Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा समिति नेतृत्वबिहीन,  अध्यक्ष चुन्न अर्थमन्त्रीलाई सकस  

admin २०७३ पुष १० गते
सेयर:

गत साताबाट बीमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर केसीको कार्यकाल सकिएको छ । उनले सम्हाल्दै आएको सो पद अहिले रिक्त छ । तर अर्थमन्त्री कृष्णबहादुर महरालाई बीमा समितिको अध्यक्ष चयन गर्न सकस परेको छ । केसीको कार्यकाल सकिनुअघि नै आवेदन आह्वान गरी मन्त्रिपरिषदमा नाम लैजानुपर्ने भएपनि अर्थमन्त्रीलाई अध्यक्ष चुन्ने विषयमा परिरहेको दबाबका कारण ढिलाई भएको श्रोतको दाबी छ । गत विहिबार बसेको मन्त्रिपरिषद अगाडी नै उनले समितिमा नयाँ व्यक्ति नियुक्त गर्ने विषयमा प्रस्ताव लैजाने तयारी गरेका थिए । ‘समितिमा नयाँ व्यक्ति नियुक्त गर्ने तयारी त हो’, अर्थमन्त्रीका स्वकीय सचिव हिमाल शर्माले भने, ‘तर त्यो दिन लैजानुभएन, सायद केही तयारी आवश्यक ठान्नुभएको होला ।’ यसबाहेक बीमा समितिमा कस्तो व्यक्ति ल्याइँदैछ भन्ने कुरा आफुलाई केही थाहा नभएको उनले बताए । यद्यपी हालका अध्यक्ष प्रा.डा. फत्तबहादुर केसी नै रहिरहने चर्चाका माझ उनले त्यो कुरा हल्लामात्र भएको पुष्टि भने गरे ।


करिव ३० जनाको लभिङ 
बीमा समितिको अध्यक्ष पदका लागि पछिल्लो समय अढाई दर्जन जति व्यक्तिले लविङ गरिरहेको अर्थ मन्त्रालय श्रोतले जनाएको छ । ‘झण्डै ३० जना जति फ्रन्टलाईनमा देखिनुभएको छ’, अर्थमन्त्रालयका एक अधिकारीले भने, ‘तीमध्ये संचालित बीमा कम्पनीसँग जोडिएका व्यक्तिहरु धेरै छन् ।’ ती अधिकारीले पनि अर्थमन्त्रीको तयारीबारे आफुलाई केही थाहा नभएको बताए । श्रोतका अनुसार अर्थमन्त्री महरालाई समितिको अध्यक्ष चुन्ने विषयमा तिब्र दबाब आइरहेको छ । खासगरी अहिले संचालित बीमा कम्पनीसँग जोडिएका र संचालित बीमा कम्पनीमा कार्यरत व्यक्तिलाई समितिमा नल्याउने अर्थमन्त्रीको तयारी भएपनि पार्टी तहबाट त्यस्तै व्यक्तिलाई ल्याउन दबाब परिरहेको श्रोतको दाबी छ । माओवादी पृष्ठभूमि भएका व्यक्ति बीमा समितिमा आउने पक्कापक्की भएपनि अर्थमन्त्रीले बीमा क्षेत्रका विज्ञलाई ल्याउने वा बीमा कम्पनीसँग जोडिएका व्यक्तिलाई ल्याउने भन्नेबारे निर्णय लिन सकेका छैनन् ।

बिमक संघको पनि दवाव 

बीमा समितिको अध्यक्ष पदका लागि बीमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघले अध्यक्ष विजयबहादुर शाहलाई अघि सारेको बुझिएको छ । व्यक्तिगत रुपमा केहि बीमा कम्पनीका माओवादी पृष्ठभूमि भएका सीईओले पनि लविङ गरिरहेको श्रोतको दाबी छ । त्यसैगरी अध्यक्ष बन्ने होडमा पोखरा विश्वविद्यालयका निर्देशक तथा बीमा विज्ञ प्रा. डा. रविन्द्र घिमिरे पनि लाइनमा छन् । उनी पनि माओवादी पृष्ठभूमिका मानिन्छन् । उनलाई समितिमा ल्याउने विषयमा पनि तल्लो तहका माओवादी नेताहरुले अर्थमन्त्रीलाई दबाब दिइरहेको बुझिएको छ । यसअघि अर्थ मन्त्रीका एक विश्वासपात्रले बैंकिङ खबरसँगको कुराकानीमा अर्थमन्त्रीको रोजाईमध्ये डा. घिमिरेको नाम पनि लिएका थिए । त्यसैगरी बीमा समितिको पोखरा विश्वविद्यालयकै प्राध्यापक दिपक भण्डारी, पुनर्बीमा कम्पनीका सीइओ चिरायु भण्डारी, बैंकर लक्ष्मण घिमिरे, हरि घिमिरे पनि बीमा समितिको अध्यक्षका लागि लबिङ गरिरहेका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।