नवराज कुँवर– विदेशमा रहेका कामदारलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र जारी गर्ने गरेको छ । यो बचतपत्र किन्नेलाई दोहोरो फाइदा पनि छ । पहिलो, यसमा वाणिज्य बैंकको भन्दा बढी ब्याज पाइन्छ । दोश्रो, आफुले लगानी गरेको रकम सरकारले विकास निर्माण वा उत्पादन क्षेत्रमा लगानी गरिदिन्छ जसका कारण मुलुकको विकासमा आफ्नो योगदान पनि देखिन्छ ।
यति फाइदा हुँदा हुँदै पनि राष्ट्र बैंकले जारी गरेका वैदेशिक रोजगार बचतपत्र अपेक्षा गरेभन्दा ज्यादै कम मात्रै बिक्री हुने गरेको छ । ०६७ सालदेखि पहिलो पटक राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला गरेको हो । पहिलो वर्ष राष्ट्र बैंकले १ अर्ब रुपैयाँबराबरको बचतपत्र निष्कासन गरे पनि ४० लाख रुपैयाँ मात्र बिक्री भएको थियो । त्यसपछिका वर्षहरूमा कुनै वर्षको बिक्री राम्रै भए पनि धेरैजसो वर्षहरूको विक्री अभिलेख हेर्ने हो भने निराशाजनक छ ।
फाइदै फाइदा छ, तर बिक्री हुन्न
अहिले नेपालका वाणिज्य बैंकमा पैसा राख्दा औसतमा २ प्रतिशतको हाराहारीमा ब्याज पाइन्छ । तर, बचतपत्रमा सरकारले ९ प्रतिशत ब्याज दिन्छ । यसको अर्थ हुन्छ, सरकारले १ वर्षमा जति ब्याज दिन्छ, त्यति नै ब्याज पाउन बैंकमा साढे ४ वर्ष निक्षेप राख्नुपर्छ । तैपनि यसमा वैदेशिक रोजगारीमा जाने नेपालीको आकर्षण बढ्न सकेको छैन ।
किन विक्दैन बचतपत्र ?
नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने विभिन्न ५ उपकरणमध्ये हालसम्म तुलनात्मक रूपमा सबैभन्दा अप्रभावकारी भएको उपकरण वैदेशिक रोजगार बचतपत्र नै हो । यसो हुनुमा बचतपत्रबारे गैरआवासीय नेपालीको सचेतना र पहुँचको अभाव मुख्य समस्या भएको विज्ञहरु बताउँछन् । सबैभन्दा पहिले ऋणपत्रबारे थाहा नै नपाउने र थाहा पाए पनि धेरैले नबुझ्ने हुँदा उनीहरूको विश्वास प्राप्त हुन नसकेको उनीहरुको भनाई छ । ऋणपत्र बिक्री गर्ने एजेन्टसम्म कामदार र गैरआवासीय नेपालीले पहुँच नपाउनु अर्को समस्या देखिन्छ ।
त्यसैगरी वैदेशिक बचतपत्रको आकर्षण बढाउन घर–घरमा त्यससम्बन्धी जानकारी पु¥याउनुपर्ने आवश्यकता रहेको राष्ट्र बैंकले जनाएको छ । जनचेतनाको कमी तथा बचतपत्रप्रतिको ज्ञानको कमीका कारण चाहे जति बचतपत्र बिक्री हुन नसकेको होे । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने, ‘अपेक्षित रुपमा ऋणपत्र विक्री नभएको साँचो हो’, ‘तर बिक्री बढाउनका लागि हामी प्रयासरत छौँ ।’ यस्तो बचतपत्रलाई थप प्रभावकारी बनाउन मुलुुकका विभिन्न ठाउँमा प्रचार–प्रसार तथा अभिमुखीकरण कार्यक्रमहरू सुरु गरेको उनले जानकारी दिए । सरकारले आन्तरिक ऋण उठाउन वैदेशिक रोजगार बचतपत्रको बिक्री गर्दै आएको छ । हरेक आर्थिक वर्षको अन्त्यतिर सरकारले आन्तरिक ऋण उठाउने क्रममा सरकारलाई पैसा आवश्यक परेकाले वैदेशिक रोजगार बचतपत्रमार्फत केही हिस्सा ऋण उठाउँदै आएको छ ।
परियोजनामा आधारित बचतपत्र निष्कासन गर्ने अभ्यासमा कमी
कुल गार्हस्थ उत्पादनको तुलनामा रेमिट्यान्स आप्रवाह धेरै हुने थुपै्र मुलुकमा वैदेशिक रोजगार बचतपत्र लोकप्रिय भए पनि अधिकांश मुलुकले परियोजनामा आधारित बचतपत्र निष्कासन गर्ने गरेका छन् । तर, नेपालमा त्यस्तो अभ्यास छैन । आगामी दिन सरकारले खर्च गर्ने क्षमता बढाएमा राष्ट्रिय गौरवका विकास आयोजनामा यस्ता ऋणपत्रमार्फत स्रोत जुटाउन सकिने छ ।
ऋण उठाउने काम नै प्रभावित
विशेष गरी विदेशमा काम गर्न गएका नेपाली कामदारका लागि भनेर ल्याइएको बचतपत्र आवश्यक मात्रामा बिक्री वितरण हुन नसक्दा सरकारको ऋण उठाउने काम पनि प्रभावित भएको छ । यसैगरी, विदेशमा काम गर्न गएका नेपाली कामदारले कमाएको पैसाको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च हुने गरेकाले सो पैसा उत्पादन क्षेत्रमा लगानी होस् भन्ने अभिप्रायले राष्ट्र बैंकले बाह्रै महिना वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला गर्ने भने पनि सो कार्यले अझै गति लिन सकेको छैन । बचतपत्रको आकर्षण बढाउन विदेश जहाँ नेपालीहरू कार्यरत छन्, त्यस्ता ठाउँमा प्रचार–प्रसार तथा अभिमुखीकरण कार्यक्रम चलाउने भने पनि त्यो काम पनि अझै सुरु भएको छैन ।
चालू आर्थिक वर्ष वैदेशिक बचतपत्रमार्फत कति ऋण उठाउने हो सरकारले इस्यु क्यालेन्डर निष्कासन गरेको छैन । जसकारण बचतपत्रमार्फत कति ऋण उठाउने भन्ने एकिन हुन नसकेको पौडेलले बताए । बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा सरकारले सर्वसाधारणलाई रामै्र प्रतिफल दिएको छ । राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रको ब्याजदर ९ प्रतिशतसम्म दिएको छ । बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा यो ब्याज निकै राम्रो मानिन्छ । तर पनि यसप्रतिको आकर्षण भने निराशाजनक देखिएको छ ।