Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कतारबाट नेपाली फर्किए भने रेमिट्यान्समा कस्तो असर पर्छ ? कतारमा कति छन् नेपाली ?

२०८२ असार १० गते

बैंकिङ खबर/ इरानले अमेरिकाको कतारस्थित सैन्यवेशमा मिसायल आक्रमण गरेसँगै त्रास उत्पन्न भएको छ । सोमबार साँझ दोहामाथिको आकाशमा ठूला विस्फोटका आवाज सुनिएको थियो भने त्यहाँको हवाई प्रतिरक्षा प्रणाली इरानी क्षेप्यास्त्र रोक्न सक्रिय हुँदा आकास बेलाबेला चम्किएका भिडिओहरु सार्वजनिक भएका थिए । इरान, इजरायल र अमेरिका सम्मिलित भएको युद्धको यो पछिल्लो चरणले मध्येपूर्वमा अभूतपूर्व स्तरमा तनाव बढेको पाइएको छ ।

त्यसको प्रत्यक्ष असर कतार लगायत मध्यपूर्वमा रोजगारीका लागि गएका लाखौं नेपाली कामदारमाथि देखिन थालेको छ । इरान र इजरायलबीच चलेको हालसम्मकै ठूलो सैन्य झडपमा अमेरिकासमेत खुलेर सहभागी भएसँगै यो क्षेत्र पुनः भीषण द्वन्द्वको केन्द्र बन्न थालेको छ ।

अमेरिका समेत खुला रुपमा युद्धमा होमिएपछि इरान–इजरायल द्वन्द्वले विश्व अर्थतन्त्रमै ठुलो प्रभाव पार्ने देखिएको छ । इरान रसिया र चीनको प्रत्यक्ष समर्थनमा रहेको अवस्थामा यो द्वन्द्व अझ खतरनाक बन्दै गएको आँकलन गरिएको छ । यसले गर्दा मध्यपूर्वका दर्जनौं देशमा कार्यरत लाखौं नेपाली आप्रवासी कामदार थप जोखिममा परेका छन्।

ओमान, कतार, साउदी अरब, युएई, बहराइन र कुवेत लगायतका मुलुकमा रोजगारीमा रहेका नेपालीहरू हाल अत्यन्त तनावग्रस्त अवस्थामा पुगेका छन्।

उनीहरु बसोबास गरिरहेका ठाउँ युद्धको प्रत्यक्ष प्रभाव क्षेत्र हुन सक्ने आँकलन गरिएको छ। इरानले सोमबार राति अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेपछि काठमाडौंबाट कतार जाने उडान रोकिएका छन् ।

सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको कतार एयरवेजको विमान समेत ओमानको मस्कटमा अवतरण गरेको छ । राति ११ बजे उडान तालिका रहेको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ । कतार जाने यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् ।

यता कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क रहन भनेको छ। सोमबार इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा हवाई हमला गरेपछि नोली दूतावासले आफ्ना नागरिकलाई सतर्क रहन सूचना जारी गरेको हो ।

‘वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौँ’, सूचनामा भनिएको छ, ‘कृपया शान्तपूर्वक रहन र कतार सरकारको आधिकारिक सूचना, र निर्देशन पालना गर्न अनुरोध गर्दछौँ।’

कतार र नेपालबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूताबास स्थापना गरेको थियो भने कतारले काठमाडौंमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो ।

दुई देशबीच सन् २००५ मा आर्थिक, व्यापारिक तथा प्राविधिक सहकार्यसम्बन्धी सम्झौता पनि भएको थियो । सन् २००७ मा नेपालले कतारसँग दोहोरो करमुक्ति सम्झौता गरेपछि त्यहाँका लगानीकर्ताले नेपालका कृषि, पूर्वाधार, ऊर्जालगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

नेपाली युवाहरुको आकर्षक गन्तव्य बनेको कतारमा वार्षिक १ लाख बढीको संख्यामा रोजगारीका लागि पुग्छन् । कतारमा हाल झण्डै ४ लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत रहेका छन् । कतारमा कार्यरत कामदारहरुले वार्षिक अर्बौ रुपैयाँ रेमिट्यान्स नेपालले भित्र्याउँदै आएका छन् । साथै कतारबाट पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ मा गरेको नेपाल लेबर माइग्रेसन रिपोर्टअनुसार नेपालले कतारबाट वार्षिक खर्बौं रुपैयाँ रेमिट्यान्स भित्र्याएको पाइन्छ । उक्त रिपोर्टमा नेपालले सबैभन्दा बढी कतारबाट रेमिट्यान्स भित्र्याउने गरेको उल्लेख छ ।

यसरी रेमिट्यान्सबाट नेपालमा अर्थतन्त्रमा योगदान गरिरहेको कतार लगायत मध्येपूर्वका देशबाट नेपाली फर्किए यसले रेमिट्यान्समा ठूलो असर पु¥याउने छ ।