संसारमा धनी झनुझन् धनी बन्दै गइरहेका छन् भने गरीब झनुझन् गरी बन्दै गइरहेका छन् । गरीबी यतिसम्म छ कि, मानिसहरु पैसाको अभावकै कारण मृत्यु पर्खेर बसिरहेका छन् । छिमेकी मुलुक भारतमा हालै एक घटना घट्यो । पैसाको अभावका कारण एक महिलाले आफ्नो पति मात्रै गुमाईनन्, पतिको अन्तिम संस्कार गर्न सकिनन् । भारतको ओडिशा घर भएकी ती महिलाले पैसाको अभावमा आफ्नो पतिको शव रेलमा नै छोडेर गइन् ।
उनको नाम सरोजिनी हो, जो आफ्नो बिरामी पति जुगललाई लिएर आन्ध्र प्रदेशबाट ओडिसाको रायपुर फर्कँदै थिइन् । बीच बाटोमा नै पतिको स्वास्थ्य बिग्रिन थाल्यो र उनको मृत्यु भयो । त्यो पललाई याद गर्दै सरोजिनी भन्छिन्, ‘बिलकुल अन्जान ठाउँमा म एक्ली र अनपढ महिला । त्यसमाथि पनि तीन जना साना बच्चा । खानको लागि त पैसा थिएन । कहँ जान्थेँ ? के गर्थेँ ? कोसँग मद्दत माग्थेँ । मुटुमाथि ढुंगा राखेर पतिको शव रेलमा नै छोडेर बच्चासँग रायपुर जाने गाडीमा बस्न बाध्य भएँ म ।’
फोनमा सरोजिनीले कोही आफन्तलाई खबर गरिन् । जुगलका दाई नील र एक आफन्तले रायपूर गई बच्चालाई गाउँ लिएर गए । एक जना आफन्तलाई जुगलको शव फिर्ता ल्याउन महाराष्ट्रको नागपूर पठाएको र धेरै खोज्दा पनि कुनै सूचना नपाएपछि खाली हात फर्केर आएको नीलले बताए । पछि, महाराष्ट्रमा रेलवे पुलिस सुपरटेन्डेन्ट शैलेष बलकावडेले आन्ध्र प्रदेशबाट आउने एउटा रेलमा एउटा शव भेटिएको र पोस्टमार्टममा उसको मृत्यु स्वभाविक रुपले भएको पाइएपछि शवलाई गाडिएको जानकारी गराए । पुलिस अधिकारीका अनुसार, यस्ता शवलाई यसकारण गाडिने गरिन्छ, ताकि यदि कसैले शवको खोजी गर्यो भने खनेर निकाल्न सकियोस् । शव नभेटिएपछि जुगलको अन्तिम संस्कार त हुन पाएन । तर, बुधबार हिन्दु धर्मअनुसार दश दिनको रीत पूरा गरियो ।
ओडिशाका हजारौँ मानिसहरु जस्तै, नुआपाडा जिल्लाको गन्डामेर गाउँमा बस्ने २९ वर्षीय जुगल नाग आफ्नी श्रीमती र तीन बच्चाको साथमा आन्द्र प्रदेशको पेडापल्लीको इँटाभट्टामा काम गर्न गएका थिए । तर, केही दिनपछि उनी बिरामी भए । भट्टीवालाले रेलको टिकटकाटेर उनलाई फर्काइदिए । उनीसँग थोरै पैसा थियो, जुन बाटोमा नै सकियो ।
हरेक वर्ष खेतमा कटाईको काम सकिएपछि नुआपाडा, कालाहाँडी र बोलांगीर जिल्लाका लाखौँ मजदुरहरु झन्डै छ महिनाका लागि आन्द्र प्रदेश तथा अन्य राज्यका इँटाभट्टामा काम गर्न जाने गर्दछन् र अप्रिल/मेमा फर्किन्छन् । अधिकांश मजदुरहरु आफ्नो परिवारसँगै जान्छन् । सरकारको अनेकौँ प्रयासको बाबजुद पनि ‘दादन’ नामक यस प्रथा पछिल्लो केही दशकदेखि चलिआएको छ । किनकि नोभेम्बरदेखि अप्रिल महिनासम्ममा यी मानिसहरुले यो क्षेत्रमा काम पाउँदैनन् । नरेगामा काम पाइएपनि यी मजदुरहरु दादन जान मन पराउँछन् । किनकि यसमा उनीहरु एकमुष्ट रुपमा ४० देखि ५० हजार रुपैयाँसम्म कमाई गर्छन् । जुगल नागले पनि बिचौलिया (स्थानीय भाषामा सरदार) मार्फत ४० हजार रुपैयाँ एडभान्समा पाएका थिए । ३० हजारको काम सकेपछि उनी बिरामी परेका थिए ।
यो त एक उदाहरण मात्रै हो । मालिकहरुले मजदुरको शोषण र उनीहरुमाथि अत्याचार गरेको खबर समयसमयमा समाचार बन्ने गरेको छ । गत अगस्ट महिनामा कालापहाडीका एक आदिबासी दाना माझी शववाहक गाडी नपाएर आफ्नी श्रीमतीको शव काँधमा बोकेर जिल्ला सदरमुकाम भवानीपटनाबाट ७० किलोमिटर टाढा आफ्नो गाउँ जान भनी निस्किए । श्रीमतीको शव बोकेर दानाले करीब १४ किलोमिटरको बाटो पार गरिसकेका थिए । यत्तिकैमा एक स्थानीय पत्रकारको नजर उनीमाथि पर्यो । पत्रकारले एउटा एम्बुलेन्सको व्यवस्था गरिदिए र दाना, उनकी १३ वर्षकी छोरी र उनकी श्रीमतीको शव गाउँ पुर्याइयो । यो घटना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रह्यो । बीबीसी हिन्दी