक साधारणसभा बस्ने भएको छ । साधारणसभा प्रयोजनका लागि बैंकले पुस ६ गतेदेखि २२ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने जनाएको छ । उक्त साधारणसभाबाट बैंकले ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्दैछ । साथमा बोनस सेयर जारी गरेपछि कायम हुने पुँजीमा तीन बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय पनि साधारणसभाले पारित गर्नेछ । हाल एभरेष्ट बैंकको चुक्तापुँजी दुई अर्ब ६६ करोड २६ लाख रुपैयाँ रहेको छ । ७० प्रतिशत वोनस सेयर जारी गरेपछि बैंकको पुँजी ४ अर्ब ५२ करोड ६४ लाख रुपैयाँ पुग्ने छ । उक्त पुँजीबाट तीन बराबर एकको अनुपातमा हकप्रद जारी गरेपछि बैंकको पुँजी छ अर्ब तीन करोड ५२ लाख रुपैयाँ पुग्नेछ । बाँकी पुँजी बैंकले चालू आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिएर पुर्याउने जनाएको छ ।
एनएमबि बैंक
एनएमबि बैंक लिमिटेडले २१ औँ वार्षिक साधारणसभा आगामी पुस २४ गते बस्ने भएको छ । साधारणसभामा बैंकले एफपिओ र बोनस सेयर जारी गर्ने प्रस्ताव लैजाँदैछ । सो साधारणसभाले एफपीओ वापत जारी हुने सेयर संख्या, अंकित मूल्यमा प्रिमियम थप गरी कायम हुने सेयर मूल्य निर्धारण गर्ने बताइएको छ । बैंकले सेयर संख्या उल्लेख गरेको छैन । साथमा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको १९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्दैछ । साधारणसभा प्रयोजनका लागि बैंकले पुस ७ गतेदेखि २४ गतेसम्म सेयरधनी पुस्तिका बन्द रहने जनाएको छ । हाल एनएमबि बैंकको चुक्ता पुँजी पाँच अर्ब ४३ करोड रुपैयाँ छ । उक्त पुँजीको १९ प्रतिशत बोनस सेयर जारी गर्दा बैंकको पुँजी छ अर्ब ४६ करोड रुपैयाँ पुग्नेछ । बाँकी पुँजी पुर्याउन बैंकले एफपिओ जारी गर्न लागेको हो ।
कैलाश विकास बैंक २५ प्रतिशत बोनस सेयर र २० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको कैलाश विकास बैंकको सेयरधनी पुस्तिका पुस १४ गतेदेखि बन्द हुने भएको छ । जसअनुसार, पुस १३ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त बोनस सेयर र हकप्रद सेयर पाउनेछन् । हकप्रद सेयर र बोनस सेयर पारित गर्न कैलाशले पुस २९ गते २३ औँ वार्षिक साधारणसभा बस्दैछ । हकप्रद निष्काशनका लागि बैंकले धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । साधारणसभाले पारित गरेपछि बैंकले हकप्रद निष्काशनको मिति तय गर्नेछ । हाल बैंकको चुक्तापुँजी एक अर्ब ५८ करोेड रुपैयाँ रहेको छ । बोनस वितरणपश्चात बैंकको पुँजी एक अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ । साथमा, ३१ करोड ६० लाख रुपैयाँ बराबरको ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयर जारी गर्दा बैंकको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँँ नाघ्नेछ ।
देवः विकास बैंक देवः विकास बैंकले आफ्नो १० औँ वार्षिक साधारणसभा पुस २९ गते गर्ने भएको छ । साधारणसभा प्रयोजनका लागि बैंकले १८ गतेदेखि २९ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने जानकारी दिएको छ । देवः विकास बैंकले ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । बैंकले ४४ लाख पाँच हजार चार सय ४० दशमलव ३९ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनका लागि बैंकले पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । २९ गते हुने साधारणसभाले उक्त हकप्रद सेयर पारित गर्नेछ । जसपश्चात्, हकप्रद सेयर निष्काशन गरिनेछ । बैंकले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । हाल देवः विकास बैंकको चुक्ता पुँजी ८१ करोड ८० लाख रहेको छ । ५० प्रतिशत हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी एक अर्ब २२ करोड रुपैयाँ पुग्नेछ ।
सप्तकोसी डेभलपमेन्ट बैंक सप्तकोसी डेभलपमेन्ट बैंकले हकप्रद सेयर पारित गर्न पुस २८ गते साधारणसभा बस्ने भएको छ । बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद निष्काशन गर्दैछ । बैंकले एक सय रुपैयाँ अंकित दरमा १० करोड रुपैयाँ बराबरका १० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हकप्रद र साधारणसभा प्रयोजनका लागि बैंकले पुस ८ गतेदेखि २८ गतेसम्म सेयरधनी पुस्तिका बन्द रहने जानकारी गराएको छ । हाल सप्तकोसीको चुक्तापुँजी १० करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी २० करोड रुपैयाँ पुग्नेछ ।
मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युसन लिमिटेड मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युसन लिमिटेडले १७५ प्रतिशत अर्थात एक बराबर एक दशमलव ७५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । यसका लागि फाइनान्सले धितोपत्र बोर्डको अनुमति पाइसकेको छ । कम्पनीले ४३ लाख ८६ हजार तीन सय ७५ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । उक्त हकप्रद सेयर पारित गर्न फाइनान्सले आफ्नो ९औँ वार्षिक साधारणसभा पुस २९ गते बस्ने भएको छ । हकप्रद तथा साधारणसभा प्रयोजनका लागि मञ्जुश्रीले पुस ९ गतेदेखि २९ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । फाइनान्सको गत शुक्रबार (पुस १ गते) बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । सेयर निष्काशन तथा विक्री प्रबन्धकमा कम्पनीले एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हाल फाइनान्सको चुक्तापुँजी २५ करोड रुपैंया रहेको छ । यसबाहेक फाइनान्सले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई १४ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव पनि अघि सारेको छ । हकप्रद निष्काशन तथा प्रस्तावित बोनस बितरण पश्चात फाइनान्सको चुक्ता पुँजी ६८ करोड ९२ लाख रुपैयाँ नाघ्नेछ ।